 
																			६ माघ, काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघलाई केन्द्रीय समिति अघि नै पूर्णता दिने तयारी गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठक १५ माघदेखि बोलाइएको छ ।
प्रमुख तीन भ्रातृ संस्था नेविसंघ, तरुण दल र महिला संघ मध्ये विद्यार्थी संगठनलाई अरुभन्दा छिटो पूर्णता दिन लागिएको हो । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई ध्यानमा राखेर नेविसंघको कार्यसमिति अरु भन्दा छिटो गठन गर्न लागिएको हो । पार्टीको केन्द्रीय समितिको बैठक अघि नै नेविसंघको कार्यसमिति ल्याउने पहल भइरहेको नेता एनपी साउदले बताए ।
पूर्ण कार्यसमिति छिटो ल्याउँदा आसन्न स्ववियु चुनावमा संघले लाभ लिनसक्ने आशा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको छ । ‘स्ववियू निर्वाचनका लागि संगठनलाई चलायमान बनाउनु पर्नेछ । संगठनले जति छिटो पूर्णता पाउँछ, त्यति नै छिटो स्ववियूका लागि संगठन परिचालित हुन्छ,’ अध्यक्ष शेर्पाले भने ।
सभापति शेरबहादुर देउवाले अघिल्लो साता तीन भ्रातृ संस्थाका अध्यक्षलाई निवासमा डाकेर कार्यसमिति छिटो ल्याउन निर्देशन दिएका थिए । नेविसंघका दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ र महिला संघकी अध्यक्ष उषा राउत मिश्रले पार्टी भित्र अन्य नेताहरुसँग पनि छलफल गरेका छन् ।
नयाँ कार्यसमिति ‘प्लेन समिति’ बनाउनेमा शीर्ष तहमा सहमति जुटेको छ । त्यसअनुसार अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्रै रहेको समिति गठन हुनेछ ।
तदर्थ समितिको संख्या विधान अनुसार नै गठन गर्नेमा भने मतैक्यता हुन सकेको छैन । विगतमा भूमिका नपाएका कार्यकर्तालाई तदर्थ समितिमा अवसर दिनुपर्ने तर्क नेताहरु अघि सारेका छन् । विधान अनुसार नेविसंघ १०१ सदस्यीय हुनुपर्दछ । शेखर पक्षले १२१ देखि १५१ सम्म हुने गरी तदर्थ समिति बनाउनुपर्ने मत राखेको छ ।
ठूलो आकारको समिति बनाउँदा संगठन भित्र झनै भाँडभैलो हुने आशंका नेताहरुमा छ । जम्बो संगठन हुँदा स्ववियु निर्वाचनमा आफ्नै संगठनलाई हराउने विद्यार्थी नेताहरु लाग्ने भय छ ।
अर्कोतर्फ, धेरै जनालाई अवसर दिँदा स्ववियू निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने आशा पनि छ । ‘स्ववियु निर्वाचनलाई हेरेर धेरै जनालाई समेट्न सकिए राम्रो हुन्छ कि भन्ने भनाइ पनि छ,’ नेविसंघका पूर्व अध्यक्ष केशव सिंहले भने, ‘छलफलकै क्रममा छौं । सबै कुरा एक सातामै टुंगिन्छ ।’
संस्थापन पक्षका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर एकपटकका लागि ठूलो आकारको समिति बनाउन सकिने तर्क गर्छन् । ‘३०० बढी सदस्यीय तदर्थ समिति बनाएर एकपटकको लागि विगतमा भूमिका नपाएकाले अवसर दिनुपर्दछ,’ महरले भने, ‘पदाधिकारी सहितको तदर्थ समिति बनाउनु पर्दछ ।’
नेविसंघमा पार्टीभित्रका दुई पक्षभित्र विवाद छ । जिल्ला तहको संयोजक तोक्दा नेविसंघ अध्यक्ष शेर्पाले एकतर्फी गरेको अर्को पक्षका विद्यार्थी नेताहरुले आरोप लगाएका छन् । शेखर पक्षका विद्यार्थी नेताहरुको भेला नै नै गरेर अध्यक्ष शेर्पाको कार्यप्रति असन्तुष्टि जनाएका छन् ।
शेर्पाले २३ जिल्लामा संयोजक तोकेका छन् । नेविसंघ १/२ दशक अघि देखि निष्क्रिय रहेका जिल्लामा पार्टीमा सल्लाह अनुसार संयोजक तोकेको शेर्पाले बताए । ‘कुनै जिल्लामा २० वर्ष अघिदेखि नेविसंघ क्रियाशील थिएन । जिल्ला समितिमा समन्वय गरेर संयोजक तोकेको हुँ,’ शेर्पाले भने, ‘संगठनलाई सधैं लथालिङ छोडिदिने ?’
संघको तदर्थ समितिमा स्थान दिने नामहरु संकलन दुबै पक्षले गरिरहेका छन् । संस्थापन पक्षबाट सहमहामन्त्री किशोरसिंह राठोरले संघका अध्यक्ष शेर्पालाई सघाइरहेका छन् । शेखर पक्षबाट नेविसंघका पूर्व नेताहरु केशव सिंह, रञ्जित कर्ण, मनोजमणि आचार्य लगायतले आफ्नो पक्षबाट सहभागी गराउने नामका बारेमा छलफल गरिरहेका छन् ।
दुबै पक्षबाट संकलित नामहरु सभापति देउवालाई बुझाएपछि पूर्ण कार्यसमिति सहितको सूची सार्वजनिक हुनेछ । नयाँ कार्यसमितिमा न्यायसंगत हिस्सेदारीको हुनुपर्ने शेखर पक्षको माग माग छ । ‘तदर्थ समितिमा ४० प्रतिशत हक हाम्रो लाग्छ । त्यसै अनुसार हाम्रो पक्षबाट तदर्थ समितिमा हुनुपर्छ,’ शेखर पक्षका विद्यार्थी नेताले भने ।
नेविसंघको तदर्थ समिति उमेर हद कायम राखेर ३२ वर्ष मुनिबाट बनाउने नेताहरुको दाबी छ । पार्टीको संरचनामा पदीय भूमिकामा रहेकाले तदर्थ समितिमा स्थान नपाउने भएका छन् । ‘पार्टीको कुनै पनि जिम्मेवारी लिएका नयाँ समितिमा बस्न पाउँदैनन्’, अध्यक्ष शेर्पाले भने, ‘तदर्थ समितिमा बस्नेले स्ववियुमा उम्मेदवार हुन पाउँदैनन् ।’
शेर्पाका अनुसार सबै जिल्लाबाट सहभागिता हुने गरी नयाँ कार्यसमिति गठन हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4