+
+
कहानीको कहानी :

एक नारीको पति चयन

मनेश श्रेष्ठ मनेश श्रेष्ठ
२०७९ माघ ७ गते ८:११

केही समालोचकको दृष्टिकोणमा ‘द पोट्रेट अफ अ लेडी’ अमेरिकी उपन्यासकार हेनरी जेम्सको सबैभन्दा उत्कृष्ट कृति होइन । तिनीहरूको विचारमा यो विशिष्टता ‘द अम्बेसडर्स’ या ‘द गोल्डेन बल’ लाई जान्छ । तर ‘द पोटे«ट अफ अ लेडी’ महिलाको मनोभावना दर्शाउने पुरुषद्वारा लेखिएको उपन्यासहरूमध्ये फ्रान्सेली उपन्यासकार गुस्ताभ फ्लाउबेरको ‘म्याडम बोभरी’ र रूसी उपन्यासकार लियो टोल्सटोयको ‘अन्ना करानिना’ को दाँजोमा पर्छ । फरक के छ भने एम्मा बोभरी र अन्ना करानिना विवाहित थिए । फ्लाउबेर र टोल्सटोय यी विवाहित नारीहरूको छटपटीमा केन्द्रित थिए भने हेनरी जेम्सकी इसाबेल आर्चर अविवाहित र कहानीको दुईतिहाइ भागपछि बिहे गर्छिन् ।

इसाबेल आर्चर दुई पुरुषहरूको विवाह प्रस्ताव अस्वीकार गर्छिन् र तेस्रोको स्वीकार्छिन् । उनको चयनको परिणाम इसाबेलको लागि सराप सिद्ध हुन्छ । यही हो ‘द पोट्रेट अफ अ लेडी’ को कथावस्तु ।

अर्कोतिर एम्मा बोभरीका चाहनाहरू मार्फत फ्लाउबेरले आधुनिकताका प्रलोभनबाट सचेत हुनुपर्ने तथ्य दर्शाउन खोजेका छन् र टोल्सटोयले अन्ना करानिनाका असन्तुष्टिहरूको विपरित कन्सटान्टिन लेभिनको साधारण जीवनको सन्तुष्टिहरू दर्शाउन खोजेका छन् भने जेम्सले अमेरिकीहरूलाई युरोपका आकर्षणहरूबारे लेखेका छन् ।

हेनरी जेम्सको प्रतिभा उनको मनमुग्ध बनाउने लेखनशैलीको अलावा कहानीको प्रस्तुतिमा पाइन्छ । उनले सबै कुरा एकैपटक भन्दैनन्, भविष्यमा हुने कुराको संकेत मात्र गर्छन् । अनि पाठकलाई आफ्नो कल्पना र चाहना अनुसार उपन्यासबाट विभिन्न निक्र्योल निकाल्न स्वतन्त्र छोडी दिन्छन् ।

उन्नाइसौं शताब्दीको अन्त्यतिर र बीसौं शताब्दीको सुरुमा सक्रिय जेम्सको उपन्यास लेखनशैलीको विकासमा विशिष्ट योगदान छ । चाल्र्स डिकन्स, एमिल जोला र फियोदोर दोस्तोभस्की जस्ता यथार्थ र मानवतावादी लेखकहरू र बीसौं शताब्दीका सुरुका फोर्ड म्याड्क्स फोर्ड, मार्सेल प्राउस्ट र भर्जिनिया उल्फ जस्ता मनोवैज्ञानिकवादी लेखकहरूबीच हेनरी जेम्सले ‘पुल’ को काम गरे ।

जेम्सले उपन्यासमा के भने जत्तिकै महत्वपूर्ण के भनेनन् हुन्छ । पाठक आफैंले ती खाली ठाउँहरू भर्नुपर्छ । उपन्यास लेखनको सिद्धान्त ‘शो, डोन्ट् टेल’ मुताविक उनी देखाउँछन् तर भन्दैनन् । उनको नोटबुकमा जेम्सले लेखेका थिए, ‘कुनै कुराबारे सबैथोक कहिल्यै भनिंदैन ।’

अमेरिकी हेनरी जेम्स सन् १८७५ देखि स्थायी रूपमा युरोपमा बसे । उनी ३२ वर्षका थिए । बेलायतलाई आफ्नो घर बनाए र सन् १९१५ मा मृत्यु हुनुभन्दा एक वर्ष अगाडि बेलायती नागरिक बने । आफ्नो व्यक्तिगत परिस्थितिले पनि होला उनका धेरै उपन्यासका मुख्य पात्रहरू अमेरिकाबाट युरोप आउँछन् । उन्नाइसौं शताब्दीको दोस्रो भाग र बीसौं शताब्दीको सुरुतिर धनाढ्य अमेरिकीहरूलाई युरोपको पुरानो संस्कृति र कला आकर्षक थियो ।

२२ वर्षकी इसाबेल आर्चर पनि युरोप आउँछिन् । सानैमा आमा गुमाएकी इसाबेललाई बाबुको मृत्युपछि उनकी बडीले (आमाको दिदी) बेलायत ल्याउँछिन् । उनका दुई दिदीहरूको भने विवाह भइसकेको हुन्छ । आफ्ना दिदी र आम नारीहरू भन्दा इसाबेलको प्रकृति फरक थियो । जेम्सले गरेको उनको हिरोइनको चरित्र चित्रण, उपन्यासको विशिष्टतामध्ये एक हो । यो चित्रण उनले उपन्यासको सुरुतिर थोरबहुत गरे पनि करिब ६०० पृष्ठको कृतिभरि नै इसाबेलको विभिन्न आयाम प्रस्तुत गरेका छन् । परिस्थिति अनुसार इसाबेलको चरित्रमा परिवर्तनहरू देखिन्छ ।

पाठकले इसाबेललाई भेट्दा उनी अमेरिकाको न्यू योर्क राज्यको राजधानी अलबानीमा आफ्नो घरमा हातमा एउटा किताब लिएर बसेकी हुन्छिन् । उनीबारे जेम्स लेख्छन्, ‘ती विचरा युवती अरूले उनलाई ज्ञानपूर्ण रूपमा देखोस् भन्ने चाहन्थे तर किताबी रूपमा होइन, उनी गोप्य रूपमा पढ्थिन् तर उनको स्मरण शक्ति उत्कृष्ट भए पनि आफूलाई पढेलेखेको देखाउन चाहँदैनथिन् । ज्ञान प्राप्तिको लागि उनको ठूलो चाहना थियो तर उनी पुस्तक भन्दा अरू स्रोतबाट ज्ञान हासिल गर्न चाहन्थिन्, जीवनबारे उनको जिज्ञासा विशाल थियो र जहिले पनि अवलोकन गरिरहेकी र सोचिरहेकी हुन्थिन् ।’ जेम्स अझै लेख्छन्, ‘ज्ञानप्रतिको उनको मोहले उनको बलियो कल्पना शक्तिलाई मलजल दिन्थ्यो ।’ त्यसैले अरू उनीदेखि डराउँथे अनि उनीसँग बोल्न केही खास तयारी जरुरत छ भन्ठान्थे । अमेरिकाको भ्रमणमा आएकी उनको बडीलाई इसाबेल भन्छिन्, ‘म मेरो स्वतन्त्रता एकदम मन पराउँछु ।’

‘द पोट्रेट अफ अ लेडी’ सन् १८८०-८१ मा प्रथम पटक अमेरिकी पत्रिका ‘द एट्लान्टिक मन्थली’ (जुन आज पनि प्रकाशित हुन्छ) मा शृङ्खलाबद्ध रूपमा प्रकाशित भएको थियो । उपन्यासको कहानी सन् १८७० को दशकको सुरुमा मञ्चित छ । समाजमा नारीको स्थान संकुचित रहेको त्यो युगमा इसाबेल आर्चरको स्वतन्त्रताको चाहना महत्वाकांक्षी थियो । तर हेनरी जेम्सको विषयवस्तु इसाबेलको छुट्टै अस्तित्वको स्थापनाका संघर्ष र एक युवतीको पति चयन मात्र होइन । सन् १८६३ को अमेरिकी गृहयुद्धपछि अमेरिकामा व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिने पृष्ठभूमिमा एक नयाँ युगको थालनीको आकांक्षा र अमेरिकी विचारहरूमाथि युरोपको प्रभाव पनि हो । युरोपको परम्परा र संस्कृतिको खिलाफ उदाउँदो अमेरिकी आकांक्षाहरू इसाबेलको पुरुष इन्कार र रोजाइमा प्रतिबिम्बित छ ।

उपन्यासभरि यो द्वन्द्वको संकेत पाइन्छ जस्तै बेलायतीहरूले अमेरिकीहरूप्रति आफ्नो धारणा र अमेरिकीहरूले बेलायतीहरूप्रति आफ्नो धारणाको अभिव्यक्तिहरूमा । आफ्नो छोरा राल्फ टुसेटलाई इसाबेलकी बडीले उनीबारे भन्छिन्, ‘धेरैजसो अमेरिकी युवतीहरू जस्तै इसाबेललाई लाग्छ उनलाई संसारबारे धेरै थाहा छ तर धेरैजसो अमेरिकी युवतीहरू जस्तै उनी एकदम गलत छिन् ।’ राल्फले इसाबेललाई किन बेलायत ल्याएको भनी प्रश्न गर्दा उनकी आमाले भन्छिन्, ‘उनको म कोही हुँ भन्ने भान मलाई आकर्षित लाग्यो ।’ इसाबेल भने आफू सकेसम्म खुशी हुन युरोप आएको भन्छिन् । आफ्नो चाहना अनुसार जिउनु र जिन्दगीमा आफूसामु आइपर्ने विकल्पहरूमध्येबाट स्वतन्त्र रूपले छान्ने अवसर उनको लागि सर्वोपरि थियो । आफ्नो बडीलाई भन्छिन्, ‘तर मैले के गर्न हुँदैन जहिले पनि जान्न चाहन्छु । ताकि त्यही गर्नु ?’ उनकी बडी सोध्छिन् । ‘ताकि गर्ने कि नगर्ने रोज्न’ इसाबेल जवाफ दिन्छिन् । आजको युगमा पाएसम्म सबैजना युवतीहरू मात्र होइन, युवकहरूको पनि इसाबेलको जस्तै चाहना हुन्छ । त्यसैले पनि पाठकले इसाबेलको कहानीसँग सजिलै ‘रिलेट’ गर्न सक्छन् ।

इसाबेललाई प्रथम पटक देख्दा उनको हँसिलोपन, फूर्ति र स्वतन्त्र छविले राल्फ, उनका बाबु र उनीहरूको धनाढ्य छिमेकी ‘लर्ड’ वारबर्टन मोहित हुन्छन् । ‘लर्ड’ बारवर्टनले त विवाहको प्रस्ताव पनि गर्छन्, एक पटक मात्र होइन, दुई–दुई पटक । इसाबेलले इन्कार गर्छिन् । ‘कसैसँग बिहे गर्छु जस्तो मलाई लाग्दैन’ इसाबेलले प्रस्तावकलाई जवाफमा भन्छिन् । दोस्रो पटक यस्तो विषयको कुनै कारण हुँदैन भन्छिन् । पुरानो बेलायती परिवारको, ५० हजार एकड जमिनको मालिक, आठ वटा घर भएको सांसदलाई अस्वीकार गर्दा उनकी बडी चकित पर्छिन् ।

‘लर्ड’ वारबर्टन इसाबेललाई विवाहको प्रस्ताव गर्ने दोस्रो व्यक्ति थिए । अमेरिकामा छँदा क्यासपर गुडउड नामक बस्टन शहरका एक कपास मिलका मालिकलाई पनि इसाबेलले इन्कार गरेकी हुन्छिन् । तर गुडउड इसाबेललाई पछ्याउँदै बेलायत आइपुग्छन् र फेरि प्रस्ताव गर्छन् । इसाबेलले देखेका युवकहरूमध्ये गुडउड सबैभन्दा उत्कृष्ट थिए, उनीप्रति इसाबेलको श्रद्धा थियो र कसैले पनि उनलाई गुडउड जति प्रभाव पारेको थिएन । तर इसाबेल आफ्नो स्वतन्त्रता अति नै प्यारो भएकोले उनीसँग विवाह बन्धनमा बाँधिन अक्षम भएको बताउँछिन् । दुई वर्षपछि फेरि आउँछु र त्यो बेलासम्म इसाबेल आफ्नो स्वतन्त्रताबाट वाक्क भइसकेकी हुन्छिन् भनी गुडउड जान्छन् ।

उता उनकी बिरामी बडीको मृत्यु हुन्छ र राल्फको इच्छा बमोजिम उनको आफ्नै अंशको आधा इसाबेललाई छोडेर जान्छन् । राल्फको बुबाको इच्छा उनले इसाबेलसँग बिहे गरोस् भन्ने थियो । राल्फको फोक्सोमा समस्या भएकाले र आफ्नो बहिनी पर्नेसँग विवाह गर्न हुँदैन भन्ने विश्वासको कारणले मान्दैनन् । इसाबेललाई त्यति धेरै पैसा किन दिन चाहेको भनी सोध्दा जवाफमा भन्छन्, ‘ताकि इसाबेलले आफूले कल्पना गरेको चाहनाहरू पूरा गर्न सकुन् ।’ इसाबेलले राल्फको गुन वर्षौंपछि राल्फ मरणावस्थामा पुगेपछि मात्र थाहा पाउँछिन् । त्यो धन इसाबेल आर्चरको लागि अभिशाप बन्छ ।

इसाबेल बेलायत छँदा उनकी बडीको साथी ‘म्याडम’ मर्लसँग भेट हुन्छ । उनी पति गुमाइसकेकी ‘म्याडम’ मर्लसँग अति प्रभावित हुन्छिन् । ‘म्याडम’ मर्लले इसाबेललाई भन्छिन् ‘मानिसको उद्देश्य के हो मलाई थाहा छैन । मलाई उनीहरू कसरी प्रयोग गर्ने मात्र थाहा छ ।’ तैपनि उनीसँग इसाबेल सचेत हुँदिनन् । इसाबेलबारे जेम्स लेख्छन्, ‘ज्ञानप्रति माया भएतापनि पर्दा पछाडि हेर्न उनी रुचाउँदैनथिन् । ज्ञानप्रतिको मायासँगै उनमा अनभिज्ञ रहन सक्ने उत्कृष्ट क्षमता थियो ।’

इसाबेलले अपुताली पाएको थाहा पाएपछि करिब चालीस वर्षको पत्नी गुमाइसकेको, पन्ध्र वर्षको छोरी भएको, इटालीको फ्लोरेन्स शहरमा बस्ने गिल्बर्ट असमन्डसँग इसाबेलको विवाह गराउने षडयन्त्र रच्न थाल्छन् । उनको यो इच्छाको कारण हामी उपन्यासको अन्त्यतिर मात्र थाहा पाउँछौं । ‘म्याडम’ मर्लबारे उपन्यासकार लेख्छन्, ‘नारीमा विरलै पाइने गुण उनमा थियो, उनलाई कसरी सोच्ने थाहा थियो । अनि उनले एकदम राम्रो उद्देश्यको लागि सोचिन् ।’

इसाबेल आफ्नो बडीसँग फ्लोरेन्स जान्छिन् । बडीको त्यहाँ पनि घर हुन्छ । आखिर उनको चाहना इसाबेललाई युरोप देखाउनु थियो । उता ‘म्याडम’ मर्लले इसाबेलसँग भेट्नु भनी असमन्डलाई सुझाव दिन्छिन् । करिब दश वर्षको उमेरदेखि अमेरिकाबाट आएर इटाली बसेका असमन्डसँग धेरै पैसा हुँदैन र इटालीको कलाको अध्ययन र पुरानो कलात्मक वस्तुहरू सँगालेर समय बिताउँछन् । ‘म्याडम’ मर्लको प्रस्ताव सुन्दा असमन्डले सोध्छन्, ‘के उनी सुन्दरी, ज्ञान भएको, धनी, उत्कृष्ट, तीक्ष्ण दिमाग भएकी र इज्जत नगुमाएकी छन् ? ती गुणहरू भएको छ भने मात्र उनलाई भेट्छु । तिमीलाई याद होला केही समय अगाडि यी सबै गुण नभएको कोहीबारे कुरा नगर्नु भनेको । मैले धेरै वाहियात् मानिस चिनिसकें । अरू त्यस्ता मानिस चिन्न रहर छैन ।’ इसाबेलमा यी सबै गुण छ, ‘म्याडम’ मर्लले जवाफ दिन्छिन् ।

असमन्डले इसाबेललाई फकाउँछन्, उनी फकिन्छिन् र विवाह बन्धनमा जोडिन राजी हुन्छिन् । राल्फ असमन्डसँग बिहे नगर्नु भन्छन् । इसाबेल मान्दिनन् । इसाबेलले आफ्नो कल्पना शक्तिको भरपूर प्रयोग गरिछ भनेर राल्फ दिक्दार हुन्छन् । उनकी आमाले पनि बिहे नगर्नु भन्छिन् र इसाबेललाई असमन्डसँग बिहे गर्न जुराइदिएको दोष ‘म्याडम’ मर्ललाई दिन्छिन् । तर घमण्डी इसाबेल त्यो आरोप मान्न तयार हुँदिनन् र आफ्नो स्वविवेकले विवाह गर्न निर्णय गरेको भनी जवाफ दिन्छिन् । जेम्स लेख्छन्, ‘कुनै पनि विवाह बन्धनको आलोचना गर्न सकिन्छ, विवाहको सार नै आलोचना निम्त्याउनु हो ।’

हेनरी जेम्सको खूबी कहानी कसरी अघि बढ्ने र पछि के हुन्छ भन्ने कुराको बेलाबेलामा संकेत दिनु हो । जस्तै दुई विवाह प्रस्ताव अस्वीकार गरेपछि इसाबेलबारे लेखेका थिए, ‘उनको आत्माको सबैभन्दा गहिराइमा यदि एक किसिमको ज्योति प¥यो भने उनले आफूलाई पूर्ण रूपमा समर्पित गर्न सक्छु भन्ने विश्वास थियो, तर त्यो परिस्थिति यस्तो डरलाग्दो थियो कि उनी सोच्न पनि सक्दिनथिन् ।’ असमन्डले पे्रमको वाचा दिएपछि जेम्स लेख्छन्, ‘उनलाई डर थियो उनको उत्साह कस्तो होला भनेर, उनलाई आफ्नो निर्णयको डर थियो ।’ अनि असमन्डलाई भन्छन्, ‘तपाईंलाई चिन्न सजिलो छैन । तपाईंलाई चिन्न जति गाह्रो कसैलाई चिन्न पनि छैन ।’ कालान्तरमा उनले आफ्नो पतिलाई चिन्दै नचिनी बिहे गरेको अनि ‘म्याडम’ मर्लले उनको असमन्डसँग बिहे गराइदिएको उनलाई प्रष्ट हुन्छ ।

अमेरिकी इसाबेलले अमेरिकी गुडउड र बेलायती ‘लर्ड’ वारबर्टनलाई अस्वीकार गरेर इटालीमा बस्ने अमेरिकी असमन्डसँग विवाह गर्छिन् । अर्थात् अमेरिका अस्वीकार गर्छिन्, कुण्ठित बेलायतको जनजीवन अस्वीकार गर्छिन्, तर रोमनकालदेखिको परम्परा, संस्कृति र कला भएको इटली स्वीकार्छिन् । ऐतिहासिक परम्परा नभएको अमेरिकाको लागि शताब्दीऔं लामो ऐतिहासिक परम्परा भएको युरोप जति उन्नाइसौं शताब्दीको अमेरिकाको लागि आकर्षक थियो, आज पनि त्यतिकै छ । अमेरिका विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अवश्य हो, संसारभरिका मानिसहरूलाई आकर्षित गर्छ तर अमेरिका आफैंलाई भने आफूमा अभाव देख्छ । बेलायतको राजपरिवार, फ्रान्सको खाना र कला, जर्मनीको दक्षता, स्कान्डिनेभियाका देशहरूको कल्याणकारी राज्यव्यवस्था र इटालीको कलाले अमेरिकालाई लोभ्याउँछ ।

इसाबेलले बिहे गर्ने निधो गरेपछि सबैभन्दा पहिला गुडउडलाई भन्छिन् । अर्थात् आफ्नो देश छोडेर युरोपमा घरजम गर्न लागेको कुरा भन्छिन् । गुडउड भेट्न आउँछन् र उनी जानेवित्तिकै इसाबेल धुरुधुरु रुन्छिन् । किन ? जेम्सले भन्दैनन्, पाठकलाई आफैं कारण ठम्याउन स्वतन्त्रता दिन्छन् ।

विवाहको तीन वर्षपछि मात्र हामी इसाबेललाई भेट्छौं । त्यो अन्तरालमा उनको दाम्पत्य जीवन कस्तो रह्यो तीन वर्षपछिको परिस्थितिको आधारमा अनुमान मात्र गर्न सक्छौं । बिहे गराइदिने ‘म्याडम’ मर्लको मुखबाट हामी सबैभन्दा पहिला सुन्छौं इसाबेल र उनका पतिको बीच हरेक कुरामा असमझदारी छ ।

फूर्तिली, आकांक्षी, निडर इसाबेल आफ्नो पतिलाई सीधा हेर्न नसक्ने अवस्थामा पुगिसकेकी हुन्छिन् । उनको मनोभावनाबारे जेम्स लेख्छन्, ‘उनी सकेसम्म उनको (असमन्डको) विचार र उनले के भन्लान् पहिला नै जान्न चाहन्थिन् ताकि जवाफ तयार गर्न सकुन् । विगतमा पहिला नै जवाफ तयार गर्नु उनको आदत थिएन … तर होसियार हुन सिकेकी थिइन् ।’ अलि पछि उपन्यासकार लेख्छन्, ‘उनीहरूबीच एउटा खाडल थियो र त्यो खाडलको दुईपट्टिबाट अर्कोबाट भोगेको धोकाको आँखाले एकअर्कालाई हेर्थे ।’ इसाबेलको आफ्नो पतिप्रतिको अविश्वासले संसार अन्धकार बनाइदिएको थियो, जेम्स लेख्छन् ।

इसाबेलको दाम्पत्य जीवनको वर्णनले उपन्यासको करिब एकतिहाइ भाग ओगटेको छ तर उनको पतिसँग जम्मा तीन पटक कुराकानी हुन्छ, दुई पटक असमन्डको छोरी प्यान्सीबारे (प्यान्सीको पे्रम सम्बन्ध र विवाह उपन्यासको एक उपकथा हो) र एक पटक उनी मरण अवस्थामा पुगेका राल्फलाई भेट्न बेलायत जानेबारे ।

आफ्नो दुःखमा मात्र इसाबेलले किन असमन्डसँग बिहे गरेको विश्लेषण गर्छिन् । आफूले गरीब र एक्लो असमन्डको हेरचाह गर्न सक्छु भन्ने उनलाई लागेको थियो । आखिर हामीले कसैसँग पे्रम गर्दा या कसैलाई माया गर्दा होस्, त्यो व्यक्तिको कमजोरी हाम्रो लागि आकर्षक हुन्छ । तर असमन्ड घमण्डी थिए, इसाबेलको पैसाको मात्र उनलाई खाँचो थियो, उनका भावना र विचारहरूसँग होइन ।

इसाबेल आफ्नो दाम्पत्य जीवनबारे कसैलाई बताउँदिनन् । उनी राल्फलाई भन्छिन्, ‘यदि मेरो पतिसँग डराउँछु भने त्यो मेरो कर्तव्य हो । नारीबाट आफ्नो पतिसँग डराउनुपर्छ भन्ने अपेक्षा गरिन्छ ।’ इसाबेलको मनोभावनाबारे जेम्स लेख्छन्, ‘पे्रममा परेकी युवती अवश्य स्वतन्त्र हुँदिनन्, तर उनको गल्तीको कारण उनी नै थिइन् । कुनै षडयन्त्र, कुनै पासो थिएन, उनले हेरेकी थिइन्, विचार गरेकी थिइन् र छानेकी थिइन् । एउटा नारीले त्यस्तो गल्ती गरेको छ भने सच्याउने एउटै मात्र तरिका थियो – पूर्ण रूपमा स्वीकारेर ।’ राल्फ मर्न लागेको बेला मात्र उनलाई आफ्नो दुःखबारे भन्छिन् । कहानीको अन्त्यमा राल्फको मृत्युपछि इसाबेल इटली फर्किन्छिन् । तर पतिसँग बस्छिन् कि बस्दिनन् जेम्स लेख्दैनन् । त्यो कुरा पाठकलाई नै थाहा होला । ‘म्याडम बोभरी’ र ‘अन्ना करानिना’मा अन्त्यमा के हुन्छ स्पष्ट छ भने, ‘द पोट्रेट अफ अ लेडी’ मा अस्पष्ट ।

‘द पोट्रेट अफ अ लेडी’ मा इसाबेल बाहेक राल्फको मनोभावनाहरूबारे मात्र वर्णन गरिएको छ । गुडउड र वारबर्टनलाई उपन्यासकी नायिकाले किन आकर्षित गरिन् लेखिएको छैन । आफ्नो दाम्पत्य जीवनबारे असमन्डको विचार र भावनाबारे हामी अनभिज्ञ रहन्छौं । उपन्यासकारले नलेखेका कुराबारे हामी कल्पना मात्र गर्न सक्छौं ।

उपन्यासको सन् १९०६ को संस्करणको प्रस्तावनामा हेनरी जेम्सले लेखेका छन्, ‘छोटकरीमा भन्ने हो भने आख्यानको घरमा एउटा मात्र झ्याल हुँदैन, लाख झ्याल हुन्छन्, संख्या यकिन गरेर भन्न सकिन्न, कतिवटा झ्याल बनिसक्यो कति अझै बन्न सक्छ भन्ने कुरा व्यक्तिगत चाहना र इच्छाशक्तिमा भर पर्छ ।’ अथवा पात्रहरूको मनभित्र पस्नु र त्यहाँ के छ भनी ठम्याउनु, जेम्सले पाठकको कल्पना शक्तिमै छोडिदिएका छन् ।

यस बाहेक हेनरी जेम्सको विशिष्टता उनको भाषाको मिठास हो । तीन–चार पृष्ठको एक परिच्छेद लेख्छन् तर पढ्दा आनन्द आउँछ । उनको लेखाइमा प्रकृतिको या भौतिक संसारको वर्णन धेरै पाइँदैन तर पात्रको मनभित्रको कुना–काप्चामा भएका विचार र भावनाहरू प्रशस्त पाइन्छ । संसार अवलोकन, जिन्दगी अनुभव गर्ने र हाम्रो व्यक्तिगत भोगाइलाई मानितो दिने तरिकाहरू देखाउन हेनरी जेम्स औधी सफल छन् ।

अनि इसाबेल आर्चरबारे आफ्नो नोटबुकमा जेम्सले लेखेका थिए, ‘यो सबैको मुख्य विचार हो; त्यो विचरा युवतीले स्वतन्त्रता र उच्च विचारको कल्पना गरेकी थिइन्; उदार, प्राकृतिक र स्पष्ट देखिने कार्य गरेको विश्वास गरेकी थिइन् तर वास्तवमा आफूलाई परम्पराको चक्रमा फसेको भेट्छिन् ।’ हामी कति जना युवावस्थाको विचार, भावना र आकांक्षा बाबजुद परम्परामा फस्छौं ? ‘द पोट्रेट अफ अ लेडी’ युवा अवस्थाको सपनाहरूको मृत्युको कहानी हो ।

लेखकको बारेमा
मनेश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?