+
+

मूल्यवान् धातुले भरिएको क्षुद्रग्रह, बराबर बाँडे सबै मानिस बन्न सक्छन् खर्बपति

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १७:२२

अन्तरीक्षमा एउटा यस्तो क्षुद्रग्रह घुमिरहेको छ, जसको मूल्य यति धेरै हुन्छ कि त्यो गणना गर्न पनि गाह्रो पर्छ ।

मूल्यवान् धातुले भरिएको उक्त क्षुद्रग्रहमा रहेको धातुको कुल मूल्य सात सय करोड खर्ब डलर बराबर रहेको मानिन्छ । यो रकम विश्वका मानिसलाई बराबर बाँड्ने हो भने एक जनाको भागमा साढे ८७ करोड डलर अर्थात् १ खर्ब १५ अर्ब रुपैयाँ पर्छ ।

सायद यो समाचार पढिरहँदा तपाईं आफ्नो भागमा एक खर्ब रुपैयाँ पर्ने भयो भनेर मक्ख हुनुहुन्छ होला । तर दुःखको कुरा अमेरिकी अन्तरीक्ष संस्थाले उक्त क्षुद्रग्रहको धातु बेचेर तपाईं हामीलाई रकम बाँड्ने कुनै योजना बनाएको छैन । तथापि उक्त क्षुद्रग्रहको अन्वेषण गर्ने योजना भने नासाले अवश्य बनाइरहेको छ ।

आखिर त्यो बहुमूल्य क्षुद्रग्रह कुन हो र नासाका लागि यो किन विशेष छ ? अनि किन नासाले त्यो क्षुद्रग्रहमा पुग्न यति धेरै मेहनत गरिरहेको छ ?

उक्त क्षुद्रग्रहको नाम १६ साइकी हो । यो क्षुद्रग्रहलाई सन् १८५२ मा इटालीका खगोलशास्त्री एनिबेल डी ग्यास्परिसले पत्ता लगाएका थिए । उक्त क्षुद्रग्रहका विषयमा अझै धेरै खोज अनुसन्धान गर्नका लागि नासाले त्यो क्षुद्रग्रहसम्म पुग्ने योजना बनाइरहेको हो ।

यो क्षुद्रग्रह २२६ किलोमिटर चौडा छ र निकेल तथा सिलिकाबाट बनेको छ । नासाले यो क्षुद्रग्रहसम्म पुग्नका लागि गत अगष्टमा साइकी यान प्रक्षेपण गर्ने योजना बनाएको थियो । तर प्राविधिक समस्याहरुका कारण यान प्रक्षेपण हुन सकेन । अन्ततः आगामी १० अक्टोबर २०२३ मा साइकी क्षुद्रग्रहमा उक्त यान प्रक्षेपण गर्ने निर्णय नासाले गरेको छ । उक्त यान सन् २०२९ मा क्षुद्रग्रहको सतहमा पुग्नेछ ।

यो क्षुद्रग्रहको बहुमूल्य स्वरुपलाई ध्यानमा राख्दै अन्तरीक्षमा उत्खनन् गर्ने पूर्वाधार निर्माण गरिरहेका कतिपय कम्पनीहरुले रुचि देखाउन थालेका छन् । युरोसन माइनिङ जस्ता कम्पनीहरुले अन्तरीक्ष अर्थतन्त्रतर्फ रुचि लिइरहेका छन् । मर्गन स्टेनलीका अनुसार आज अन्तरीक्ष अर्थतन्त्र ३५ हजार करोड डलरको छ, जुन सन् २०४० सम्म बढेर २.७ ट्रिलियन डलर पुग्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?