+

आफ्नै सामर्थ्यमा १० औं राष्ट्रिय खेलकुद गर्दै कर्णाली

२०८१ जेठ  १४ गते १८:२७ २०८१ जेठ १४ गते १८:२७

धेरैले नपत्याएको कर्णाली प्रदेशले आफ्नै लगानीमा १० औं राष्ट्रिय खेलकुद परिषद्को लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुर्‍याएको छ ।

आफ्नै सामर्थ्यमा १० औं राष्ट्रिय खेलकुद गर्दै कर्णाली

१४ जेठ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा सम्पन्न भएसँगै १० औं खेलकुदका लागि कर्णाली प्रदेशलाई आयोजक झण्डा हस्तान्तरण भएको थियो ।

झण्डा हस्तान्तरण हुँदै गर्दा धेरैले आशंका गरेका थिए– ‘कर्णाली प्रदेशले नेपालको ‘खेलकुद महाकुम्भ’ कसरी आयोजना गर्ला !’

गण्डकीबाट कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले झण्डा लिए । धेरैको शंका–उपशंका चिर्ने जिम्मा पनि झण्डासँगै बोके । अनि सुरु भयो कर्णालीमा १० औं राष्ट्रिय खेलकुदको तयारी ।

२०७८ मंसिर २० गते कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश रंगशालाको शिलान्यास गरेका थिए । यही रंगशालामा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । ९ विघा क्षेत्रफलमा फैलिएको रंगशाला परिसरमा ८ वटा संरचना तयार हुँदैछन् ।

नवौं खेलकुद सम्पन्न हुनुअघि नै कर्णाली प्रदेश सरकार र कर्णाली खेलकुद परिषद् मिलेर पूर्वाधार निमार्णको काम थालनी गरिसकेका थिए ।

२९ महिनाको अवधिमा रंगशाला परिसरमा ८ वटा संरचनामा १६ वटा खेल खेलाउन मिल्ने गरी तयार गरिएको सदस्य सचिव विश्वमित्र सन्ज्यालले जानकारी दिए । ‘तालिका मिलाएर १६ वटा खेल गराउन सक्ने भएका छौं । परिसरभित्र एउटा खेलाडी आवास भवनसमेत हामीले तयार गरेका छौं,’ उनले भने ।

१० औं राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुनेछ । यसको उद्घाटन सुर्खेतको वीरेन्द्रनगरमा गरिने छ ।

प्रदेश खेलकुद परिषद् खेलको महाकुम्भ मानिने राष्ट्रिय खेलकुदको तयारीमा जुटेको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप)का पूर्वइन्जिनियर समेत रहेका कर्णाली प्रदेशका सदस्य सचिव सन्ज्याल तयारीमा सबैभन्दा बढी खटिने पदाधिकारीमा पर्छन् ।

आफ्नो दक्षता र प्रदेश सरकारको आर्थिक सहयोगले गर्दा काममा भने खासै व्यवधान खेप्नु नपरेको उनले बताए । सन्ज्यालले भने, ‘मसँग खेलकुद पूर्वाधारमा लामो समय काम गरेको अनुभव रहेको हुनाले र सबै तहका सरकारले सहयोग गरेका कारणले काम गर्न सहज भएको छ ।’

कर्णाली प्रदेश खेलकुद परिषद् सुर्खेत बाहिर पनि केही खेल खेलाउने योजनामा छ । जसमा भलिबल र मार्सल आर्टका केही खेल हुनेछन् । ‘हामी बसोबास र पूर्वाधार भएको स्थानमा मार्सल आर्ट र भलिबल अन्य जिल्लामा लगेर गर्ने तयारीमा रहेका छौं,’ सन्ज्यालले भने ।

दैलेख, कालिकोट, रुकुम पश्चिम र जाजरकोटमा कभर्ड हल रहेका छन् । जसलाई मर्मत गरेर १० औं राष्ट्रिय खेलकुदको प्रयोगमा ल्याउने परिषद्को तयारी छ । सन्ज्याल भन्छन् ‘सुर्खेतमा मात्रै व्यवस्थापनमा समस्या हुन सक्छ । त्यसैले बाहिरी जिल्लामा पनि केही खेल खेलाउने तयारीमा छौं ।’

७५ प्रतिशत भौतिक प्रगति

कर्णाली रंगाशाला परिसरमा ८ वटा नयाँ पूर्वाधार १० औं खेलकुदकै लागि लक्षित गरेर बनाइँदै छ । जसको लागि १ अर्ब ५९ करोड ४७ लाख बजेट दिइएको छ । यो सम्पूर्ण बजेट प्रदेश सरकारले नै दिएको हो । कर्णालीले रंगशालालाई प्रदेश गौरवको आयोजनामा समेत राखेर पूर्वाधार निर्माणमा लागेको छ ।

१० औं खेलकुदको तयारीका लागि संघीय सरकारले आर्थिक वर्ष २०७९/८० मा १ करोड ५० लाख रुपैयाँ दिएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय खेलकुद परिषद्‌लाई ३ करोड ५० लाख दिएको छ । त्यस्तै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना पनि कर्णालीमा नै हुने भएकाले १० करोड बजेट थप पनि गरिएको छ ।

खेलकुद परिषद्ले आागामी आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय खेलकुद सञ्चालनका लागि ६० करोड बजेट माग गरेको छ ।

रंगशाला निर्माणका लागि एमएसी/जीएसएल जोइन्ट भेञ्चर काठमाडौंले ठेक्का लिएको छ । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको कर्णाली खेलकुद परिषद्ले जनाएको छ । जसको लागि ९० करोड रुपैयाँ खर्च भएको छ ।

यो महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर सुर्खेत नजिकैका बाजुरा, जाजरकोट लगायत जिल्लामा गएको भूकम्पले निर्माण प्रभावित भएको सदस्य सचिव सन्ज्यालले बताए । उनले भने, ‘भूकम्पका कारण केही प्रभावित भयो तर असार मसान्तसम्म पूर्वाधार निर्माण सकिन्छ ।’

केके बन्दैछ?

कर्णाली प्रदेश रंगशाला १० हजार दर्शक क्षमताको हुनेछ । यसभित्र इन्टरनेसनल एथ्लेटिक्स फाउन्डेसन (आईएएफ) स्ट्यान्डर्डको सेन्थेटिक ट्रयाक बन्दैछ । यसको छेउमै पौडी पोखरी हुनेछ । पौडी पोखरीमा तत्काल चिसो पानी मात्रै हुनेछ । पछि तातो पानीको व्यवस्था गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । जुन पौडीको अन्तर्राष्ट्रिय संघ वल्र्ड एक्वेटिक्स (डब्ल्युए) को मापदण्ड अनुसार नै बन्ने छ ।

रंगशाला परिसरमा मार्सल आर्ट, कर्भड हल, ब्याडमिन्टन कभर्ड हल, ह्यान्डबल कोर्ट, बास्केट बल कोर्ट र भलिबल कर्भड हल हुनेछन् । भलिबल कभर्ड हलमा ३ हजार दर्शक क्षमताको हल हुनेछ ।

रंगशालाको माथिल्लो भागमा दुईवटा क्रिकेट मैदान बनिरहेको छ । रंगशालाको मुख्य मैदानसँगै ३ तले खेलाडी आवासका लागि बनाइएको भवन पनि बनिरहेको छ ।

पूर्वाधारको दीर्घकालीन प्रयोग कसरी ?

प्रायः नेपालमा बनेका पूर्वाधारहरू केही समय मात्रै प्रयोगमा आउँछन् । सामान्य बिग्रियो, भत्कियो भने त्यो मर्मत सम्भार हुँदैन भन्दा फरक पर्दैन । यसमा झन् खेलकुदका कार्यक्रम नियमित नहुँदा यससँग सम्बन्धित पूर्वाधारको उपयोग झनै हुँदैन । यसको उदाहरण काठमाडौंको दशरथ रंगशाला परिसरको पौडी पोखरी हो । पौडी पोखरी प्रयोगमा नभएपछि यही ठाउँमा स्पोर्टस् सेन्टर बन्ने भनिएको छ ।

कर्णाली प्रदेशका सदस्य सचिव सन्ज्यालले भने यस विषयमा गल्ती नदोहोर्‍याउने गरी काम गर्ने दाबी गर्छन् । ९ विघा क्षेत्रफलमा फैलिएको रंगशालाको बाहिरी भागमा ४० वटा सटर निर्माण गरिएको छ । यी सटर भाडामा लगाई यसबाट उठेको रकम रंगशाला संरक्षण, नियमति खेलकुद कार्यक्रम र मर्मतको लागि प्रयोग हुने उनले बताए ।

सन्ज्यालले भने, ‘हामीले रंगशाला परिसरमा सटर निर्माण गरेका छौं । जसको आम्दानीले दीर्घकालीन रूपमा रंगशालाको संरक्षणमा मद्दत मिल्ने छ । खेलकुदका कार्यक्रम पनि नियमित हुनेछन् ।’

यससँगै रंगशाला परिसरमा रहेको खेलाडी आवासलाई भाडामा लगाएर पनि आर्थिक लाभ लिन सकिने सन्ज्यालले बताए ।

कर्णाली १० औं राष्ट्रिय खेलकुद
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय