+
+

संसदमा रवि लामिछानेका सिधा कुरा

सम्बोधनका क्रममा बारम्बार छातीमा हात राख्दै उनले वाचा गरिरहे । आफू मात्र होइन आफ्नो पार्टीका सांसदको समेत जिम्मा लिँदै उनले जनताको शिर निहुरिन नदिने प्रतिवद्धता जनाए ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते २०:१४

२५ पुस, काठमाडौ । प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन अरु नेताको भन्दा फरक रह्यो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले छोटो सम्बोधनमा आफ्नो पार्टी उदयको अर्थ बताए, अनि भ्रष्टाचारमा कारबाही गर्न आफू निर्मम हुने जिकिर गरे ।

कुनै पनि खालखण्डको भ्रष्टाचारका फाइल खोल्ने बताएका लामिछानेले काूनन पालनामा सहयोग गर्न सांसदलाई अनुरोध समेत गरे । सम्बोधनका क्रममा बारम्बार छातीमा हात राख्दै उनले वाचा गरिरहे । आफू मात्र होइन आफ्नो पार्टीका सांसदको समेत जिम्मा लिँदै उनले जनताको शिर निहुरिन नदिने प्रतिवद्धता जनाए ।

नयाँ दललाई मत दिएर जनताले परिवर्तन खोजिरहेको संकेत गरेको सुनाउँदै लामिछानेले भने, ‘यो मुलुकमा अब परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बनाएका घण्टीको ध्वनि हो र यो ध्वनिलाई संसदले सुन्नेछ । सदुपयोग गर्ने छ ।’

जन–अपेक्षा अनुसार नयाँ राजनीतिक दल उदाएको बताउँदै उनले जन–अपेक्षा पूरा नभएमा मुलुक निराशामा जाने लामिछानेले सुनाए । ‘हामी जस्ता नयाँ राजनीतिक दलहरुको आगमन जनताको अपेक्षा अनुसार भएको हो । त्यो अपेक्षामा कुनै कारणले कुठाराघात भयो भने एउटा चरम निराशामा मुलुक जानेछ । यस कुराको हेक्का हामीमा छ । र, सम्पूर्ण राजनीतिक दलहरुलाई पनि छ होला’, लामिछाने गम्भीर सुनिए ।

संसदले वर्षौदेखिका भ्रष्टाचारका भारी बिसाउनुपर्ने तर्क गर्दै लामिछानेले संसदलाई प्रश्न समेत गरे । ‘संसद अधिवेशनको पहिलो दिनमा हामीले भन्नैपर्छ– वर्षौदेखि भ्रष्टाचारका विभिन्न काण्डहरु मच्चाएको र जनता निराश भएको अवस्थामा अबको संसदले त्यो भारी बोकिरहन्छ कि त्यो भारीलाई बिसाउँछ ?,’ लामिछानेले प्रश्न गरे । उनले भ्रष्टाचारको सम्पूर्ण पुराना फाइलहरु खोल्न ऐक्यवद्धताको पनि माग गरे ।

संसदलाई प्रश्न गरेका लामिछानेले सांसदलाई खबरदारीपूर्ण आग्रह पनि गरे । भ्रष्टाचार र गैरकानूनी क्रियाकलापमा जोडिएका मान्छेलाई छुटाउन दबाव नदिन आग्रह गर्दै उनले भने, ‘आपराधिक गतिविधिमा यदि छानबिन भइरहेको छ भने त्यसलाई प्रभाव पार्नको निमित्त आफ्ना मान्छेहरु छुटाउनु पर्‍यो भन्ने किसिमका दबाव सिर्जना नगरिदिनु होला । ल एण्ड अर्डरलाई पालना गर्ने हो भने त्यसको सुरुवात यो गरिमामय संसदमा उपस्थित हामी सबैबाट हुनुपर्दछ ।’

लामिछानेले छातीमा हात राख्दै आफू र आफ्नो दलका सांसदले कुनै पनि प्रकारको अनियमितता नगर्ने वाचा गरे ।

‘म र म सम्वद्ध दलका कुनै पनि प्रतिनिधिहरुबाट, सांसदहरुबाट कुनै पनि किसिमको अनियमितता हुने छैन । कहीँकतै नागरिकलाई दुःख दिने काम हुने छैन । कुनै काण्डहरुमा हामी मुछिने छैनौं’, लामिछानेले भने, ‘म बाचा गर्न चाहन्छु– हामी मुलुक र मुलुकबासीका लागि हामीले हिजो गरेका बाचाहरु पूरा गर्नका लागि तयार भएर आएका छौं ।’

सञ्चारकर्ममा रहँदा खरो र चर्को बोल्ने लामिछानेले संसदमा भ्रष्टाचारका फाइल खोल्ने र कारबाही गर्ने मामिलामा आफू निर्मम हुने सुनाएर उनले आफू आफ्नो काममा प्रष्ट भएको संकेत गरे ।

‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका फाइल इमानदारीसाथ खुल्छ, सरकार भ्रष्टाचारबिरुद्ध निर्मम भएर खडा हुन्छ’, भन्दै लामिछानेले सरकारले तयार पार्ने न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार निवारण एउटा बुँदा हुने सुनाए ।

सरकारले सार्वजनिक गर्ने न्यूनतम साझा कार्यक्रम, आफ्नो पार्टी र सरकार जनजीविकाको सवालमा खरो भएर उत्रिने वाचा गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको वाचा र जनमतको गणितका कारण पनि आफूहरु सरकारमा गएको सुनाए ।

आवेगको मत पाएको भन्दै रास्वपामाथि हुने टिप्पणीको जवाफ समेत लामिछानेले संसदबाट दिए । आवेगको नभई आशाको मत पाएको बताउँदै लामिछानेले कर्तव्य पूरा गर्दा कहीँ चुके कुर्सी र पदको लोभमा नलोभिने वाचा समेत गरे ।

नागरिकले महसुस गर्ने गरी सरकारले काम गर्ने बताउँदै लामिछानेले आफूले गरेका वाचा पूरा गर्न नसकेको दिन कुर्सिबाट हट्ने पनि सुनाए ।

‘हाम्रो तर्फबाट प्रतिवद्धतामा कुनै कमीकमजोरी आएको खण्डमा सरकारमा, लोभमा वा पदमा टाँसिरहने छैनौं,’ प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘यो बाचा पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही रोष्ट्रमबाट गराउन चाहन्छु ।

हामी आफ्नो कर्तव्य पूरा गर्ने सिलसिलामा कहीँकतै चुक्यौ भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं । यसमा यहाँहरु निर्धक्क हुनुहोला । सत्ता साझेदार दलहरुलाई पनि म यो बाचा गर्न चाहन्छु ।’

उनले प्रतिपक्षी दलबाट स्वस्थ आलोचनाको अपेक्षा रहेको बताउँदै सकारात्मक काममा अड्को थाप्ने नभई सघाउने काम हुनेछ भन्ने अपेक्षा रहेको पनि बताए । ‘म यो अपेक्षा पनि गर्दछु कि प्रतिपक्ष दलबाट अड्काउने होइन, सघाउने काम हुनेछ भन्ने कुरा पनि म आशा गर्छु,’ उनले भने ।

पूर्वसचिव शारदाप्रसाद त्रितालले लामिछानेको प्रतिवद्धताको सह्राहना गरेका छन् । ‘रोष्ट्रममा उभिएर भनिएको उक्त भनाइ ज्यादै महत्वपूर्ण मानिन्छ’ त्रितालले फेसबुकमा लेखेका छन्, ‘अघिल्ला दुई सरकारले रोकेको बालुवाटारको ललिता निवासको जग्गामा भएको किर्ते र ठगी सम्बन्धी प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको अनुसन्धानको विवरण सार्वजनिक गरेर देखाउन सक्नुभएमा भनाइ र गराइका बीचको वास्तविकता थाहा हुन सक्ने थियो । उहाँका लागि यो विषय अवसर र चुनौती दुबै हो ।’

लामिछानेको प्रष्टतामाथि शंका पनि छ । लामिछानेको नागरिकता र राहदानीको विषयमाथि सवाल उठेको हुँदा उनले सबैभन्दा पहिला आफ्नै विषयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको बुझाइ छ ।

‘गृहमन्त्रीले सबैभन्दा पहिला त आफ्नो विषयमा प्रष्ट हुनुपर्‍यो’, महर्जन भन्छन्, ‘आफ्नो नागरिकता र पासपोर्टको विषय अदालतमा छ, अरु विषयका भ्रष्टाचारका फाइल खोल्छु भन्ने कुरा सुहाएन । नागरिकता र राहदानीमाथिको प्रश्न पनि भ्रष्टाचार नै हो ।’

सञ्चारकर्ममा रहेदेखि नै लोकप्रिय भाषा बोल्न सिपालु लामिछानेले संसदमा पनि त्यस्तै भाषा बोलेको बताउँछन् पूर्वराजदूत विजयकान्त कर्ण ।

‘उहाँ टिभीमा हुँदा पनि यस्तै चर्को बोल्नुहुन्थ्यो संसदमा पनि त्यस्तै बोल्नुभयो,’ राजनीतिशास्त्रका प्राध्यपक समेत रहेका कर्ण भन्छन्, ‘जुन निकायले उनीमाथि छानबिन गरिरहेको छ त्यही निकायको मन्त्री हुन जानु नै आफैंमा भ्रष्टाचार हो । त्यसैले उहाँको बोली र व्यवहारमा विरोधाभास देखिइसक्यो ।’

अरुका विषयमा प्रष्ट भइरहँदा लामिछानेले आफ्नो नागरिकता र राहदानीको विषयमा भने प्रष्टता नदेखाएर छल गरेको कर्णको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?