
८ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे सत्तारुढ दल नेपाली कांग्रेससँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।
प्रतिनिधि सभा नियमावली अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने अन्तिम दिन हो ।
सोही बाध्यतालाई ख्याल गर्दै सभामुख घिमिरेले विगत केही दिनदेखि निरन्तर छलफल गरिरहेका छन् ।
आजै बिहान पनि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग सभामुख घिमिरेले छलफल गरेका थिए ।
अहिले पुन: उनीहरू सिहंदरबारमा छलफल गरिरहेका छन् । सभामुखको कार्यकक्षमा प्रमुख सचेतक घिमिरेसहित सांसद दिलेन्द्र बडू पनि सभामुख घिमिरेसँग छलफलमा जुटेका हुन् ।
गत शुक्रबार प्रतिनिधि सभाको बैठक लगत्तै सभामुख घिमिरेले नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग एक्लाएक्लै र संयुक्त छलफल गरेका थिए ।
सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकसँग समेत छलफल गरेका थिए ।
यो समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाच्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा संसदीय विषयगत सभापतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने व्यवस्था छ ।
संसदीय विषयगत समितिको सभापतिको पद रिक्त हुन आए १५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान नियमावलीको नियम १७७ को उपनियम ५ मा छ ।
जहाँ भनिएको छ, ‘…समितिको सभापतिको पद रिक्त हुन आएमा रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नु पर्नेछ ।’
यो बाध्यकारी व्यवस्थाको पालना गर्ने हो भने यही भदौ ११ गतेसम्म सभापतिको निर्वाचन भइसक्नुपर्छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन हुने भन्दा ४८ घण्टा अगाडि सूचना निकाल्नुपर्ने प्रावधान प्रतिनिधि सभा नियमावलीमा छ । यसअनुसार आज नै निर्वाचनको तालिका सार्वजनिक गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4