+
+

सगरमाथा चढ्दा मात्र होइन, ओर्लिंदा पनि कीर्तिमान

‘मेरो रेकर्डले सुतेर बसेकाहरूलाई उठ्नुपर्छ भन्ने लागेको होला, नेपाल जानुपर्छ भन्ने लागेको होला । अब उहाँहरूलाई गाइडिङ गर्छु ।’

विकास रोकामगर विकास रोकामगर
२०८१ जेठ १४ गते २०:०७

१४ जेठ, काठमाडौं । फराकिला हिम नदी, आइसफलको घुमाउरो बाटो छिचोल्दै फुन्जो लामा ८८४८.८६ मिटर उचाइमा पाइला टेक्नेबित्तिकै आफूसँगै आएका गाइडलाई सोधिन्, ‘कति बज्यो ?’

गाइडले बिहानको साढे ६ हुन लागेको जनाउ दिए । बेस क्याम्पबाट साँझ ३ बजेर ५२ मिनेटमा हिँडेकी उनी १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेकी थिइन् ।

‘ए ! बेलैमा आइपुगिएछ’, उनले सामान्य जवाफ फर्काइन् । र उनी अहिले त्यही ‘बेलै’मा सगरमाथा चढेर सबभन्दा छिटो आरोहण गर्ने महिलाको विश्व कीर्तिमान बनाउन सफल भएकी छन् ।

‘चुचुरोमा पुगेर थोरै झुकेर आफ्नै खुट्टालाई स्याबास भनें । ठूलो दुःख सहेर मलाई यहाँसम्म ल्याइपुर्‍यायौ, अब केही समय सहिदेऊ, त्यसपछि तल ओर्लिएपछि तिमीलाई एकदमै माया गर्छु भनें’, दोस्रो पटक सगरमाथा सफल आरोहण गरेको क्षण सम्झिँदै उनले भनिन्, ‘मलाई यहाँसम्म ल्याइपुर्‍याउने मेरा खुट्टालाई एकदमै माया गर्छु ।’

गोरखा छेकम्पार बुर्जीगाउँ (चुमभ्याली) की फुन्जोले सगरमाथा आरोहण मात्र होइन, उत्तिकै छिटो ओर्लिएर अर्को कीर्तिमान पनि बनाएकी छन् ।

उनी सगरमाथा चुचुरोबाट ९ घण्टा १८ मिनेटमा बेस क्याम्प ओर्लिएकी थिइन् । ‘बेसक्याम्प टु बेसक्याम्प २४ घण्टा २६ मिनेटमा पूरा गरिएछ । यो पनि पहिलो हो भनेर पछि थाहा पाउँदा खुसी लाग्यो’, उनले भनिन् ।

सन् २०१८ मा सगरमाथामा सबभन्दा छिटो आरोहण गर्ने महिलाको कीर्तिमान पनि उनै फुन्जोले बनाएकी थिइन् । त्यतिबेला उनले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको सफलारोहण गरेकी थिइन् ।

२०२१ मा हङकङकी स्यान यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा उक्लिँदै फुन्जोको कीर्तिमान भंग गरिदिएन् । अहिले फेरि त्यही कीर्तिमान व्यापक सुधारसहित आफ्नो नाममा फिर्ता ल्याउन उनी सफल भइन् ।

खासमा फुन्जो २०१८ मै २० घण्टामा सगरमाथा चढ्न सकिन्छ भनेर आरोहणमा गएकी थिइन् । गाइड दुर्घटनामा परेपछि उद्धारमा लाग्दा उनले आफैंले निर्धारण २० घण्टाको लक्ष्य पूरा गर्न सकिनन् ।

यद्यपि सबभन्दा छिटो आरोहण गर्ने महिलाको कीर्तिमान भने बनाइन् । ‘ट्रेकमा जाँदा विदेशी पर्यटकहरूले ‘अहो ! तिमी ३९ घण्टामै सगरमाथा चढेको !’ भनिरहन्थे । मेरो लागि त त्यो सामान्य थियो’ उनले भन्छिन्, ‘०१८ मा आफूले सोचेको जस्तो गर्न नपाएपछि त्यो कोशिस गर्छु भन्ने थियो ।’

कीर्तिमान नै राख्छु भनेर चाहिँ नलागेको फुन्जो बताउँछिन् । बेसक्याम्प पुग्दा पनि बिन्दास थिइन्, फुन्जो । उनलाई कसैलाई जित्नु थिएन, उछिन्नु थिएन । समयको दबाब नहोस् भनेर हातमा घडी पनि लगाएकी थिइनन् ।

‘सबैजनाले मलाई ‘के सोचेको छौ ? कस्तो लागिराखेको छ भनेर भनिरहन्थे । म अरूसँग कम्पिटिसन गर्न खोजेको थिइनँ, त्यही भएर होला, मलाई रत्तिभर प्रेसर थिएन’, भन्छिन्, ‘इभन मेरो रेकर्ड जसले ब्रेक गर्‍यो, उसको रेकर्ड ब्रेक गर्न खोजेको पनि थिइनँ । मलाई त मेरो बेस्ट दिनु थियो ।’

२०१८ मा उक्लेको बाटोभन्दा यसपटक केही फरक थियो ।

सुरक्षित आरोहणका लागि सबभन्दा जोखिमयुक्त मानिने ‘आइसफल क्षेत्र’को बाटो केही घुमाउरो बनाइएको थियो । यसले सरदरभन्दा १ घण्टा ४० मिनेट लामो दूरी समय पनि बढेको फुन्जोको अनुभव छ । ‘बाटो जिक्ज्याक भएपछि त अनलक्की रैछु कि क्या हो ? यसपालिका त झन लामो बाटो परेको छ, २० घन्टामा पनि पुगिँदैन कि क्या हो भन्ने लागेको थियो’, उनले भनिन् ।

तर सोचेभन्दा पनि छिटो समयमा सगरमाथा चुचुरोमा पाइला टेकिन् । आफ्नो लक्ष्य पूरा गरेकी उनी अब अरुलाई गाइड गर्न चाहन्छिन् । भन्छिन्, ‘मेरो रेकर्डले सुतेर बसेकाहरूलाई उठ्नुपर्छ भन्ने लागेको होला, नेपाल जानुपर्छ भन्ने लागेको होला । अब म उहाँहरुलाई गाइडिङ गर्छु ।’

*** ***

गोरखाको विकट हिमाली क्षेत्र चुमभ्यालीमा जन्मिएकी फुन्जो सानैदेखि हिमाल र हिउँ वरिपरि नै हुर्किइन् ।

२ वर्षको हुँदा आमा गुमाएपछि हजुरबुवाकै पछि लागेर ५ हजार मिटर उचाइभन्दा माथि चौंरी र याकसँग बालापन बित्यो । ‘गणेश हिमाल छेउमा हाम्रो गाउँ थियो । त्यसमा चढ्न नपाइने भएपछि हिमाल चढ्ने भन्ने कहिल्यै सोचमा नै आएन’, फुन्जोले सुनाइन्, ‘कसरी हुन्छ हाम्रा ५०/६० वटा याकलाई कसरी अरूभन्दा छिटो माथि खर्क लैजाने भन्ने नै ध्यान हुन्थ्यो ।’

आफ्ना वस्तुभाउ अरूभन्दा पछि परेको फुन्जोलाई असह्य हुन्थ्यो । तर बुढ्यौलीले छोइसकेका हजुरबुवा दुध दुहुन सक्दैनथे । छिमेकी गोठालालाई बोलाउनुपर्थ्यो । ‘छिमेकीहरूले पनि आफ्नो चौरी दुहेरमात्रै हाम्रोमा आउनुहुन्थ्यो, त्यसो गर्दा चराउन जाँदा हाम्रा चौंरी सधैं लास्टमा हुन्थे’, उनले भनिन्, ‘एकदिन हजुरबुवालाई मैले नै दुहुन्छु भनेर भनें । त्यतिबेला ७ वर्षको थिएँ ।’

त्यसपछि फुन्जोले विस्तारै ५०/६० वटा चौंरी एक्लै दुहुन थालिन् । बिहान सबेरै उठेर अरूभन्दा छिटै आफ्नो काम फत्ते गरिसक्थिन् । ‘मुस्किलले तल गाउँमा वर्षको २/३ महिना बस्थें होला ! नत्र हजुरबुवासँगै माथि बस्ने हो । त्योबेलाको हर्कत सम्झिँदा अहिले रमाइलो लाग्छ’, ३२ वर्षीय फुन्जो भन्छिन् ।

त्यसपछि बाटो बदलिन् …

चुमभ्याली गाउँमा सन् २००८ मा मनास्लु पदयात्रासँग जोडिएपछि फाट्टफुट्ट पर्यटक जान थालेको फुन्जो सुनाउँछिन् । सन् २०१४/१५ देखि पर्यटक बढ्न थालेका थिए । तर त्यही वर्षमा गोरखाकै बारपाकलाई केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गयो, पर्यटक पनि ठप्प भए ।

त्यही वर्ष हेलिकप्टर लङलाइन रेस्क्यूको जागिर खान थालिन् । त्यही बेला हो उनी पहिलो पटक सगरमाथा बेसक्याम्प पुगेको ।

कुनै पनि हिमाल नचढेर उनी एकैचोटि सगरमाथा आँटेकी थिइन्, तर बेसक्याम्पबाटै फर्किनु पर्‍यो । त्यसपछि फुन्जो फेरि नियमित काममा फर्किइन् ।

उनको फुर्तिलो ज्यान, जाँगर र देखेर सबै दंग पर्थे । त्यहीबेला उनलाई कम्पनीकै एकजना दाइले सुझाव दिए, ‘तिम्रो फिजिकल फिटनेस पनि राम्रो छ । बरु गाइडिङ गर, त्यसमा राम्रो गर्न सक्छौ ।’

फुन्जोलाई केवल ‘अर्थ’सँग सरोकार थियो । सोधिन्, ‘कति पैसा पाउँछु ?’

ती दाइले नेपालमा पर्वतीय क्षेत्रमा काम गर्ने महिला गाइडको संख्या कम भएको र अहिले समय लगानी गरे भविष्यमा राम्रो प्रतिफल आउने सुझाव दिएका थिए । ‘त्यसपछि मैले पनि यही क्षेत्र रोजें’ भन्छिन् ।

बालापनमा हिमाली क्षेत्रमा चौंरीलाई ‘गाइड’ गरेकी उनी पर्वतीय पदयात्रीहरूलाई ‘गाइड’ गर्न लागिन्।

गाइड गर्ने क्रममा उनले अमेरिकाको डेनाली, चोयु, आमादब्लम, मनास्लुलगायत हिमालको सफल आरोहण गरिन् ।

अनि २०१८ मा सगरमाथा आरोहण गरिन्, त्यो पनि कीर्तिमानका साथ । यो ६ वर्षको अवधिमा सगरमाथामा थुप्रै परिवर्तन भइसकेको फुन्जोको व्यक्तिगत अनभुव छ । हिमालमा हिउँ कम पर्दा कालापत्थरमा परिणत हुँदै गएको छ भने हिमनदीको बहाव बढेको आफूले पाएको उनी बताउँछिन् ।

‘माथिबाट हिमपहिरो आउला भन्ने डर छैन, टेकेको जमिन पग्लिएर कोल्याप्स हुन्छ कि भन्ने मात्रै हो’, उनले भनिन् । सगरमाथालाई अर्को पुस्ताका लागि सुरक्षित राख्नुपर्ने फुन्जोको सुझाव छ । ‘क्लाइमेट चेन्जको टेन्सन लिएर बस्नुभन्दा बेलैमा आफैं केही गर्न जरुरी छ’, उनले भनिन् ।

अब हिमाल चढ्न नजा है !

हिमाल चढ्नुअघि फुन्जो परिवारलाई खबर गर्दिनन् । जब आरोहण गरेर फर्किन्छिन्, तबमात्रै जानकारी दिन्छिन् । यसपटक पनि सगरमाथा चढ्नुअघि दाजुलाई कुनै खबर गरेकी थिइनन् । ‘हिमाल चढ्नेले भन्दा आफ्नो मान्छेले बढी तनाव लिँदो रहेछ । घरको अभिभावक भएकाले दाइले चिन्ता लिनु स्वभाविक होला ! त्यही भएर उहाँलाई केही नभनी चढ्छु’, उनले भनिन् ।

तर विश्व कीर्तिमान बनाइसकेकाले उनले खबर गर्नुअघि नै परिवारले थाहा पाइसकेको थियो ।

हिमाल चढेर फर्किइसकेपछि उनलाई आफन्त र गाउँहरु खादामालासहित स्वागत गर्छन् । अनि कानमा खसुक्क सुझाव दिन्छन्, ‘सगरमाथा पनि चढिसकिस्, अब हिमाल चढ्न न जा है !’

आफन्त र गाउँलेको डर फुन्जो राम्रैसँग महसुस गर्न सक्छिन् । किनकी सगरमाथा आरोहणमा प्रत्येक पाइलामा जोखिम हुन्छ ।

‘सगरमाथाको टुप्पोमा पुग्नु त आधा बाटोमात्रै हो । बेस क्याम्पदेखि बेस क्याम्पसम्म सुरक्षित यात्रा गर्न सकिएन भने त्यो यात्रा सफल हुँदैन’, उनले आफ्नो अनुभव सुनाइन्, ‘हिमाल चढ्नु जत्तिकै गाह्रो ओर्लिंदा पनि हुन्छ ।’

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?