+
+

थारू समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १८:१०
थारू कल्याणकारिणी सभाले थारू राष्ट्रिय माघी महोत्सव २०७९बारे जानकारी दिन पर्यटन बोर्डमा आयोजना गरेको पत्रकार सम्‍मेलन। तस्वीर : विकास श्रेष्ठ/ अनलाइनखबर

२७ पुस, काठमाडौं । तीन वर्षपछि थारू कल्याणकारिणी सभाले काठमाडौंको टुंडिखेलमा ‘थारू राष्ट्रिय माघी महोत्सव २०७९’ दुई दिनसम्म मनाउने तयारी गरेको छ।

बुधबार राजधानीको पर्यटन बोर्डमा पत्रकार सम्‍मेलन गरेर थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको अगुवाइमा तीन वर्षपछि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउन लागिएको कल्‍याणकारिणी सभाका सदस्‍यसचिव कानुनलाल चौधरीले बताए।

उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौ। कोरोना कहरका कारण थाकसले हलमा तीन वर्षसम्‍म मनाउन पर्‍यो। तर यस वर्ष टुँडिखेलमा भव्‍यताका साथ तयारी गरेका छौं । ’

यसअघि देशभर कोरोना संक्रमणका कारण दुई पटक तमू बौद्धको हल र एक पटक टुँडिखेल मैदानमा विवाद हुँदा चाबहिलको चुच्चेपाटीमा थाकसले माघी महोत्सव मनाएका थियो। यस पटकभने माघी महोत्वस २०७९ पुस ३० र माघ १ गते टुँडिखेलमा हुँदैछ। महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन्।

यस्तै थाकसका उपमहामन्त्री मिनराज थारुले महोत्सव नाफामुखी नभएर समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारको प्रचार र खबरदारीका लागि आयोजना गर्ने गरिएको बताए ।

उनले भने, ‘माघीलाई हामीले नाफामुखी नभएर समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारको प्रचार र खबरदारीका लागि आयोजना गरेका हौं।’ साथै यस महोत्सवले थारू संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुर्‍याउने उनको जिकिर छ ।

यस्तै माघी महोत्सव स्टल व्‍यवस्थापन तथा आर्थिक संयोजक अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार महोत्सवलाई व्यापारिक हिसावलेभन्दा पनि रचनात्मक र सांस्कृतिक जगेर्ना गर्ने हिसाबले मनाउने तयारी भएको बताए ।

उनका अनुसार महोत्‍सवमा थारु फुड फस्टिबल, थारुहरुको मौलिक पोशाक( लेहेंगा, चोलिया, अंगिया र धोती) विभिन्‍न परिकार (ढीक्री, अण्‍डी चामलको भात, तीलको लड्डु, भुजाको डल्‍ला, घोंघी, बगिया, खिचरी, गंगटा, सुंगुरको मासु, मुसाको अचार, सिंकी, सिध्रा, खुम्रा) गरी करीब १०० वटा स्टल राखिएको छ।

उनका अनुसार मोटरसाईकल र्‍याली पुष ३० गते बिहान ७ बजे कोटेश्वरबाट सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ । त्यस्तै, सोही दिन साँझ थारुको परम्पराअनुसार जिता मार्ने कार्यक्रम तय भएको उनले बताए। जिताका लागि सुंगुर/बंगूरको खोजी भइरहेको जिता मर्नामा संयोजक सिताराम थारूले जानकारी दिए ।

माघ १ गते बिहान १० बजे थारू संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहितन न्यूरोड बसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शन सहित रत्नपार्क परिक्रमा गरी मूल समारोहमा सरिक हुनेछ ।

यसका साथै थारुको बारेमा जानकारी दिन मिडिया सेन्टर राखिनेछ जहाँ थारुको इतिहास झल्‍किकिने ऐतिहासिक पुस्‍तक, क्‍यालेन्‍डर, थारु पत्रिका मेडिया सेन्टरमा पढ्न पाइने छ।

नेपालका आदिवासी भूमिपुत्र थारू समुदायले मनाउँदै आएको विभिन्न चाडपर्वहरु (शिरुवा/जुरशीतल पावैन, अखारही, गुरीया, रैब/अट्वारी, जितिया, डश्या, सुकराइत/देवारी, अष्टिम्की, समाचकेवा, होरी/फगुई)मध्ये महान एवं राष्ट्रिय पर्व माघी पनि हो ।

माघी पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारू समुदायले स्थान विशेषका आधारमा माघ/माघी/तिला संक्राइत/खिचरा/खिचरी खिचडी आदि नामबाट हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् ।

पुर्व झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर,सिरहा,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा बसोबास गर्ने थारू समुदायले तिलासंक्राइत, मध्य चितवनका थारू समुदायले खिचरा, नवलपरासी, रुपन्देहीका थारू समुदायले खिचरी/खिचडी तथा दाङ, बाँके, सुर्खेत,बर्दिया,कैलाली,कन्चनपुरलगायतका हामी थारू समुदाय यसलाई माघ पर्वको रुपमा मनाउने गरेका छन् ।

यी सबै ठाउँ विशेषमा देशभरका थारू समुदायले मनाइरहँदा थारूहरुको मातृसंस्था थारू कल्याणकारिणी सभाले अगुवाइ गरेर काठामाडौंमा वि. सं. २०५९ सालदेखि साँझा रुपमा माघी पर्वलाई महोत्सवको रुपमा धुमधामसँग मनाउन थालेका हुन् ।

माघी महोत्सवको प्रचारप्रसारको लागि अफिसियल मिडियाको रुपमा थारू पत्रकार संघ केन्द्रीय कार्यसमिति काठमाडौं, थारूवान डटकम, थारू कम्यूनिटी फेसबुक पेज, हमार पहुँरा डटकम, थारू न्यूज डटकम रहेका छन् भने अफिसियल व्यवस्थापन प्रायोजक थारू विद्यार्थी समाज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?