+
+

माओवादीले बनायो बृहत वाम एकताका लागि छलफल गर्ने पार्टीहरुको सूची

एकताका लागि बाबुराम र माधव नेपाल प्राथमिकतामा

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष २४ गते १६:३१

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत वाम एकता गर्ने भन्दै एकता गर्नका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार पारेको छ ।

बृहत वाम एकताको पहलका लागि भन्दै गठन गरिएको वार्ता टोलीको पहिलो बैठकले एकताका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार गरेको उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले बताए । ‘वार्ता गने पार्टीहरुको सूची तयार भयो,’ बैठकबारे महराले अनलाइनखबरसित भने, ‘विचार मिल्ने वाम शक्तिसँग एकताको पहल गर्छौं ।’

वार्ता टोलीका अन्य सदस्यहरुमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जर्नादन शर्मा र शक्ति बस्नेत छन् ।

एकताका लागि पहिलो प्राथमिकता बाबुराम भट्टराई र माधव नेपालको पार्टीलाई राखेको वार्ता वार्ता टोली सदस्य रहेका पोखरेलले बताए । ‘बाबुराम र एकीकृत समाजवादी पहिलेदेखि कुनै न कुनैसँग छलफल चलेका थिए,’ उनले भने, ‘उहाँहरुसँग उच्च तहमा छलफल भएका छन् । पहिलो प्राथमिकता तिनीहरुसँग छलफल गर्ने हुन्छ ।’

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनावपछि एकता गर्ने सहमतिसहित माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको थियो । भट्टराईले समाजवादी केन्द्र बनाउनुपर्ने बताउँदै आएका छन् । आइतबारदेखि सुरु भएको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले एकताबारे निर्णय लिने नेताहरुले बताएका छन् ।

चुनवाअघि नै माओवादी र एकीकृत समाजवादीबीच एकताको चर्चा चलेको थियो । माओवादीसँग एकताका लागि भन्दै एकीकृत समाजवादीले अध्यक्ष नेपालको नेतृत्वमा समिति नै बनाएको थियो । चुनाव सकिएपछि पनि उसले वाम एकताको कुरा उठाएको छ । त्यसका लागि महासचिव बेदुराम भुसालको नेतृत्वमा समिति बनाएको छ ।

नेपाल समाजवादी पार्टीसँग एकता हुने निश्चित जस्तै रहेको माओवादीका नेताहरु बताउँछन् । एकीकृत समाजवादी पार्टीसँग नै एकता सम्भव नभएको खण्डमा त्यहाँको एउटा समूहसँग भए पनि एकता हुने विश्वास माओवादीका नेताहरुको छ ।

त्यस्तै प्रभु साहसँग पनि वार्ताका लागि छलफल हुने माओवादी नेताहरुले बताएका छन् । साहले हालै आम जनता पार्टी खोलेका छन् । एमालेसँग जान नसक्ने भएकाले साह समेत माओवादीमै आउने नेताहरुको भनाइ छ ।
उपमहासचिव पोखरेलले संसद बाहिर रहेका शक्तिहरुसँग पनि एकताका लागि वार्ता टोलीले छलफल गर्ने बताए । माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द्र, धर्मेन्द्र बास्तोला, मोहन वैद्य लगायतका पार्टी संसद बाहिर छन् । उनीहरुसँग समेत एकताको पहल गरेर शक्ति हासिल गर्ने माओवादी नीति देखिन्छ ।

एमालेसँग के हुन्छ ?

बृहत वाम एकताको पहल गर्ने बताएको माओवादीले एमालेसँग के गर्ला भन्ने चासो छ । वार्ता टोलीका संयोजक महराले एमालेसँग समेत आफूहरुले छलफल गर्ने बताए ।

एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । नेकपा विभाजनपछि तिक्ततापूर्ण सम्बन्ध भएको एमालेसँग पछिल्लो सत्ता साझेदारीले त्यसमा सुधार ल्याएको विश्लेषण माओवादी नेताहरुको छ ।

तर, तत्कालै एमालेसँग एकता हुनेमा माओवादी नेताहरु विश्वस्त भने छैनन् । ‘जो जोेले समिति बनाएका छन्, उनीहरुसँग छलफल गर्छौं,’ पोखरेल भन्छन्, ‘एमालेसँग पनि छलफल हुन्छ तर हामीले मात्रै चाहेर भएन ।’

अरु पार्टीले जस्तो नेकपा एमालेले भने पार्टी एकताका लागि भनेर त्यस्तो कुनै औपचारिक समिति बनाएको छैन । यद्यपि पोखरेल पछिल्लो जनमतले फेरि एमाले र माओवादी एकै ठाउँमा आउनुपर्ने सन्देश भने दिएको बताउँछन् ।

‘अब फेरिको जनमतले त्यो एकता आवश्यक देखियो,’ उनको भनाइ छ, ‘एउटा दह्रो केन्द्र निर्माण नगरि हुँदैन भन्ने बनेको छ ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?