+
+
नेपाल एयरलाइन्सको मुख्यालयमा मन्त्री :

‘नेपाल एयरलाइन्सका कारण तेस्रो पटक रुनु नपरोस्’

‘निगमको स्थिति बुझ्दा म दोस्रो पटक रोएँ’, मन्त्री किरातीले भने, ‘संयोग ! यही जहाजको म मन्त्री हुन आइपुगें, तेस्रो चोटि म रुनु नपरोस् । यही जहाजका कारण म हाँस्न चाहन्छु ।’

अच्युत पुरी अच्युत पुरी
२०७९ माघ ९ गते २०:३९

९ माघ, काठमाडौं । हङकङमा जन्मिएका र भोजपुरको चेवामा हुर्किएका हुन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । तेस्रो पटक सांसद निर्वाचित भएपछि मन्त्री बन्ने अवसर पाएका राई कथा हाली हाली भाषण गर्छन् ।

सोमबार नेपाल एयरलाइन्सको मुख्य कार्यालय पुगेका मन्त्री राईले जहाज देख्दा रोएको दिनबाट सम्बोधन सुरु गरे । निगममा सुधार चाहेको सुनाए र काम गर्न नसक्ने भए राजिनामा गरेर पद खाली गर्न चेतावनी दिएर फर्किए ।

तेस्रो पटक रुनु नपरोस्

अघिल्लो साता कार्यभार सम्हाल्ने क्रममा खादा माला नलगाउने र त्यसको साटो दान पेटिकामा रकम जम्मा गर्ने घोषणा गरेका मन्त्री किराती सोमबार न्यूरोडस्थित नेपाल एयरलाइन्सको मुख्यालय पुग्दा ठूलो तामझाम भएन । कार्यालयको गेटमै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी लगायतका कर्मचारीले स्वागत गरी मन्त्री किराती र मन्त्रालयको टीमलाई हलसम्म पुर्‍याए ।

हरेक नयाँ मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा कर्मचारी युनियनका नेतालाई सुरुमा भाषण गर्न समय दिइयो । त्यसपछि कार्यकारी अध्यक्ष युवराज अधिकारीले नयाँ मन्त्रीसँग संस्थाको अपेक्षा राखे । त्यसपछि मन्त्रालयका सचिव सुरेश अधिकारी र पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली बोले । त्यसपछि मन्त्री किरातीको पालो आयो ।

उनले नेपाल एयरलाइन्सका जहाजसँग आफ्नो पुरानो साइनोबाट सम्बोधन सुरु गरे ।

ब्रिटिस आर्मीका छोरा किराती बाबुकै कर्मथलो हङकङमा जन्मिएका थिए । ब्रुनाई पुग्दा बुबाले अवकाश पाए । उनको परिवार शहरमा बस्न सक्थ्यो, तर बुबा र आमाको कुरा मिलेन, बुबाकै चाहना अनुसार भोजपुरको रामप्रसाद गाउँपालिकाको चेवास्थित गाउँमै बसोबास गर्न थाले ।

‘ब्रुनाईमा हुर्किएको उ बेलाको बालक एकै चोटि त्यस्तो गाउँमा पुग्दा म कस्तो भएँ होला ?’ त्यो बेलादेखि समाजसँग आफ्नो अन्तरविरोध सुरु भएको सुनाउँदै मन्त्री किरातीले भने, ब्रुनाईमा बर्गर खाएर हुर्किएको म । बर्गरको यादमा बासी भात हातमा राखेर नुन छर्केर बर्गर सम्झेर टोक्ने मान्छे पनि म हो ।’

त्यो बेला तुम्लिङटार जाने विमान भोजपुरको डाँडा काटेर आउँदा उनी खुसी हुन्थे, फर्किंदा रुन्थे । मन्त्री किरातीले बाल्यकाल सम्झिए, ‘यो जहाजले मलाई रुवाउँथ्यो । म मेरी आमालाई पनि रुवाउथें । जाउँ हाम्रो हङकङ भन्थें।’

त्यसरी हुर्किएका किराती राजनीतिमा लागे, २०६४ मा भोजपुरबाट सांसद निर्वाचित भएर आए । २०७० को चुनावमा पराजित भए र पटक २०७४ मा फेरि सांसद चुनिएपछि संसदीय समितिमा बस्दा वायुसेवा निगमबारे बुझ्ने मौका पाए । ‘निगमको स्थिति बुझ्दा म दोस्रो पटक रोएँ’, उनले भने, ‘संयोग ! यही जहाजको म मन्त्री हुन आइपुगें, तेस्रो चोटि म रुनु नपरोस् । यही जहाजका कारण म हाँस्न चाहन्छु ।’

के भयो भने रुनु पर्दैन अथवा हाँस्न सक्छन् भनेर पनि मन्त्री किरातीले सुनाएका छन् ।

हरेक दिनको रिपोर्ट चाहिन्छ

मन्त्री किरातीले नेपाल एयरलाइन्सका अधिकारीहरुलाई बिजनेस प्लान बनाउन निर्देशन दिएका छन् । साथै हरेक दिन मन्त्रालयमा रिपोर्ट पठाउन निर्देशन दिए ।

मन्त्री किरातीले भने, ‘कुन जहाज कहाँ र कति मिनेट डिले भयो ? किन भयो ? कुन जहाजको चक्का हरायो ? कुन जहाजको तार मुसाले काट्यो ? त्यसको विवरण हामीलाई चाहियो । हामीले पनि त साँझ नागरिकलाई जवाफ दिनुपर्यो नि !’

उनले अगाडि भने, ‘मान्छेले हामीलाई बेलुका सोध्छ, त्यो बेला मैले हतार हतार फोन कसलाई गरौं ? मन्त्रालयबाट म फर्कंदा जहाजको रिपोर्ट हेरेर फर्कन पाऊँ । म ढिलै फर्कन्छु, राति १२ पनि बज्न सक्छ । तर, रिपोर्ट मलाई चाहिन्छ ।’

‘निगममा ११ वर्षदेखि थन्किएको जहाज किन बन्दैन ? बन्छ भने कसरी बनाउने ? नबन्ने भए के गर्ने ? योजनासहित मन्त्रालयमा प्रस्ताव आउनुपर्‍यो ।’

इ–टिकेटिङ किन भएन ?

पर्यटन मन्त्री किरातीले नेपाल एयरलाइन्सको इ–टिकेटिङ (अनलाइन माध्यमबाट टिकट काट्न मिल्ने व्यवस्था) माथि पनि प्रश्न उठाएका छन् । अरु विमान कम्पनीमा इ–टिकेटिङ भए पनि नेपाल एयरलाइन्समा आफूले नभेटेको भन्दै उनले भने, यतीले सक्छ, बुद्धले सक्छ, निगमले किन सक्दैन ?’

टिकट काट्न आएको मानिसले नपाउने तर दलालले विमानस्थलमा टिकट बोकेर गएको सुनिएको उनले बताए । ‘अझ अचम्म त यहाँका कर्मचारीले मात्र होइन, बाहिरका कर्मचारीले पनि यहाँको टिकट बेच्छन् भन्ने सुनेको छु’ मन्त्री किरातीले भने, ‘ खान त सबैले खान्छन्, घिच्न त भएन नि !’

मन्त्रीले प्रश्न उठाएपछि नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले १५–२० दिनमा इ–टिकेटिङ कार्यान्वयन गर्ने तयारी भइरहेको जवाफ दिए । मन्त्री किरातीले एक महिनाको समय दिए । ‘एक महिनाभित्र अनलाइन टिकट कार्यान्वयनमा ल्याउनुहोस्’, उनले अगाडि भने, ‘सबभन्दा पुरानो सरकारको संस्थाले सक्नैपर्छ, सकिंदैन भने राजिनामा दिए भइहाल्यो ।’

विमानस्थलमा लगेज हराउने गरेको गुनासो आएको भन्दै उनले अब त्यस्तो सुन्नु नपरोस् भनेका छन् । ‘लगेजहरु टन्टनी बाँधेर, टेप लगाएर किन ल्याउँछ भनेको त चोरी हुन्छ भनेर रहेछ’, उनले नेपाल एयरलाइन्सका अधिकारीहरुलाई निर्देशन दिए, ‘टन्टनी डोरीले बाँधेर लगेज ल्याउनुपर्ने बाध्यता हटाउनुपर्‍यो ।’

मन्त्री किरातीले नेपाल एयरलाइन्स हातखुट्टा सुकेको, भुडी फुकेको मच्छड जस्तो भएको भन्दै नेपाल एयरलाइन्सलाई भर्तीकेन्द्र नबनाउने बताए । उनले भने, ‘भर्तीकेन्द्र बनाउँदा निगम झन् झन् डुब्यो भन्छन् मान्छेहरु । मासिक रुपमा आर्थिक स्थिति के हुन्छ भन्नेबारे एउटा र अर्को समग्र बिजनेस प्लान अर्को ल्याउनुहोला ।’

कालो हातले छुने कोसिस नगर्नू

पर्यटनमन्त्री किरातीले राजनीतिमा लाग्दा वडाअध्यक्ष पनि बन्छु भन्ने नलागेको सुनाए । यो (मन्त्री भएको समय) आफ्नो जीवनको महत्वपूर्ण क्षण भन्दै उनले भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, कृपया कालो हातले छुने कोसिस नगर्नुहोला ।’

कानुनका दफाहरु हेरेरै काम गर्ने र कसैलाई पनि भेदभाव नगर्ने उनले बताए । आफूलाई परिणाम चाहिने भन्दै मन्त्री किरातीले भने, ‘तपाईंलाई के मृत्युदेखि डर लाग्दैन ? डर लाग्छ भने काम गर्नुपर्‍यो । काम गर्नुको विकल्प छैन ।’
आफूलाई पनि असफल हुने छुट नभएको भन्दै उनले भने, म आगोमा खरानी हुन तयार छु, तर राज्यको यति ठूलो गौरवपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’

‘दुनियाँभरका प्लेन नाफामा छ, हाम्रो यत्रो जहाजहरु भएको नेपाल एयरलाइन्स कहाँदेखि कहाँ भास्सिसक्यो, यो बनाउँछु भन्ने पागलपन होइन होला नि ? म बौलाएको त छैन जस्तो लाग्छ, मानसिक रुपमा ठीकै छु जस्तो लाग्छ ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?