+
+

थारू समुदायको उत्थान र विकासमा विवेक पुर्‍याउने छु : गृहमन्त्री लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १८:४२

२८ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारू समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारू समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए । उनले भने, ‘थारू समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्‍याउने छु।’

थारू संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाइ थियो । उनले भने, ‘थारू समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नु पर्छ ।’ जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारू समुदायको उत्थानमा लाग्ने उहाँले बताए ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारू संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताए । माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उनको भनाइ थियो ।

उनले भने, ‘यस महोत्सवले चितवनको बृहत् हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।’ बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटनलाई पूर्वाधारसँग जोड्दै अघि बढ्ने उनले बताए ।

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ । आजदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै थारू जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ ।

थारूको बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए । महोत्सवबाट थारू जाति र थारू जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उनले बताए ।

महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?