
१९ साउन, काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको उनको आरोप छ ।
उनले भिजिट भिसा प्रकरणका कारण संसदमा रहेको विवाद समाधानका लागि अग्रसर हुन आग्रह गरे ।
‘३० लाख जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले यसको विरोध गर्दा व्यवस्था र संविधान विरोधी भनेर कार्यकारी व्यक्तिबाट अभिव्यक्ति आउनु एकदमै खेदजनक छ । हामी समाधान चाहन्छौं,’ प्रधानले भने, ‘सभामुखज्यूले पनि सहयोगका लागि आवश्यक के के गर्नुपर्ने हो ? गर्नुपर्यो । सरकारपक्षीय भएर सोचिदिनु भएन । त्यसको समाधान निकाल्नको लागि क्षमातावान हुनुहुन्छ सभामुख महोदय, त्यसतर्फ प्रयास गरौँ ।’
भिजिट भिसा आफैंमा समस्या नभई सरकारको नियतमा समस्या रहेको बताउँदै उनले भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिहरूले आवाज उठाउँदा कार्यकारी तहबाट संविधान विरोधी भनेर खारेज गर्न खोजिएकोप्रति पनि आपत्ति जनाए ।
‘समस्या भिजिट भिसाको होइन । समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन् । श्रम मन्त्रालयका विभिन्न संयन्त्रहरुले मानिसलाई विदेशमा पठाउने गरेका छन्,’ उनले भने, ‘जसमा इमिग्रेशन पनि जोडियो जुन गृह मन्त्रालयमातहत रहेको छ । यसमा कमि कमजोरी देखियो ।’
प्रतिक्रिया 4