
२८ पुस, काठमाडौं । चारपल्टका ग्राण्डस्लाम च्याम्पियन नाओमी ओसाकाले आफू गर्भवती भएको घोषणा गरेकी छन् ।
२५ वर्षीय पूर्व विश्व नम्बर एक जापानी खेलाडी ओशाकाले गत साता अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएकी थिइन् । उनले गत सेप्टेम्बरयता खेलेकी छैनन् ।
‘२०२३ एक यस्तो वर्ष हुँदैछ जसले मलाई धेरै सिकाउनेछ,’ ओसाकाले भनेकी छन्, ‘एउटा कुरा मैले अहिलेदेखि नै सोचिरहेको छु कि मेरो बच्चाले मेरो एक म्याच हेरोस र अन्यलाई भनोस– ती मेरी आमा हुन् ।’
ओसाकाले सन् २०२१ मा चौथो ग्राण्डस्लाम जित्ने क्रममा अस्ट्रेलियन ओपनको उपाधि उचालेकी थिइन् । उनले त्यो स्मरणीय जितपछि आफूलाई देखएको समस्याका बारेमा पनि बताएकी छन् ।
मे २०२१ मा फ्रेन्च ओपनबाट बाहिरिएपछि उनले सन् २०१८ मा युएस ओपन जितेयता आफू डिप्रेसनको समस्याबाट पीडित रहेको खुलासा गरेकी थिइन् । सेप्टेम्बर २०२१ मा उनले खेलबाट ५ महिनाको विश्राम लिएकी थिइन् ।
विश्रामबाट फर्किएपछि उनले अस्ट्रेलियन ओपनमा तेस्रो चरणमा हार ब्यहोरिन् । फ्रेन्च ओपनको पहिलो चरणमै पराजित भइन् । चोटका कारण विम्बल्डन गुमाइन् भने युएस ओपनमा पहिलो चरणबाटै बाहिरिइन् ।
ओसाकाले पछिल्लो समय टोकियोमा पान प्यासेफिक ओपन खेलेकी थिइन् । उनी अहिले विश्व वरीयताको ४७औं स्थानमा छिन् ।
ओसाकाले सामाजिक सन्जालमार्फत आफ्नो गर्भावस्थाको घोषणा गर्दै भनेकी छन्, ‘पछिल्लो केहि वर्ष स्मरणीय रह्यो ।तर, मैले मेरो जीवनको सबैभन्दा चुनौतिपूर्ण समय आउँदै गरेको देखेको छु जुन रोमान्चक पनि हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4