४ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यू–१७ महिला राष्ट्रिय टिम बनाउनका लागि देशभरका जिल्ला फुटबल संघमार्फत खेलाडी पहिचान गरी छनोट प्रतियोगिता सन्चालन गर्ने भएको छ ।
आगामी चैत ६ देखि १४ गतेसम्म बंगलादेशमा साफ यू–१७ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । सो प्रतियोगितामा सहभागी हुने नेपाली टिम निर्माण गर्न माघ १५ देखि २० गतेसम्म दुई चरणको छनोट प्रतियोगिता सन्चालन हुने एन्फाले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।
माघ १२ देखि १५ सम्म पहिलो चरण र १६ देखि २० सम्म दोस्रो चरणको छनोट कार्यक्रमका लागि आआफ्नो जिल्लाबाट यू–१७ खेलाडीहरु उपलब्ध गराउन एन्फाले आवद्ध जिल्ला संघहरुलाई अनुरोध गरेको छ ।
यू–१७ राष्ट्रिय टिमका लागि भगवती रानामगरले प्रशिक्षण संहाल्नेछिन् । एन्फाले आवद्ध जिल्ला संघहरुलाई प्रशिक्षक रानासँग सम्पर्क गर्न भनेको छ । २०६३ पुस १७ देखि २०६६ पुस १६ गतेभित्र जन्मिएका खेलाडीले मात्र छनोट प्रतियोगिता खेल्न पाउनेछन् । उनीहरुले नावालक परिचयपत्र वा नागरिकता वा पासपोर्ट अनिवार्य ल्याउनुपर्नेछ ।
प्रतिक्रिया 4