
२ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक डीआईजीहरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।
२८ पुसमा भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डीआईजीहरुलाई सोमबार निर्देशन दिँदै गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताए ।
विगतमा सरुवालाई सजायको रुपमा लिने गरेको भएता पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न उनले निर्देशन दिए ।
प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण (बायोडाटा) लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले भने, ‘तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुन्छ, त्यसैले जिम्मेवारी निर्वाहमा ध्यान दिनुहोला ।’
प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधकारीहरुलाई सधैं पीडितको पक्षमा खम्बा भएर उभिन उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले आग्रह गरेका छन् ।
कसैको प्रभाव वा दवाबमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रहन उनले डीआईजीहरूलाई भनेका छन् ।
प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरुमा सद्भाव राखेर काम गर्न पनि गृहमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4