+
+

न्यु डायमण्डलाई हराएर पुलिसले जित्यो एनभीए क्लब च्याम्पियनसिप

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १६:१०

१ माघ, काठमाडौं । न्यू डायमण्ड क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले सातौं एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि जितेको छ । पुलिसले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको रोमान्चक र प्रतिस्पर्धात्मक फाइनलमा पुलिसले न्यु डायमण्डमाथि ३–१ को सेटमा जित निकालेको हो ।

तेस्रो सेटसम्म रक्षात्मक बनेको पुलिसले त्यसपछिका दुई सेटमा आक्रामक खेल प्रदर्शन गर्यो । पहिलो सेट २२–२५ ले गुमाए पनि दोस्रो सेटमा २५–१७ को जित निकालेको पुलिसले तेस्रो सेट २५–२७ ले गुमायो ।

चौथो सेटमा सुरुवाती समयमा पछि परे पनि २५–१९ को प्रभावशाली जितसहित पुलिसले खेल बराबरीमा ल्यायो । निर्णायक सेटमा सुरुदेखि नै अग्रता बनाएको पुलिसले १५–११ को सेट जितसँगै उपाधि जित्न सक्यो ।

यी दुई टिम समूह चरणमा पनि खेलेका थिए । समूह ए को अन्तिम खेलमा पुलिसले न्यु डायमण्डलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

पुलिसले एनभीए क्लब च्याम्पियनसिप जितेको १० वर्षपछि पहिलोपटक हो । उपाधिसँगै उसले ४ लाख रुपैयाँ पुरस्कार पाएको छ । न्यु डायमण्डले २ लाख रुपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ पाएको छ ।

प्रतियोगितामा महिलातर्फ ८ टिम सहभागी थिए । ८ मध्ये शीर्ष ६ टिमले एनभीए क्लब लिगमा प्रवेश पाउनेछन् ।

पुरुषतर्फको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्टस क्लबबीच आइतबार नै प्रतिस्पर्धा हुँदैछ ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?