गर्छस् के भन्दा
भावनाको खेती गर्छु भन्छ
खान्छस् के भन्दा
शब्दहरू आहारा हुन् भन्छ
बाँच्छस् कसरी त ?
कविता सहारा हुन भन्छ
कवि कविता लेख्छ
भन्नुपर्ने अप्ठ्यारो हो
तर
क्लिष्ट र दुर्वोध्य भन्छ
नसकिनेलाई असाध्य भन्छ
सजिलो हुनुपर्नेलाई
सरस र बोधगम्य भन्छ
खै किन हो
यो कवि खाली नबुझिने बन्न खोज्छ
नबुझिने लेख्न खोज्छ
गाउँ देख्नुपर्ने
समाज लेख्नुपर्ने
तर
धेरै पर जान्छ
ब्रह्माण्ड समेट्छु भन्छ
सूर्य बाँझो भो, अब जोत्छु भन्छ
कवि कविता लेख्छ
चन्द्रमालाई टुक्राउँछ
खण्डीकरण गरें भन्छ
मायालुको हात
होइन होइन
अञ्जुली भरें भन्छ
उकालोमा झरें भन्छ
ओरालोमा चढें भन्छ
खै यो कवि किन हो
कविता लेख्छ
र
अमरताको बीउ छरें भन्छ
विचित्रको छ यो कवि
आफू आफैंमा हराए जस्तो
यथार्थसँग डराए जस्तो
सानो कुरामा अल्झिरहने
यादहरूमा बल्झिरहने
व्यावहारिकता ?
खै कता भन्छ
बालसुलभतालाई
विशेषता ठान्छ
उसको
बोलीमै कविता जान्छ
शब्दहरू तान्छ
शब्दहरू बान्छ
र
यसैलाई सार्थकता मान्छ
जिउनु मान्छ
जीवन ठान्छ ।।
प्रतिक्रिया 4