+
+

कांग्रेस पनि आओस्, सरकार चलाओस् : बाबुराम भट्टराई (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते २०:४८

४ माघ, काठमाडौं । नयाँ नेपाल बनाउने भन्थे डा. बाबुराम भट्टराई । अहिले त त्यो शब्दै बिर्सन लागिसकेको हुनुपर्छ उनले र उनको पुस्ताका नेताहरुले । उनको नयाँ शक्ति पनि यस्तै भयो । विकल्पको बहसले त बहसकै विकल्प माग गर्‍यो ।

त्यसैले हामीले सोध्यौं– अब तपाईंका कुरा युवाहरुले किन सुन्ने ? यसको जवाफ तलको अन्तर्वार्तामा छैन । तर पाठक तथा दर्शकले भिडियो लिंकमा हेर्न सक्नुहुन्छ ।

अनलाइनखबरको न्यूजरुममा बोलाएर भट्टराईसँग केही दैनन्दिन राजनीतिका पात्र, प्रसंग उठाइयो । केही भने दूरगामी महत्वका प्रश्नहरु सोधियो । उनी किन आफ्ना पहलकदमीहरु प्रचण्डको साथ लगाएर आफू नेपथ्यमा बस्न खोज्दैछन् भन्ने अन्तर्यमा हामी जान चाह्यौं ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईसँग अनलाइनखबरका बसन्त बस्नेतले लिएको अन्तर्वार्ताको अंश ।

यसपालिको भागबन्डामा सबैले धेरथोर पाए । कांग्रेसले पनि धन्यवाद पायो । तपाईंले चाहिं के पाउनुभो ?

मैले माया, सद्भाव, विश्वास पाएँ । त्यही काफी छ ।

त्यत्तिले तपाईंलाई पुग्छ र भन्या ?

सुगौली सन्धियताको सबैभन्दा ठूलो परिघटना हो माओवादी जनयुद्ध । प्रचण्ड र बाबुराम त्यसका सहयात्री । अहिले यसका उपलब्धि लडखडाएका बेला प्रचण्डलाई साथ दिउँ भन्दै म नि:शर्त आएँ ।

प्रचण्डलाई साथ दिनु नै थियो भने उहाँलाई छाडेर सात वर्ष किन सबैतिर फन्को मार्नुभएको ?

प्रचण्डलाई मैले छाडेको पनि होइन । समातेको पनि होइन । नयाँ संश्लेषणसहित समाजवादी यात्रा गरौं भनेर मैले प्रस्ताव गरेको हो । अहिले सबै साथीहरुलाई मनाउन गाह्रो हुने भए पनि म हिँड्दै गर्छु, साथीहरु आउँदै गर्नुहोला भनेर म हिंडेको थिएँ । तर यो सात वर्षमा के थाहा भयो भने समस्या अझै पनि संरचनामै छ । त्यसैले सबैजना एक भएर अघि बढ्दा समाधान होला भनेर आएको हुँ ।

प्रचण्डलाई छाडेर यात्रा गर्दा कत्तिको सहज हुँदो रहेछ ?

होइन, होइन । म अघि बढेको हो । अघि बढ्ने मान्छे एक्लै हिंड्छ कहिलेकाहीं । संविधान जारी भएपछि मैले गिलास आधा भरि, आधा खाली छ भनेको थिएँ । अहिले त भएको आधा पनि घोप्टेला जस्तो भयो । त्यसैले मैले पर्खँदै अघि बढ्ने निर्णय गरें ।

राजेन्द्र लिङ्देनदेखि सीके राउत, रवि लामिछानेसम्मले प्रचण्डलाई साथ दिने भएपछि अब गिलास भरिने भयो ?

राजेन्द्र लिङ्देन त भएको आधा गिलास पनि घोप्ट्याउने पक्षको हो । संघीयता गणतन्त्र समावेशिता, धर्मनिरपेक्षता भत्काउने पक्षमा हो उहाँ । त्यसैले उहाँलाई यसमा नजोडौं । रवि लामिछाने, सीके राउत चाहिं शंकाको लाभ दिन सकिने पात्रहरु हुन् । नयाँ गरौं भन्ने हुटहुटी छ उहाँहरुमा । त्यो नयाँ के हो भन्ने चैं प्रष्ट छैन ।

त्यही शंकाको लाभ चाहिं लिङ्देनले नपाउने ?

उहाँलाई म सम्मान गर्छु । प्रतिगामी सोचलाई निर्लज्जतापूर्वक अघि सार्न सक्ने पात्र कमै पाइन्छन् । किनभने पश्चगामी हो उहाँ ।

प्रचण्डलाई नै नेता मानेर विश्वासको मत दिइसकेपछि अब लिङ्देनसँग के को डर ?

विडम्बना, यो सबै सत्ताका लागि हो । एउटा गोरु छेउतिर, अर्को गोरु कुनातिर लागेपछि हल बनाएर नार्दैमा हुन्छ ? पञ्चलाई बोक्ने हुँदा हिजो बहुदल बिग्रियो । अहिले गणतन्त्रमा आइसक्दा पनि पुराना पञ्च र राजावादी बोकेर हामी हिँड्छौं भने राम्रो परिणाम आउँदैन ।

देशका संरचनात्मक समस्या हल भएका छैनन् । गणतान्त्रिक संविधान जारी गरे पनि शान्ति प्रक्रियाका काम बाँकी छन् । मेलमिलाप, द्वन्द्वपीडितका चहराएका घाउमा मलम लागेको छैन, भूराजनीतिक जटिलता हल भएको छैन । एक्लै हिँडेर होइन, सामूहिक वुद्धि लगाएर अघि बढ्ने कुरा गर्नुपर्‍यो ।

हिजो बालुवाटारको सर्वदलीय बैठकले हामी सहमतितिर गइरहेको जनाउँछ कि ध्रुवीकरणमा जाँदैछौं भन्ने देखायो ?

नजिक आइरहेका छौं । मेरो पार्टी र म भएपछि जादुको छडी देखाइदिन्छौं भन्ने सुरु–सुरुमा सबैलाई परेको छ । तर भूराजनीतिक परिदृश्य, अनि आर्थिक संकटहरुको वास्तविक अवस्था देखाइसकेपछि फरक रियलाइजेशन भयो । आर्थिक रुपमा बलियो हुनैपर्छ भन्ने कुरा मैले राखें ।

१०–१२ वर्षअघि सम्म यही कुरा तपाईंले राख्दा मान्छेहरु कस्तो आशावादी नजरले हेर्थे । हिजोआज आफ्नो सार्वजनिक साख खस्केको जस्तो लाग्दैन ?

आर्थिक विपन्नताको अभिव्यक्ति समाजका अरु सबै क्षेत्रमा हुन्छ । त्यसपछि समाज पूजामा लाग्छ । समाजले पहिले प्रकृति पूजा गर्थ्यो । पछि राजामहाराजा, व्यक्तिको पूजामा लाग्यो । देवत्वकरणमा लाग्यो समाज ।

त्यस्तो पूजा त विगतमा तपाईंकै पनि भयो नि ?

हो, पछि दानवीकरण पनि भयो । संरचनात्मक हल हुनुपर्छ भन्ने चेत जुन उचाइबाट आउनुपर्ने हो, त्यसरी नआउँदा यस्तो हुन्छ । व्यक्तिमा लागेर हुँदैन । सोचेजस्तो नपाएपछि सरापेर केही हुँदैन । अगुवा मान्छेहरुले देवत्वकरणमा हौसिनुभएन, दानवीकरणमा पनि खिस्रिक्क पर्नुभएन ।

तपाईंले यो सल्लाह रवि लामिछाने, राजेन्द्र लिङ्देनहरुलाई दिनुभएको हो ?

होइन, मैले जनतालाई भनेको हुँ । जस्तो जनता, त्यस्तै नेता । जनतामा जुन किसिमको चेत छ, त्यस्तो हुनुको कारण हामी पनि हौं ।

प्रचण्ड तेस्रोपल्ट प्रधानमन्त्री बन्नुभएको छ, उहाँले यस्तो कुरा बुझ्नुभएको छ त ?

अहिले हाम्रो गम्भीर कुरा भएको छ । हाम्रो पुस्ताको लागि यो अन्तिम अवसर हो । यही पुस्ताले नेपालमा परिवर्तन ल्यायो ।

तर आर्थिक सामाजिक रुपान्तरण बाँकी छ । यसमा काम गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । अहिले पालैपालो काम गर्नुपर्छ । कांग्रेस पनि यसमा आउनुपर्‍यो । उसले पनि सरकार चलाओस् ।

जित्ने हार्ने सबैले मिलेर पालैपालो खाने भए चुनाव किन गर्नुपर्‍यो ?

त्यसैले मैले प्रणाली सुधार गरौं भनेको । अहिलेकै तालले दुई तिहाइ कसैको आउँदैन । त्यसपछि सुधार हुँदैन । यो संकट हामीले बेलैमा देख्नुपर्छ ।

संविधान तपाईंहरुले बनाएको हो । अनि यो प्रणालीले काम गर्न सक्दैन भन्ने बुझी बुझी किन यता लाग्नुभो ?

त्यसैले त मैले भनेको भन्यै छु । आधा गिलास भरी, आधा खाली । त्यति खेर सम्झौता गर्दा गल्ती भएको छ । त्यो त्रुटि सच्याउनुपर्छ भनेको हुँ । सबै मिलेर जाने हो भने त्यो सच्याउन सकिन्छ । सभामुखमा त सहमति भएन, राष्ट्रपति, उपराष्ट्रपतिलगायतमा अझै पनि सहमति जुटाउन सकिन्छ भने त्यसमा लागौं । नत्र देशको संकट पार लगाउन नसकिने हुँदै जान्छ ।

हेर्नुहोस् अन्तर्वार्ता

भिडियो/तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?