+
+

वीरगञ्ज आईसीपीबाट भित्रिन थाल्यो डष्टी कार्गो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १७:१८

२६ पुस, वीरगञ्ज । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) हुँदै ’डस्टी कार्गो’को आयात हुन थालेको छ । आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अनुसार आइतबारदेखि नै आईसीपी हुँदै ’डस्टी कार्गो’ आउन थालेको छ ।

भारतीय पक्षले जनवरी १ देखि नै आईसीपीबाटै डस्टी कार्गो र तेस्रो मुलुकका पर्यटक पठाउने घोषणा गरेको थियो । तर त्यसको ८ दिनपछि अर्थात जनवरी ८÷पुस २४ गतेदेखि मात्रै आईसीपी हुँदै डष्टी कार्गो बोकेका ट्रक नेपाल भित्रिन थालेका छन् ।

पहिलो दिन ३८, दोस्रो दिन सोमबार ११ वटा र मंगलबार ३४ वटा डष्टी कार्गो बोकेका ट्रक नेपाल भित्रिएको इन्टरमोडल यातायात विकास समिति आईसीपी वीरगञ्जका शाखा अधिकृत एवं अपरेशनल इन्चार्ज जितेन्द्र रसाइलीले जानकारी दिए ।

नेपाल तर्फ आईसीपीको पूर्व दक्षिण कुनाको १० नम्बर लेन ‘डस्टी कार्गो’ बोकेर आउने सवारीका लागि छुट्याइएको छ । तर हाललाई यो लेन प्रयोगमा छैन । अन्य सामान आयात हुने २ नं लेनबाटै ‘डस्टी कार्गो’ बोकेका सवारी भित्रिरहेका छन् । समिति वीरगञ्जका प्रमुख कमल ज्ञवालीले भारतीय आईसीपीमा आवश्यक तयारी नपुगेकोले १० नम्बर लेन सञ्चालनमा नआएको बताए । ‘हामीले लेनमा राखिएका नयाँ सवारी हटाएर आवश्यक तयारी गरिसकेका छौं ।

तर भारततर्फ तयारी पूरा भएको रहेनछ’, प्रमुख ज्ञवालीले भने, ‘साविककै रुटबाट ‘डस्टी कार्गो’ बोकेका सवारी पनि आइरहेका छन् ।’

१० नम्बर लेनबाट ६७ वटा गाडी हटाएर बाटो खाली गरिसकेको उनको भनाइ छ । डस्टी कार्गो मालबाहक सवारी साधनमा ल्याई चौकी परिसरमा अनलोड नगरी सोझै भन्सार जाँचपास गरी लैजानेगरि व्यवस्था मिलाइएको उनले बताए ।

हालसम्म भारतबाट आयात हुने सिमेन्ट क्लिंकर, कोइला, जिप्सम, स्ल्याग आदि वीरगञ्ज–रक्सौल नाकाबाट आयात हुने गरेको छ । रेलमार्गबाट रक्सौलमा डस्टी कार्गो ल्याउने गरिन्छ । रक्सौल रेल्वे यार्डमा अनलोड गरेर ट्रकमा लोड गरी पुरानो भन्सार हुँदै भित्र्याउने गरिएकोमा अबदेखि भारतीय आईसीपी हुँदै ल्याउनुपर्ने भएको छ ।

त्यसैगरी भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि यात्रु शाखा सञ्चालन गर्न ६ नम्बर लेनको प्रयोग गर्ने तयारी छ । ६ नम्बर लेनबाट १ सय ६५ वटा गाडी हटाइसकिएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हाल वीरगन्ज–रक्सौल नाकास्थित पुरानो वीरगञ्ज भन्सार नाका हुँदै भारतीय तथा तेस्रो मुलुकका पर्यटकको लागि यात्रु शाखा सञ्चालनमा छ । अध्यागमन र पर्यटन प्रहरी कार्यालय पनि पुरानो नाकामा मात्रै छ ।

३ महिनाअघि भारत सरकारको बिहार राज्यको राजधानी पटनास्थित प्रिन्सिपल कमिश्नरको कार्यालयका प्रिन्सिपल कमिश्नर प्रदीपकुमार कटियारले सूचना जारी गरेका थिए ।

सूचनामा सिमावर्ती भारतीय सहर रक्सौलबाट बौद्धीमाई मन्दिर हुँदै भारतीय आईसीपीसम्म जाने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले रक्सौलबाट निर्यात हुने डस्टी कार्गो असोज ३० देखि नै आईसीपी हुँदै गर्न निर्देशन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?