+
+

कांग्रेसले आफूलाई विश्वासको मत दिने प्रचण्डको संकेत, त्यस्तो सम्भावना कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:५०
सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री एवं रास्वपाका अध्‍यक्ष रवि लामिछाने । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२५ पुस, काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार पार्टी संसदीय दलमा आफूलाई कांग्रेसको समर्थन आउने सम्भावना रहेको बताएपछि नयाँ राजनीतिक सम्भावनाबारे विमर्श सुरु भएको छ ।

प्रचण्डले यसबारे पार्टी बैठकमा विस्तृत त बताएनन्, तर उनले त्यो सम्भावनातर्फ संकेत गरे । ‘कांग्रेससँग पनि मैले विश्वासको मत मागेको छु, त्यस पार्टीका नेताहरु मैले आफूप्रति सकारात्मक रहेको पाएँ, नतिजा एकदमै राम्रो आउन पनि सक्छ’ उनलाई उद्धृत गर्दै माओवादी केन्द्रका सांसदले बताए ।

हुन त यो बीचमा नेपाली कांग्रेसले अघिल्लो सत्ता गठबन्धनलाई पुनर्जीवित गर्ने प्रयास नगरेको होइन । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धनको आशा जीवित राख्ने कांग्रेसको संकेत छ ।

माओवादी केन्द्रसँग दूरी नबढाउने उद्देश्य सहित कांग्रेसले विश्वासको मत दिने सम्भावनालाई कांग्रेसका नेताहरु नकार्दैनन् । वर्तमान सरकारमा कुनै पनि समय समस्या उत्पन्न हुने आकलनले कांग्रेसले नयाँ रणनीति तय गरेको छ । सत्ता सहकार्यका लागि माओवादी केन्द्र नै प्रमुख सारथि हुने निष्कर्षमा कांग्रेसका नेताहरु पुगेका छन् ।

कांग्रेसले प्रचण्डलाई समर्थन गर्नुअघि केही पूर्व शर्तहरु भने चाहेको छ । कांग्रेसले हरसम्भव राष्ट्रपति आफ्नो दलबाट बनाउन खोजेको छ । त्यसका लागि प्रचण्डसँग विश्वास कांग्रेसले खोजेको छ । ‘राष्ट्रपति कांग्रेसबाट हुने अवस्था बने विश्वासको मत दिन्छौं’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन् ।

कांग्रेसलाई वास्तविक भय प्रचण्डसँग होइन, एमालेसँग छ । राष्ट्रपति र सभामुख दुवै पद एमालेको पोल्टामा जाँदा राज्यसंरचनामा एमाले हाबी हुन सक्ने कांग्रेसका नेताहरुको बुझाइ छ । २०७४ पछि एमालेले राष्ट्रपतिको पदलाई आफू अनुकूल प्रशस्तै उपयोग गर्न सकेको कांग्रेसको निष्कर्ष छ ।

‘राष्ट्रपतिको आडमा ओलीबाट २-२ पटक संसद विघटनको काम भयो । फेरि पनि एमालेबाट राष्ट्रपति हुँदा संविधानमाथि प्रहार नहुने के ग्यारेन्टी छ?’ संस्थापन पक्षका नेता भन्छन् ।

हालको आलोपालो सहमति अन्तर्गत अढाइ वर्षमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्छन् । त्यसपछि मुख्य संवैधानिक पदहरुमा एमालेकै हालीमुहाली हुन सक्छ । यो सम्भावित परिस्थितिसँग कांग्रेस झस्केको छ ।

कांग्रेसमा एक तहका नेताहरु माओवादीसँग विश्वास खोज्न लागिरहेका छन् । नेताहरुका अनुसार माओवादीसँग संवाद गर्नका लागि उपसभापति पूर्णबहादुर खड्कालाई सभापति देउवाले खटाएका छन् । अन्य दलसँग संवाद गरी पदको प्रलोभन देखाउनुको विकल्पमा माओवादीलाई टाढा नराख्न कांग्रेसले चाहेका स्पष्ट देखिन्छ ।

अरु दललाई प्रधानमन्त्रीको आश्वासन नदिएको उपसभापति खड्काले स्पष्ट पारेका छन् । ‘निर्वाचनपछि प्रचण्ड र केपी ओलीलाई प्रधानमन्त्री नमानेको कांग्रेसको नेतृत्वले कुनै पनि आबेगमा अरुलाई प्रधानमन्त्री प्रस्ताव गर्‍यो भन्ने भ्रमबाट सबैलाई मुक्त हुन हाम्रो विनम्र अनुरोध छ’, खड्का भन्छन् ।

राष्ट्रपति पदका लागि हुने निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सांसदले मत दिनुपर्ने हुन्छ । केन्द्रीय र प्रदेश सभा सदस्यको फरक फरक अंक कायम गरिएको हुन्छ । प्रतिनिधिसभामा संसदमा पहिलो दल कांग्रेस भएकाले स्वभाविक रुपमा उक्त दलको मतभार बढी हुन्छ । संघ र प्रदेशका सांसदको मताधिकार भएकाले माओवादीलाई साथ लिन सके राष्ट्रपति चुनिने अपेक्षा कांग्रेसको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ का अनुसार कार्यकाल सकिनु एक महिना अघि नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्दछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २९ माघमा सकिनेछ ।

विश्वासको मत दिने/नदिने पक्षमा कांग्रेसभित्र स्पष्ट दुई धार देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विश्वासको मत दिन नहुने पक्षमा छन् । संस्थापनइतरका नेताहरु विश्वासको मतको विपक्षमा छन् ।

प्रतिपक्ष विहीन संसद बनाउन नहुने तर्क दुई महामन्त्रीको छ । थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने उनले बताए ।

शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले भने, ‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ ।’ गत शनिबार बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिने/नदिने विषयलाई छलफलको एजेण्डा नै बनाइएको थिएन । मंगलबार बिहान पुनः संसदीय दलको बैठक बसेर निर्णय लिने कांग्रेसले स्पष्ट पारेको छ ।

कांग्रेसले पाएको क्षतिलाई पूर्ति गर्न विश्वास मत दिएर अघि बढ्नुपर्ने राय पार्टीभित्र बढिरहेको छ । गठबन्धनलाई धोका दिएको दललाई किन मत दिने एकथरी मत छ । अर्को थरी तर्कबारे संस्थापन पक्षका नेता भन्छन्,‘गठबन्धन छोडेर गएको बैगुनीलाई गुनले पुरानो बाटोमा फर्काउने अवसरका रुपमा विश्वासको मतलाई लिनुपर्दछ ।’

माओवादी कुनै न कुनै रुपमा कांग्रेससँग नजिकिने आकलनले पनि होला, संसदमा बोल्ने क्रममा सभापति देउवा विनम्र सुनिए । विगतको परम्परा हेर्दा संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले सत्ता पक्षलाई आलोचना गर्ने परम्परा थियो । तत्कालीन गठबन्धन भत्किएपछि पहिलो पटक बोल्ने संसदमा बोल्ने क्रममा क्रममा प्रचण्डप्रति देउवा आक्रामक देखिएनन् ।

देउवाले संसदको सम्बोधनमा कसैप्रति गुनासो गरेनन्, बरु नरम सुनिए । बरु प्रधानमन्त्री नियुक्त भएकोमा पटक–पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए । उनले भनेका छन्, ‘प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, नयाँ मन्त्रिपरिषद् गठन भएको छ । प्रचण्डजीलाई बधाई दिन चाहन्छु, र सफलताको शुभकामना छ ।’ साथै  देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरे ।

देउवा नरम हुनुमा उनको भावी सत्ता यात्राको चाहनालाई जोडेर हेरिएको छ । माओवादीले नयाँ गठबन्धन तोडेपछि सत्ताको चाबी कांग्रेसमा हुने देउवाले बुझेर नै भित्री तयारी जारी राखेको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?