+
+

माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन नगरपालिकाको डोजर

विकास मरहट्टा विकास मरहट्टा
२०७९ माघ ७ गते १८:०४

७ माघ, गोरखा । विकास निर्माणको काममा प्रयोग गर्नुपर्ने डोजर माओवादी पार्टी कार्यालयको भवन निर्माण गर्ने जग्गा सम्याउन प्रयोग भएपछि गोरखा नगरपालिकाको आलोचना भएको छ ।

मेयर कृष्णबहादुर राना मगरको निर्देशनमा तीन दिनदेखि गोरखा नगरपालिका–६ पाटेचौर स्थित माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन नगरपालिकाले किनेको डोजर प्रयोग हुदै आएको छ ।

ग १ ग १६२ नम्बरको सरकारी डोजर शनिबार पनि माओवादी पार्टी कार्यालय भवन निर्माण गर्ने जग्गा सम्याउन प्रयोग भइरहेको छ । त्यहाँ दैनिक ११ घण्टासम्म नगरपालिकाको डोजरले काम गर्दै आएको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार मेयरकै निर्देशनमा डोजर पठाइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल भने नगरपालिकाको डोजर माओवादी पार्टीको काममा प्रयोग भएको बारे अनविज्ञता प्रकट गर्छन् । ‘माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन नगरको डोजर प्रयोग गर्नुपर्‍यो भनेर मलाई कसैले केही भनेका पनि छैनन्, डोजर प्रयोग भएको छ भन्ने कुरा मलाई थाहा पनि भएन’ उनले अनलाइनखबरसँग भने ।

गोरखा नगरपालिकाले नगरभित्र सडक खन्न, अन्य विकास निर्माणको काम गर्न र विपदका बेला प्रयोग गर्ने भनेर डोजर किनेको थियो । सामान्यतया सम्बन्धित वडाका प्राविधिकले कामको स्टिमेट गरेर पठाएपछि मात्र नगरपालिकाले डोजर पठाउने गर्छ । ‘कुनै वडाको विकासे काममा डोजर प्रयोग गर्न पर्‍यो भने वडाका प्राविधिकले पहिले कामको स्टिमेट गरेर ल्याउँछन् अनि बल्ल स्वीकृत भएपछि डोजर पठाउने हो’ यसबारे जानकार एक कर्मचारीले भने ।

तर विना प्राविधिक स्टिमेट माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन डोजर प्रयोग भइरहेको छ । नगर उपप्रमुखले पनि माओवादी पार्टीले डोजर उपयोग गरिरहेको बारे थाहा नभएको बताइन् । गोरखा नगरपालिकामा मेयर माओवादी केन्द्रका र उपमेयर नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

मेयर कृष्ण राना मगर भने शहीद स्मृति भवन निर्माणका लागि नगरपालिकाले डोजर सहयोग गरेको बताउँछन् । ‘प्रदेश सरकारको बजेटमा त्यहाँ पार्टीको शहीद प्रतिष्ठान भवन बन्न लागेको छ, त्यसकै लागि जग्गा खार्न डोजर चलाएर सहयोग गरेका हौं’, उनले भने । डोजर प्रयोग गरेवापत पैसा नलिने पनि मेयर रानाले बताएका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?