+
+

रेननकुलस फूलको बिरुवा कसरी राख्ने ? कहिले उम्रिन्छ ?

सिर्जना श्रेष्ठ सिर्जना श्रेष्ठ
२०७९ पुष २८ गते १५:०८

भन्नलाई त भनिन्छ, फूलको आँखामा फूलै संसार । फूल आफैंमा सुन्दरताको प्रतीक पनि त हो । यद्यपि कतिपय फूल हुन्छन्, जसको आकर्षणले आँखाको धीत मर्दैन । जति हेरे पनि हेरिरहुँ लाग्ने ।

यस्तो फूल हो, रेननकुलर्स पनि । स-साना पत्रहरु गुजुमुज्ज परेको यो फूल हेर्दा जति मोहक देखिन्छ, रंगमा उत्तिकै विविधता पनि । सेतो, रातो, हरियो, गुलाबी, कलेजी, सुन्तले कति-कति रंगमा रेननकुलर्स फुल्ने गर्छ ।

वर्षायाम सुरु हुनुअघि र जाडोयाम सकिनै लाग्दा रेननकुलसलाई ढकमक्क फुलाउन सकिन्छ । र, यसका लागि अहिले नै यसको बिरुवा उमार्नुपर्ने हुन्छ ।

कसरी रोप्ने ?

यो सुन्दर फूल बीउ र जरा ‘बल्ब’ दुवै तरिकाबाट रोप्न सकिन्छ । कटिङबाट भने यसको बिरुवा राख्न मिल्दैन । बीउबाट भन्दा बल्बबाट रोप्दा यो फूल छिटो फुल्छ  ।

कस्तो मल माटोमा राख्ने ?

यो रेननकुलर्स फूल रोप्न ७५ प्रतिशत कम्पोस्ट मल र २५ प्रतिशत बलौटे माटोलाई मिसाउनुपर्छ । यसरी कम्पोस्ट मल र माटोलाई मिसाएर रोप्दा फूल राम्ररी उम्रिन्छ ।

मल कसरी तयार गर्ने ?

फूलमा राख्नको लागि सबैभन्दा राम्रो गाईको मल हो । घरमै कुहिने फोहोरबाट पनि कम्पोस्ट मल तयार गर्न सकिन्छ ।

मल बनाउनका लागि बारीमा एक मिटरभन्दा कमको खाडल बनाउने त्यसमा कुहिने फोहोर तह-तह पारी राख्ने । खाडल बनाउने ठाउँ छैन भने पुरानो बाल्टीमा पनि मल बनाउन सकिन्छ । प्रत्येक तह धेरै बाक्लो नबनाई करिब ६ देखि १० इन्चसम्म बनाउनुपर्छ ।

हरेक तहपिच्छे जोरनको रूपमा चुन, माटो, पानी हाल्नुपर्छ । माथिको चल्तीको माटोमा प्रशस्त जीवाणु हुन्छ । कृषि चुनले जीवाणुको गतिविधि बनाउँछ र अम्लीयपन हुनबाट बचाउँछ । सामान भरिसकेपछि माटोले छोप्ने जसले झिंगा र दुर्गन्धबाट बचाउँछ र खाद्य तत्त्व खेर जान बाट बचाउँछ । कुहाउन हालेको मल लतक्क कालो भए पछि मल तयार हुन्छ ।

सिंचाई कसरी गर्ने ?

सिड र बल्बलाई रोपेपछि नउम्रिने बेलासम्म धेरै पानी हाल्नु हुँदैन । माटो भिज्ने गरी थोरै थोरै पानी हाल्नुपर्छ । दिनमा एक पटक मात्र पानी दिंदा पुग्छ ।

रोपेको १५ देखि १८ दिनभित्रमा यो फूलको टुसा उम्रिन्छ । रेननकुलसको बिरुवा बिहानको घाम पर्ने ठाउँमा राख्दा उपयुक्त हुन्छ । दैनिक ५ देखि ६ घण्टासम्म घाम पर्ने ठाउँमा राख्दा हुन्छ । रोपेको ४५ दिनमा यो फूल फुल्छ ।

फूललाई कसरी स्याहार्ने ?

– यो फूललाई धेरै पानी हाल्नु हुँदैन ठिक्क माटो भिज्ने गरी मात्र हाल्नुपर्छ । धेरै पानी हाल्दा त्यसको जरा कुहिएर मर्न सक्छ ।

– फूललाई कीरा र लाइ लाग्नबाट बचाउन कीटनाशक औषधि पनि राख्नुपर्छ ।

– समय-समयमा त्यसको वरपरका झारहरू उखेल्नुपर्छ ।

– फूललाई राम्ररी फुलाउन फर्टिलाइजर राख्नुपर्छ । फूलको कोपिला लाग्न थालेपछि फर्टिलाइजर राख्नुपर्छ । सबैभन्दा राम्रो फर्टिलाइजर भनेको गाईको गहुँत हो । एक लिटर गहुँतमा पाँच लिटर मिसाएर फर्टिलाइजर बनाउन सकिन्छ । १५ दिनमा एकपटक त्यो फर्टिलाइजर हाल्नुपर्छ । घरमा बनाउन सम्भव छैन भने बजारमा पनि फर्टिलाइजर किन्न पाइन्छ ।

(श्रेष्ठसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?