+
+

चलचित्र क्षेत्रमा चुनावी सरगर्मी, कलाकार संघको अध्यक्षमा ५ जनाको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १२:२३

काठमाडौं । माघ महिना लागेपछि मनोरञ्जन क्षेत्रमा चुनावी माहोल सुरु हुँदैछ । फागुन ११ गते प्राविधिक संघले नयाँ कार्यसमितिका लागि चुनाव गर्नेछ । चैत ४ गतेको लागि कलाकार संघले नयाँ नेतृत्व चुन्न महाधिवेशन गर्दैछ ।

फागुन १७ गते चलचित्र पत्रकार संघको चुनाव हुँदैछ । निर्माता संघ र चलचित्र संघमा यस वर्ष चुनाव नहुने भए पनि यी दुई संस्था अन्य कारणले चर्चामा छन् ।

चलचित्र निर्माता संघले फागुन २९ गते राष्ट्रिय भेला बोलाएको छ । चलचित्र संघले हालै राष्ट्रिय भेला सम्पन्न गर्‍यो भने यसै साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझायो । फिल्म नचलेर हलहरु सुनसान भएको बेला चलचित्र क्षेत्रको मनोविज्ञान भने आगामी चैतसम्म चुनावमय हुनेछ ।

चुनावको माहोल सुरु हुन लागेसँगै कलाकारदेखि प्राविधिक र पत्रकार पनि चुनावमा होमिन थालेका छन् । विशेषगरी सबैको ध्यान कलाकार संघको चुनावमा सबैको ध्यान सोझिएको छ ।

कलाकार संघको अध्यक्षका लागि सविन श्रेष्ठ, रेजिना उप्रेती, सुशान्तकुमार श्रेष्ठ र मोहन निरौलाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । चारैजनाले अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै माहोल आफ्नो पक्षमा ल्याउन कसरत थालिसकेका छन् । सविनलाई चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको समर्थन छ । वर्तमान अध्यक्ष रविन्द्र खड्काले पनि आगामी कार्यकालको लागि आफूले उम्मेदवारी दिने अनलाइनखबरलाई जानकारी दिएका छन् ।

अमेरिकामा फिल्म अवार्ड गर्ने घोषणाले चर्चामा आएको चलचित्र प्राविधिक संघले फागुन १९ मा चुनाव गर्दैछ, जसलाई संघका वर्तमान अध्यक्ष पुष्कर लामाको विश्वासको मतको परीक्षणको रुपमा हेरिएको छ । प्राविधिक संघको यो चुनावमा पनि वर्तमान अध्यक्ष लामा उम्मेदवार बन्ने पक्का छ । अन्यको नाम चर्चामा रहे पनि सार्वजनिक रुपमा कसैले घोषणा गरिसकेका छैनन् ।

चलचित्र पत्रकार संघको अध्यक्षमा नाम चलेका केही पत्रकारले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । यस्तै चलचित्र निर्देशक समाजले पनि फागुन २७ र २८ गते काठमाडौंमा अधिवेशन गर्दैछ ।

संघसंस्था धेरै भए पनि नेपाली फिल्मको विकासमा कसैले पनि अपेक्षित योगदान दिन नसकेको र राजनीतिकरण तीव्र भएको भन्दै विरोध पनि भइरहेको छ । चुनावको यो रस्साकस्सी आउँदा सातामा अझै सघन हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?