+
+

भूकम्प सुरक्षा दिवसको कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १८:०३
फाइल तस्वीर

१ माघ, काठमाडौं । सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ ।

१९९० साल माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो ।

सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिए ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ ।

दिवसका अवसरमा मूल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटीलगायत संस्थाको सक्रियतामा जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागेका थिए ।

यस अवसरमा भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी भने मङ्गलबारदेखि गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् ।

२०७२ साल वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?