+
+

प्रचण्ड क्याबिनेट : जस्तो सरकार, उस्तै मन्त्री

तीन सातापछि मंगलबार १५ मन्त्री नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डले अधिकतम नयाँ अनुहार समेटेका छन् । २३ सदस्यीय मन्त्रिपरिषदमा १६ जना पहिलोपटक मन्त्री भए । दुई तिहाइ मन्त्री युवा र नयाँ अनुहार बनाएर प्रधानमन्त्री प्रचण्डले अलग सन्देशसहित चुनौती समेत लिएको देखिन्छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ माघ ३ गते २१:२७

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई मन्त्रालय आफैंसँग राखेर मन्त्रिपरिषद विस्तार गरेका छन् । तीन सातापछि मंगलबार १५ मन्त्री नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डले अधिकतम नयाँ अनुहार समेटेका छन् ।

२३ सदस्यीय मन्त्रिपरिषदमा १६ जना पहिलोपटक मन्त्री भए । दुई तिहाइ मन्त्री युवा र नयाँ अनुहार बनाएर प्रधानमन्त्री प्रचण्डले अलग सन्देशसहित चुनौती समेत लिएको देखिन्छ ।

चारमध्ये दुई उपप्रधानमन्त्री नै नयाँ अनुहार हुन् । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अनुभवी नेता हुन् । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक मन्त्री भएका हुन् । दुवैले उपप्रधानमन्त्रीको वरियता पाएका छन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका सुदन किराँती, अमनलाल मोदी र सुशीला श्रीर्पाली ठकुरी पहिलोपटक मन्त्री बने । सुदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, अमनलाल संघीय मामला तथा सामान्य प्रशासन र सुशीला पर्यटन राज्यमन्त्री बनेका छन् ।

सूचनाप्रविधि तथा सञ्चारमन्त्री बनेकी रेखा शर्मा भने यसअघि सामान्य प्रशासन मन्त्री भइसकेका छन् ।

एमालेबाट मन्त्री बनेकाहरु पनि धेरै नयाँ अनुहार छन् । उद्योग मन्त्री बनेका दामोदर भण्डारी, कृषि बनेका ज्वाला साह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी भगवती चौधरीसँग यसअघि पनि मन्त्री बनेको अनुभव छ ।

तर परराष्ट्रमन्त्री विमला राई पौडेल, रक्षामन्त्री हरि उप्रेती, स्वास्थ्यमन्त्री पदम गिरी र भूमि व्यवस्था मन्त्री राजेन्द्र राई पहिलोपटक मन्त्री बनेका हुन् ।

राप्रपाबाट मन्त्री बन्नेमा शहरी विकास मन्त्री विक्रम पाण्डे यसअघि पनि सरकारमा गएका थिए । बाँकी मन्त्रीहरु नयाँ अनुहार हुन् । कानुन न्याय तथा संसदीय मामला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपक सिंह पहिलोपटक सांसद जितेर मन्त्री भएका हुन् ।

रास्वपाका त सबै मन्त्री नयाँ अनुहार र अनुभव नभएका छन् । शिक्षा मन्त्री शिशिर खनाल, श्रम तथा रोजगार मन्त्री डीपी अर्याल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले यसैपटक चुनाव जितेका हुन् । जनमत पार्टीबाट खानेपानी मन्त्री भएका अब्दुल खानको पनि यो पहिलो सिंहदरबारको अनुभव हो ।

समावेशी हिसाबमा प्रधानमन्त्री नेतृत्वको मन्त्रिपरिषदमा ५ जना महिला मन्त्री बनेका छन् भने १२ जना खसआर्यबाट छन् । दलित समुदायबाट भने तुलनात्मक कमजोर उपस्थिति छ । राज्यमन्त्री सुशीला श्रीर्पाली ठकुरी मन्त्रिपरिषदमा एक्लो सदस्य हुन् ।

केही स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा आएका छन् भने केहीले विषय विज्ञता बमोजिम जिम्मेवारी पाएका छन् । निर्माण व्यवसायी विक्रम पाण्डे शहरी विकास र म्यानपावर व्यवसायी समेत रहेका डोलप्रसाद अर्याल श्रममन्त्री भएका छन् ।

शिक्षा क्षेत्रको सुधारमा लागेका शिशिर खनाल शिक्षामन्त्री बनेका छन् । सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी २०७४ बाट टिच फर नेपालमार्फत सक्रिय थिए । चिकित्सा क्षेत्र सुधारको अभियन्ता डा.तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्याल, एमालेबाट परराष्ट्रमन्त्री बनेकी छन् । उनीसँग राष्ट्रिय योजना आयोगको सदस्य र राष्ट्रपतिको विकास मामिला विज्ञको रुपमा काम गरेको अनुभव छ । ‘मन्त्रालयसँग सम्बन्धित स्टेकहोल्डरहरुसित संवाद गर्ने, विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा मुलुकको प्रतिनिधित्व गर्न सक्ने पात्रहरुको खोजी गर्दा उहाँको नाम तय भयो’, एमाले नेता डा. राजन भट्टराई भन्छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयकै नेतृत्व पाएका छन् । ७४ वर्षीय प्रधान ३० वर्ष नेपाल प्रहरी थिए ।

तर युवा र नयाँ अनुहारको उपस्थितिजस्तै सरकार सञ्चालनमा पनि प्रधानमन्त्री प्रचण्डले अलग–अलग प्रतिबद्धता जनाएका र विचारधारालाई सँगै लिएर हिंड्नुपर्ने चुनौती छ । एमाले र माओवादी बीच लगभग धेरै समानता भए पनि बाँकी दलहरु रास्वपा, राप्रपा र जनमत पार्टी फरक पृष्ठभूमिबाट आएका शक्ति हुन् ।

राप्रपाका मन्त्रीहरुले शपथ तथा पदभारकै क्रममा आफ्नो परिचय दिइसकेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा शपथ लिएपछि पशुपतिनाथ पुग्नु राष्ट्रिय राजनीतिकै निम्ति नौलो दृश्य बन्यो । उपप्रधानमन्त्री लिङ्देनले मन्त्रालयमै पण्डित लगेर मन्त्रोच्चारण गर्न लगाएका थिए ।

शहरी विकास मन्त्री पाण्डेले कुर्सीकै अगाडि पृथ्वीनारायण शाहको तस्वीर राख्न लगाएका छन् । रुद्राक्ष लगाएर पशुपतिबाट फर्किएका मन्त्री पाण्डेले पनि मन्त्र वाचन गरेर पदभार ग्रहण गरे । जबकि यी सबै मन्त्रीहरुले धर्मनिरपेक्ष गणतन्त्र नेपालको संविधान अनुसार शपथ लिएका हुन् । अझ पृथ्वीनारायण शाहको तस्वीर राजतन्त्रको अन्त्यसँगै सरकारी कार्यालयहरुबाट हटाइएको थियो । त्यसको नेतृत्व आफूले गरेको प्रचण्डले दाबी गर्दै आएका छन् ।

अप्रत्यासित मत पाउँदै राष्ट्रिय राजनीतिमा आएको रास्वपाका मन्त्रीहरुलाई सम्हालेर हिंड्नु पनि प्रधानमन्त्री प्रचण्डलाई सजिलो छैन । जनमत पार्टीको एजेण्डा अरु मधेश केन्द्रित विषयमा बढी छ । दुई मन्त्रालयमा दाबी गर्दै आएको उसले एक मात्र पाएको छ र, त्यसमा पनि उद्योगको सट्टा खानेपानी दिएपछि मन्त्री अब्दुल खानले मंगलबार मन्त्रालय गएर पदभार नै सम्हालेनन् ।

राजनीतिक विश्लेषक लोकराज बराल, भिन्न पृष्ठभूमिबाट आएका दलहरु सरकारमा हुँदा प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो हुनु स्वाभाविक भएको बताउँछन् । ‘यो मन्त्रिपरिषद खिचडी हुने नै भयो । विभिन्न ब्याकग्राउण्डबाट आएकाहरु छन्’ बराल थप्छन्, ‘मन्त्रिपरिषद नै प्रधानमन्त्रीको मुख्य चुनौती हो । गृह र रक्षासहित मुख्य मन्त्रालय अर्कोको हातमा हुने अवस्थामा काम गर्नै गाह्रो हुन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?