+
+

राजेन्द्र रावललाई आफैंले नसोचेको मुख्यमन्त्रीको पद

जनक विष्ट जनक विष्ट
२०७९ पुष २७ गते २२:१५

२७ पुस, धनगढी । आमनिर्वाचन–२०७९ को अन्तिम मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने लगभग निश्चित थियो ।

२०६४ सालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेलधुराबाट चुनाव लड्दै आएका भट्ट मुख्यमन्त्री बन्ने शर्तमै प्रदेशसभा सदस्यको उम्मेदवार बनेर जितेका थिए । कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर निर्वाचन क्षेत्र परिवर्तन गरेर कैलाली–४ प्रतिनिधिसभा सदस्य जित्नुले पनि मुख्यमन्त्रीमा भट्टको संभावना बढाएको थियो ।

नतिजा पनि त्यस्तै आयो । सुदूरपश्चिममा १९ सिटसहित कांग्रेस पहिलो दल बन्दा माओवादी केन्द्रले ११ सिट जित्यो । गठबन्धनमै रहेको एकीकृत समाजवादीले जितेको ४ सिट जोड्दा ५२ सदस्यीय प्रदेशसभामा भट्ट मुख्यमन्त्री बन्ने बलियो आधार तयार भएको थियो ।

तर राष्ट्रिय राजनीतिमा उतारचढाब आयो । तीनै तहको चुनावमा सहकार्य गरेको माओवादी केन्द्रका अध्यक्ष कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेको समर्थनमा प्रधानमन्त्री भए ।

प्रचण्ड प्रधानमन्त्री बन्दा सातै प्रदेश सरकारको नेतृत्वमा पनि नयाँ गठबन्धनका दलहरुबीच भागबण्डा भयो । सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्र आलोपालो मुख्यमन्त्री बन्ने सहमति जुट्यो । त्यो सहमति अनुसार, एमाले संसदीय दलका नेता राजेन्द्र रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका छन् । रावललाई माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदको समर्थन छ ।

मुख्यमन्त्री रावलले भोलि बिहीबार पद तथा गोपनियताको शपथ लिँदैछन् । जसरी भट्ट निश्चित भएर पनि तत्काल मुख्यमन्त्रीको समर्थक मात्रै बन्ने नाटकीय परिस्थिति निर्माण भयो, त्यस्तै नाटकीय उलटफेरले रावललाई भने मुख्यमन्त्री बनाएको छ ।

किनकि सुदूरपश्चिममा एमालेले नराम्रोसँग पराजय बेहोरेको थियो । २० मध्ये प्रत्यक्षतर्फ ३ सिट मात्रै जितेको एमालेले समानुपातिकतर्फ गरी १० सिट पाएको थियो । अर्थात् प्रदेशसभामा एमाले तेस्रो शक्ति मात्रै हो । अझ चुनाव अगाडिको समीकरण र पार्टीभित्र रावलको अवस्था हेर्दा मुख्यमन्त्री बन्ने कुनै संभावना थिएन ।

चुनावमा सिनियर नेताहरु पराजित भए भने चुनावपछि अकस्मात राजनीतिक समीकरण बदलियो । सिनियर नेताहरु लालबहादुर थापा, पठानसिंह बोहरा, लिलाधर भट्ट, कमला ओली प्रत्यक्षतर्फ उम्मेदवार बनेर पराजित हुँदा समानुपातिकमा रहेका रोजेन्द्र प्रदेशसभा छिरे । अघिल्लो बरियताको नेताहरु पराजित भएकाले संसदीय दलको नेता बन्ने अवसर रावलले पाए । तिनै रावलले अहिले सोच्दै नसोचेको मुख्यमन्त्री बन्ने अवसर पाएका छन्, त्यो पनि चुनावमा प्रतिपस्पर्धी बनेका शक्तिहरुको समर्थनमा ।

‘हामी गठबन्धनमा आवद्ध दलहरुको सहयोगमा सरकारको न्यूतम साझा कार्यक्रम तयार पारेर सार्वजनिक गछौँ । सोहीअनुसार यहाँ अहिलेका बेतिथि, समस्या र कुरिती अन्त्य गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढ्छौँ,’ मुख्यमन्त्री नियुक्त भएपछि रावलले भने ।

एमाले प्रदेश सचिव धर्मराज पाठक, चुनावी गणितमा पराजित भएपनि एमालेले राजनीति जितेको बताउँछन् । ‘निर्वाचनको अंकगणितकमा पराजित भएपनि पार्टी नेतृत्वले उपयुक्त समयमा ठोस् कदमका कारण राजनीति हाम्रो पक्षमा आएको हो’, उनी भन्छन् ।

नवनियुक्त मुख्यमन्त्री रावलको पृष्ठभूमि भने शिक्षण हो । बैतडीमा जन्मिएका रावलले शिक्षणसँगै पार्टी राजनीति गरेका थिए ।

२०३६ सालको जनमत संग्रहबाट राजनीतिमा सक्रिय रावल लामो समय नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध भए । सँगै, २०४५ मा माक्र्सवादी अध्ययन दल, २०४६ मा नेकपा मालेका कञ्चनपुर जिल्ला सदस्य, २०४७ सालमा अखिलको जिल्ला अध्यक्ष भएका थिए ।

०५१ मा एमाले जिल्ला संगठन विभाग प्रमुख भएका उनी २०५४ मा कञ्चनपुर जिल्ला विकास समितिका उपसभापति भए ।  २०६२ मा एमाले महाकाली अञ्चल समन्वय कमिटी सचिव बनेका रावल २०६४ को चुनावमा कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा शेरबहादुर देउवासँग पराजित भएका थिए । त्यसपछि कुनैपनि संसदीय चुनाव नलडेका रावललाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य बनायो ।

नेकपा फुटेपछि एमालेले प्रदेश सचिव र डडेलधुरा इन्चार्जको जिम्मेवारी पाएका रावल एमाले पोलिब्यूरो सदस्य छन् । एमालेभित्र केपी ओलीतिर लाग्दा अवसरबाट बञ्चित हुँदै आउनु परेको रावलले गुनासो गर्ने गरेका छन् । विशेष गरी कञ्चनपुरमा माधव नेपाल समूहको बर्चश्व भएकाले आफूलाई कुनै अवसर नदिइएको उनको तर्क छ ।

अहिले ओलीले जुराइदिएको अवसरमा मुख्यमन्त्री बनेका रावललाई प्रदेशसभामा बहुमत जोगाएर सरकार चलाउनु भने सजिलो छैन । झण्डै एमालेकै हाराहारीमा रहेको नागरिक उन्मुक्ति रावललाई समर्थन गर्न आनाकानी गरेको थियो । मुख्यमन्त्रीमा दाबी गर्ने समय सकिन केही मिनेट मात्र बाँकी छँदा मात्र उसले समर्थनको निर्णय लिएको थियो । अहिले पनि उसले सरकारमा सहभागी नहुने अडान लिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?