+
+

सुदूरपश्चिम टिम प्रधानमन्त्री कप महिला टी-२० को फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १३:१७
सुदूरपश्चिमलाई जिताउन अलराउन्ड प्रदर्शन गरेकी विन्दू रावल प्लेयर अफ द म्याचको ट्रफी लिँदै । तस्वीरः क्यान

६ माघ, काठमाडौं । मधेश प्रदेशमाथि ११४ रनको प्रभावशाली जित निकाल्दै सुदूरपश्चिम टिम प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ ।

इटहरीको जनता मावि मैदानमा शुक्रबार विहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रनको विशाल योगफल खडा गरेको थियो । प्रतियोगितामा अहिलेसम्म कुनै पनि टिमले बनाएको यो सबैभन्दा ठूलो योगफल हो ।

सुदूरपश्चिमका ओपनरद्वय कप्तान विन्दू रावल र कविता कुँवरले १२८ रनको साझेदारी गरेका थिए । यो प्रतियोगिताकै सर्वाधिक ओपनिङ साझेदारी हो । ५४ बलमा १२ चौका र १ छक्कासहित ७० रन बनाएर कविता आउट भएपछि आएकी कविता जोशीसँग मिलेर कप्तान विन्दूले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरिन् ।

अविजित रहेकी विन्दूले ५२ बलमा ९ चौकासहित ६० रन बनाइन् । इनिङ्सको अन्तिम बलमा आउट हुनुअघि कविता जोशीले १५ बलमा ४ चौका र २ छक्कासहित विष्फोट ३२ रनको पारी खेलिन् । सुदूरपश्चिमले १८ अतिरिक्त रन पाएको थियो । बलिङमा मधेशकी साना प्रविण र भूमी सिंहले १–१ विकेट लिए ।

जवाफमा मधेशले ८ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो । उसका लागि एलिशा यादव (१४ रन), सीमा कुँवर (१६ रन) र प्रतिमा साह (१९ रन)बाहेक अन्यले दोेहोरो अंकको स्कोर गर्न सकेनन् । मधेशका दुई ब्याटर खाता नखोली, दुईजना २ रनमा आउट भएका थिए भने ३ जनाले एकभन्दा बढी रन स्कोर गर्न सकेनन् ।

मधेशलाई सस्तैमा रोक्न सुदूरपश्चिमका मनिषा चौधरी र ऋतु कनोजियाले २–२ विकेट लिए । कविता कुँवर र स्नेहा महराले १–१ विकेट लिए ।

प्रतियोगिताको देस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ र घरेलु टोली प्रदेश १ बीच शुक्रबारै प्रतिस्पर्धा भइरहेको छ । सुदूरपश्चिमले यो खेलको विजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?