+
+

आज सभामुखको निर्वाचन हुँदै, एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ८:२१

५ माघ, काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दशकपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्मत सभामुख चयन भएको नजिर छ ।

यसपटक एमाले सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् ।

एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए ।

सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका चार दलको मत नै देवराजलाई काफी हुने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ ।

यसअघि सरकारलाई समर्थन गरेका जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी भने अहिले केही असन्तुष्ट देखिएका छन् । उनीहरूले सभामुखबारे कुनै निर्णय गरिसकेका छैनन् ।

यता कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ भने एकीकृत समाजवादीको १० मत रहेको छ । यो जोड्दा उनको बहुमत पुग्दैन । बाँकी दलहरू लोकतान्त्रिक समाजवादी, नेमकिपा र जनमोर्चाले पनि निर्णय गरिसकेका छैनन् । यदि उनीहरूले पनि मत हालेको खण्डमा पनि न्यौपानेको बहुमत पुग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?