+
+

काठमाडौं अवतरण गर्न नसकेको नेपाल एयरलाइन्सको विमान भैरहवा वा पोखरा किन गएन ?

अच्युत पुरी अच्युत पुरी
२०७९ माघ ६ गते १९:४०

६ माघ, काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएसँगै उडान/अवतरण प्रभावित भयो । सोही क्रममा नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४१६ को ए३२० न्यारोबडी जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको कोलकता डाइभर्ट भयो ।

यो खबर अनलाइनखबरमा प्रकाशित भएसँगै सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट एउटै प्रश्न र जिज्ञासा ओइरियो, ‘जहाज किन भैरहवा वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेन ?’

कतिपय पाठक प्रतिक्रियामा नेपाल जहिले पनि भारतकै भर पर्नु पर्नेसम्मका जिज्ञासा र आक्रोस व्यक्त गरिएका छन् । कतिपय प्रतिक्रियामा, ‘त्यसो भए यी दुई अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो ? भनिएको छ भने कतिपयले सोधेका छन्, निजगढ विमानस्थल किन चाहिन्छ ?’

यसै जिज्ञासालाई हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलासँग राख्यौं । उनले भने, ‘आज काठमाडौंको जस्तै मौसम भैरहवाको पनि थियो । जसले गर्दा भैरहवामा जहाज अवतरण गर्न सक्ने अवस्था थिएन ।

त्यसकारण जहाज नेपालको नजिकको सुविधा सम्पन्न विमानस्थल कोलकाता गएको हो ।’ तर, पोखरामा भने प्रविधिमा आधारित भएर जहाजको उडान/अवतरण गर्न सक्ने प्रविधि ‘आईएफआर’ जडान गर्न बाँकी रहेका कारण यो जहाज पोखरा डाइभर्ट हुन नसकेको उनले जानकारी दिए । अर्कोतर्फ पोखरामा पनि आज मौसम भने राम्रो थिएन ।

हाम्रो अर्को जिज्ञासा थियो, ‘त्यसो भए मौसम सामान्य अवस्था भएको बेला नेपाली आकाशमा रहेको जहाज काठमाडौंमा अवतरण गर्न नसक्दा भैरहवा वा पोखरा अवतरण गर्न सक्छ ? उनले भने, ‘अवश्य सक्छ ।’

कतिपय अवस्थामा नेपालमा इन्धनको मूल्य बढी भएका कारण वायुसेवा कम्पनीले नेपालमा जहाज अवतरण गर्न नमान्ने गुनासो सुनिन्छ । तर, अहिले पोखरा र भैरहवामा ल्यान्डिङ, पार्किङमा शतप्रतिशत छुट र ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट रहेका कारण वायुसेवा कम्पनीहरुलाई कोलकता जानु भन्दा नेपालकै विमानस्थलमा अवतरण गर्दा सस्तो पर्ने उनको भनाइ छ । ‘नेपाल भन्दा इन्धनको मूल्य भारतमा सस्तो छ, तर, त्यहाँ त ल्यान्डिङ, पार्किङको छुट्टै चार्ज तिर्नुपर्छ, त्यसको तुलनामा त नेपालमा निःशुल्क अवतरण गर्न सकियो नी ।’

न्यारोबडी ए–३२०/बी५७५ क्षमताका जहाजहरु पोखरामा पनि सजिलै अवतरण गर्न सक्छन् । यहाँ २५ सय मिटर लामो धावनमार्ग छ । भैरहवाका क्षमता भने काठमाडौंको जस्तै हो । जहाँ वाइडबडी ए३३० क्षमताका जहाजसमेत सजिलै उडान–अवतरण गर्न सक्छन् । सोहीकारण काठमाडौंमा समस्या हुँदा जहाजहरुले भैरहवालाई विकल्पमा रुपमा प्रयोग गर्न सक्ने प्रवक्ता निरौलाले जानकारी दिए ।

अहिलेसम्म काठमाडौंको जस्तै भैरहवाको समेत मौसम राम्रो नभएकै कारण जहाजहरु भैरहवा नगएको उनको भनाइ छ । सरकारले अर्बौं रुपैयाँ लगानी गरेका यी दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन । अर्कोतर्फ वैकल्पिक अवस्थामा समेत जहाज अवतरण नभएपछि आम रुपमा सरकारले प्रश्नको सामना गर्नु परेको हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?