+
+

सुदूरपश्चिममा सभामुख चयन गर्ने आज अन्तिम दिन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते ८:२९

२ माघ, धनगढी । सुदूरपश्चिममा सभामुख र उपसभामुख चयनका लागि संविधानले दिएको समय सीमा आज सकिंदैछ तर अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन ।

प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेका हुन् ।

सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाएको छैन । सभामुख चयनका लागि आज बिहान ९ बजे पुनः प्रदेश सभाको बैठक बोलाइएको छ ।

पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अहिले बिहानैसर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

उनकाअनुसार बैठकमा सभामुख र उपसभामुख चयनका विषयमा छलफल गरेर प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी छ ।

सभामुख चयनका लागि २८ पुसमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भीम भण्डारीले २६ र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए । सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

३० पुसमा भएको पुनः मतदानमा भने दुवै उम्मेदवारले २२/२२ मत पाएका थिए । सत्तारुढ गठबन्धनको निणर्ायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा ३० गते पनि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेको अवस्थामा सोमबारको मतदानले पनि सभामुख चयन गर्न सक्ने छैन । तर उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिइने जानकारी दिए ।

संविधानको धारा १८२ को उपधारा -१) अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । सो अनुसार सभामुख चयन गरिसक्नुपर्ने समय आज सकिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?