+
+
स्मृतिमा गजेन्द्रनारायण सिंह :

संघीयताको मुद्दा उठाउँदा राष्ट्रघातको आरोप भोगेका गजेन्द्रबाबु

गजेन्द्रबाबुले निर्माण गरेको पथका पथिकहरूले उनको नीति, त्याग र संघर्षको चरित्रलाई अंगीकार गर्नुपर्दछ, अन्यथा मधेश र देशलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्न न त आफैं पनि पुग्न सकिन्छ ।

अजयकुमार झा अजयकुमार झा
२०७९ माघ १० गते १३:११

गजेन्द्रनारायण सिंहलाई नेपालमा जातीय विभेद, शोषण, उत्पीडन, दमनविरुद्ध समतामूलक समाजको स्थापना र राष्ट्रको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनका लागि आजन्म संघर्षरत व्यक्तित्वको रूपमा स्मरण गरिन्छ ।

मुलुकमा राणा र राजाको एकपछि अर्को निरंकुश तानाशाहीको खिलाफ प्रजातन्त्र/लोकतन्त्रका लागि, एकात्मक शासनको खिलाफ स्वायत्त/संघीय शासनको लागि र जातीय एकाधिकारवादको खिलाफ सामाजिक समरसत्ताका लागि जीवनपर्यन्त संघर्षशील व्यक्तित्वको रूपमा उनलाई चिनिन्छ ।

गजेन्द्रनारायण सिंहको जन्म सन् १९२९ मा सप्तरी जिल्लाको कोइलाडी गाउँमा भएको थियो । उनका गाउँले गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंह सन् १९३६ जन्मिएका थिए । बाल्यावस्थादेखि नै गजेन्द्र विद्रोही र दृढ व्यक्ति थिए । साहसी र कर्मवीर सिंहले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत काम गरेर राष्ट्र निर्माणको कार्यमा योगदान गरे ।

उनले आफ्नो जीवनमा संघर्ष, त्याग र लोक कल्याणका लागि विशिष्ट कार्य गरेर जनविश्वासलाई कायम राखे । वेदानन्द झा, रामजनम तिवारी, रघुनाथ ठाकुर जस्ता मधेशका मसिहाहरूले संघीय आन्दोलनको रूपमा सुरु गरेको मधेश आन्दोलनको जगमाथि पर्खाल लगाउने काम सिंहले गरे ।
नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका उनी पछि नेपाल सद्भावना परिषद्का संयोजक बने । बहुदलीय व्यवस्था पुनस्र्थानापश्चात् नेपाल सद्भावना पार्टीका अध्यक्षको रूपमा उनी २०५८ सालसम्म राजनीतिमा अनवरत रूपमा क्रियाशील रहे ।

अजयकुमार झा

उनी राजाको प्रत्यक्ष शासनकालमा २०४३ सालमा राष्ट्रिय पञ्चायत (संसद) का सदस्य, बहुदलीय व्यवस्था पुनर्स्थापनापश्चात् २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्य र २०५६ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भए । उनी ‘सत्तामा रहेर संघर्ष’ भन्दै दुई पटक संयुक्त सरकारमा सम्मिलित पनि भएका थिए ।

२००७ सालको जनक्रान्ति निरंकुश पारिवारिक शासनको खिलाफ भएको थियो । २००३ सालमै गजेन्द्रबाबु जनक्रान्तिमा संलग्न भएका थिए । उनको गाउँ राजपुत जमिनदारहरूको बसोबास क्षेत्र थियो । जमिनदार भएकाले उनीहरू तत्कालीन राणा शासकका सामीप्य हुन्थे । शासकहरूसँग कतिपयको अन्तरविरोध पनि थियो । उनीहरू प्रायः राणा शासकका खिलाफ नै थिए ।

उनीहरू यता राणाका खिलाफ संघर्षरत नेपाली कांग्रेसका साथै उता भारततर्फ अंग्रेजका खिलाफ संघर्षरत स्वतन्त्रता सेनानीहरूलाई सहयोग गर्दै आएका थिए । गजेन्द्रबाबुको राजनीतिक सोच त्यही वातावरणमा विकास भएको थियो ।

२००० सालमा हनुमाननगर (सप्तरी) जेलकाण्ड घट्यो । भारतीय स्वतन्त्रता सेनानी राममनोहर लोहिया, जयप्रकाश नारायणलगायतका दर्जनौं नेताहरू नेपालतर्फ लुकेर बस्ने क्रममा अंग्रेज शासनका समर्थक राणा शासकको पक्राउमा परी हनुमाननगर जेलमा राखिएका थिए ।

भारतीय स्वतन्त्रता सेनानीको गोप्य बसाइ, खानपान, आपसी भेटघाट, सम्मेलन आदि कार्यमा कोइलाडी–बर्साइनका राजपुतहरूको प्रत्यक्ष सहयोग थियो । उनीहरू यी राजपुत जमिनदारहरूकै आड भरोसामा यता लुक्ने, बस्ने गरेकाले उनीहरूलाई हनुमाननगर जेलबाट छुटाउनु यी राजपुतहरूले आफ्नो धर्म र कर्तव्य ठानेका थिए ।

९ जेठ २००० को मध्यरातमा हनुमाननगर जेलमा आक्रमण गरेर भारतीय स्वतन्त्रता सेनानीहरूलाई मुक्त गराइएको घटना नै हनुमाननगर जेल काण्डको नामले इतिहासमा दर्ज छ ।

गजेन्द्रबाबुको दृष्टिको धरातल मधेशबाट सुरु भयो र उनको दृष्टि समस्त नेपाली र देशको हरेक कुनामा थियो, जहाँ अधिकारको उपभोगबाट जनता वञ्चित छन् वा उसको अधिकारको हनन भएको छ ।

हनुमाननगर जेलकाण्डले अंग्रेज अधिकारीका सामु राणाशासनको शक्तिलाई मलिन पारेको थियो । जसले गर्दा उनीहरू रिसाउनु स्वाभाविक थियो र सोही रिसमा जेल आक्रमणमा संलग्न भएका, नभएका सयौं मानिसको गिरफ्तारी भयो ।

गिरफ्तार हुनेहरूमा रामराजाप्रसाद सिंहका पिता जयमंगलप्रसाद सिंह, रामेश्वरप्रसाद सिंहसहित दुई दर्जन मानिस थिए । उनीहरूलाई अभियोग लगाएर मुद्दा चलाएर काठमाडौं अड्डा सारियो ।

काठमाडौं सदर जेलमा पितालाई भेट्न जाँदा भाइ लक्ष्मणप्रसाद सिंहसहित रामराजाप्रसाद सिंहलाई समेत गिरफ्तार गरी महिनौंसम्म थुनेर राखियो ।

त्यही घटनाले रामराजालाई राजाको शासन समाप्त पारी गणतन्त्र स्थापना गर्ने मार्गमा अघि बढ्न प्रेरित गर्‍यो । हनुमाननगर जेलकाण्डमा गजेन्द्रबाबुको अघि वा पछि कुनै प्रकारको संलग्नता नदेखिए पनि उनी त्यस घटनाप्रति बेखबर भने थिएनन् ।

जनक्रान्तिकै दौरान सप्तरीको सीमावर्ती भारतीय क्षेत्र कुनौलीमा नेपाली कांग्रेसले क्याम्प खडा गरेको थियो । कांग्रेस नेता कृष्णप्रसाद भट्टराई कुनौली क्याम्पका इन्चार्ज थिए । गजेन्द्रबाबु कुनौली क्याम्प पुगेर भट्टराईबाट पार्टीको सदस्यता लिएर क्रान्तिमा हाम फाले ।

सरकारले क्रान्तिलाई नियन्त्रण गर्न राजविराजमा पनि कफ्र्यु लगाएको थियो । यसको अवज्ञा र क्रान्तिकारीहरूको दायित्व पूरा गर्न गजेन्द्रबाबु कुशेश्वर पाठक र महेन्द्र मुखियाका साथ निस्के । राजविराज गोश्वारा पुगेर नाराबाजी गर्नासाथ प्रहरीले उनीहरूलाई गिरफ्तार गर्‍यो । गजेन्द्र बाबुको त्यो पहिलो गिरफ्तारी थियो । गिरफ्तारीबाट छुटेपछि उनी अवज्ञा गर्ने र सरकारले गिरफ्तार गर्ने चक्र दोहोरिन थाल्यो ।

जनक्रान्तिको सफलतापछि वि.सं. २००८ मा रामेश्वरप्रसाद सिंहले सप्तरी कांग्रेसको अध्यक्ष पद गजेन्द्रबाबुलाई सुम्पे । २०१५ सालमा सम्पन्न पहिलो आम निर्वाचनमा गजेन्द्रबाबु पनि प्रत्यासी हुने इच्छा राखेका थिए तर पाएनन् ।

२०१५ सालमा सम्पन्न आम निर्वाचनबाट दुई तिहाइ मत हासिल गरी कांग्रेसले सरकार गठन गर्‍यो । तर त्यसको केही समयपछि १ पुस २०१७ मा राजा महेन्द्रले सरकार, संसद र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको विघटन गरी प्रत्यक्ष शासन प्रारम्भ गरे ।

नेपाली जनताको लामो संघर्ष र बलिदानीपछि प्राप्त भएको प्रजातान्त्रिक व्यवस्था समाप्त पारिएपछि त्यसको विरोध भयो र एउटा लामो कालखण्डका लागि संघर्षको पुनरारम्भ भयो । पुस १ को ‘कु’ सँगै प्रजातान्त्रिक नेताहरूको धरपकड सुरु भयो । कति नेता थुनिए र कति भारत प्रवासमा लागे ।

गजेन्द्रबाबु भने तत्काल कुनौलीमा क्याम्प खडा गरी आन्दोलनको सूत्रपात गर्न थाले । उनी नेपालभित्र र बाहिर दुवै स्थानमा सक्रिय थिए । त्यस दौरान उनले पटक–पटक गरी सात वर्षजति कैदमा बस्नुपरेको थियो ।

राजाको शासन खिलाफ लगातार चलेको आन्दोलन दबाउन विफल भएपछि राजा वीरेन्द्रले २०३७ सालमा जनमत संग्रह गराउने घोषणा गर्दै राजनीतिक वातावरण खुकुलो पारे । यससँगै अन्य नेताहरूसँगै गजेन्द्रबाबु पनि स्वदेश फर्किए ।

जनमत संग्रहमा बहुदल पक्ष विफल भयो । तर नेताहरू मुलुकमै रहेर र पञ्चायती पद्धतिमै सामेल भएर बहुदलका लागि संघर्षशील रहने नीति लिए । त्यसै नीतिअनुसार गजेन्द्रबाबु राष्ट्रिय पञ्चायतको निर्वाचनमा सहभागी भए ।

२०३८ सालमा चुनाव हारे पनि २०४३ सालको चुनाव उनले जिते । राष्ट्रिय पञ्चायतमा बोल्दै उनले राजनीतिक व्यवस्थामा सुधारको माग गरे । समयको माग अनुकूल सुधार भएन भने एक दिन राजाको मुकुट पनि नरहने भनेर उनले चुनौती समेत दिएका थिए ।

सुधार गर्नुपर्ने विषयहरूमा उनले नागरिकता, पहिचान, प्रतिनिधित्व, आरक्षण, क्षेत्रीय नीति जस्ता कुरा मुख्य थिए । यी कुराहरूलाई उनले पञ्चायती व्यवस्थाको समाप्तिपछिको राजनीतिक अवस्थामा पनि निरन्तरता दिएका थिए ।

गजेन्द्रबाबुले उठाएका उपर्युक्त सवालहरू त्यसअघि रामजनम तिवारीको तराई कांग्रेस र रघुनाथ ठाकुरको मधेश जनक्रान्तिकारी दलले पनि उठाएका थिए । २००७ सालमा तराई कांग्रेसको स्थापना र २०१० सालमा मधेशी जनक्रान्तिकारी दलको स्थापना सँगसँगै विभेद विरुद्धको आन्दोलन पनि अघि बढ्नुपर्दछ भन्ने मधेशको मत थियो । तराई मधेशमाथिको पारम्परिक विभेदको समर्थन गरिरहेका जातीय तथा राजनीतिक समूहको प्रभावका कारण नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनलाई राजनीतिक सत्ता परिवर्तनको आन्दोलनमा नै सीमित राख्ने काम गर्‍यो । त्यसैले तराई कांग्रेस र मधेश जनक्रान्तिकारी दलको स्थापना अपरिहार्य बन्यो ।

नेपाल सद्भावना परिषद्, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी तिनै दुई पार्टीका संस्करण वा उत्तराधिकार हुन् । समय समयमा विभाजित वा एकीकृत हुँदै आएका दलहरूका साथै हिंसात्मक वा अहिंसात्मक नीति अख्तियार गरी गठित विद्रोही मोर्चा वा दबाव समूहलाई पनि तिनकै विरासत मान्नुपर्दछ ।

मुलुकमा २००७ सालको परिवर्तनपश्चात् हतारहतार गरी नागरिकता कानुन (२००९) ल्याइयो । त्यसपछाडिको मूल कारण मधेशी समुदायको मत संख्या जसरी पनि कम पार्दै लैजानु रहेको थियो । नागरिकता वितरणमा मधेशी समुदायप्रति विभेदको नीति रहँदै आएको छ ।

नागरिकता समस्याको समाधानका लागि संघर्षले जसरी उचाइ प्राप्त गर्दै गयो, नागरिकता वितरण प्रक्रिया पनि सरल हुँदै गयो । तर नागरिकता समस्याको समाधानले अझै पनि पूर्णता पाएको छैन । जन्मसिद्ध नागरिकता प्राप्त गर्ने व्यक्तिका सन्तान नागरिकता प्राप्तिबाट वञ्चित छन् ।

राज्यले अवलम्बन गर्दै आएको एक भाषा नीतिको कारणले मधेश, जनजाति, दलित समुदायको पहिचान गुम्दै गएको थियो ।

भनिन्छ, ‘भाषा हराए साहित्य हराउँछ, साहित्य हराए संस्कृति हराउँछ । संस्कृति हराए त्यसको संवाहक हराउँछ ।’ यसरी नै कति जातिको लोप भइसक्यो भने कतिपय जाति लोपोन्मुख अवस्थाको सामना गरिरहेका छन् । मधेशले आफ्नो गुम्दै गएको बोली र भाषाको रक्षाको लागि आवाज उठायो ।

विचारधारा, निष्ठा, समर्पण, संघर्ष, आन्दोलन, त्याग, तपस्या र दूरदृष्टिको आधारमा गजेन्द्रबाबु आफ्नो कालखण्डका शीर्ष व्यक्तित्व थिए । सच्चा लोकतन्त्र, समानता र समतामूलक राष्ट्र निर्माणका लागि आज उनकै दृष्टिपथमा यो देश अघि बढेको छ ।

मधेशको भाषा सरोकारको आन्दोलन पनि धेरै पुरानो हो । केही भाषाभाषीले एकल आन्दोलन पनि गरेका छन् भने समग्रमा नेपाली भाषा बाहेक अन्य सबै भाषाभाषीहरूले संयुक्त रूपमा भाषा आन्दोलनलाई हरेक तहमा अघि बढाएका छन् ।

गजेन्द्रबाबु भाषा विभेद, मातृभाषामा प्राथमिक शिक्षा, सांस्कृतिक अवसरमा विदा, भाषा–भेष जस्ता विषयमा एउटा आम सहमति बनाउन सफल भए । तर व्यवहारमा नेपाली भाषा बाहेक अन्य भाषा आधारभूत सुविधाबाट समेत वञ्चित छन् । भाषा आयोग बनेको छ ।

अहिले आम बहस बाँकी नै छ । गजेन्द्रबाबु नेपाल सरकारको मन्त्रीको रूपमा त्रिनिडाड भाषा सम्मेलनमा सहभागी भए । उनले संसदमा र राजदरबारमा समेत मधेश पहिरनको प्रदर्शन गरे ।

आरक्षणको मुद्दा केही हदसम्म समाधान भएको भए पनि समुचित रूपमा व्यवस्थित हुनसकेको छैन । वि.सं. २०६३ मा समावेशी ऐन आयो, जो अझै पनि विवादको घेराबाट बाहिरिन सकेको छैन ।
जनसंख्या नीति विभेदवादी भएकोले त्यसको असरले प्रतिनिधित्व अनुपातका साथै अन्य मौलिक हक र अधिकारको प्रचलनलाई पनि प्रभावित गरेको छ । कतिपय कुराहरू संघीय पद्धतिका विकाससँग सम्बन्धित छन् ।

गजेन्द्रबाबुले पाँच विकास क्षेत्रको भौगोलिक विभाजनलाई अवैज्ञानिक भनेका थिए । त्यसको साटो तराईमा दुईवटा र पहाडमा दुईवटा तथा काठमाडौं उपत्यका एउटा गरी पाँचवटा विकास क्षेत्रको विभाजन गर्न माग गरे । उनले तराईको स्वायत्तताको माग पनि गरे ।

उनले राजनैतिक साझेदारी संघीय शासन व्यवस्थाबाट हुने भन्दै संघीय शासन प्रणालीको माग पनि गरे । नेपालमा संघीयता बारे निकै छलफल भयो तर फल केही आएन, छल मात्र भयो ।

वर्तमान संविधानको धारा १३८ ले राज्यको अग्रगामी पुनर्संरचनाबारे बोल्दै ‘वर्गीय, जातीय, भाषिक, लैंगिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी समावेशी, लोकतान्त्रिक र संघीय शासन प्रणालीसहितको अग्रगामी पुनर्संरचना गरिनेछ’ भनी उल्लेख भएको अवस्थाको वास्तविक मूल्यांकन गरियो भने संघीय विकास सही मार्गमा सही ढंगले अघि बढिरहे जस्तो लाग्दैन ।

संघ पक्षधर शक्ति निरन्तर कमजोर पर्दै जानु, संघको विरोधी पक्ष सबल हुँदै जानु र पछिल्लो आम निर्वाचनमा संघको विघटनको मुद्दामा समेत मत संकलन भए–गरेको दृश्य चिन्ताजनक छ । संघीयताको अभ्यास जे–जता गइरहेको भए पनि यसको आवश्यक कार्यान्वयन नहुन्जेल मुलुकमा स्थायी शान्ति हुने देखिंदैन ।

गजेन्द्रबाबुको ‘मागको लागि मात्र माग गर्ने’ नीति थिएन । उनी जनताको आवाजलाई सर्वप्रथम जनताकै माझमा उठाउँथे । उनले आन्दोलनका लागि आन्दोलन कहिल्यै गरेनन् । मधेशीलाई मधेशी हुनुमा गर्व गर्न सिकाए । अधिकार प्राप्तिका लागि संघर्ष गर्न सिकाए । उनले भर्खरको युवाबाट सुरु गरेको आन्दोलन जीवनपर्यन्त चलाइराखे ।

हृतिक रोशन प्रकरण मधेशको एक विषम परिस्थिति थियो, त्यसमा उनले कुशल नेतृत्व प्रदान गरेका थिए । मधेश आन्दोलनको इतिहासमा पहिलो पटक रुपनीको राजमार्ग जाम भयो । २०५१ सालमा गजेन्द्रबाबुको आमरण अनशनको दबावमा नेपाल सरकारले पहिलो पटक सरकारी स्रेस्तामा मधेशका समस्या दर्ज गर्न बाध्य भयो ।

त्यसपछि क्रमशः मधेशको दबाव बढ्दै गयो र आज संघदेखि समावेशीसम्मका काम-कुरामा यो देश नयाँ चरणमा प्रवेश गरेको छ । गजेन्द्रबाबुको योगदानको कदर गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले उनको सालिक बनाउने, सार्वजनिक प्रतिष्ठानको नामकरण गर्ने र जनहितका कार्यक्रमहरू चलाउने गरेका छन् ।

तर गजेन्द्रबाबुले जे कुराका लागि संघर्ष गरे ती कुराहरूको उपलब्धि नगुमोस् । राज्य व्यवस्थामा व्याप्त असमानता उस्तै छ । गजेन्द्रबाबुको सोच समतामूलक समाजको स्थापना हो । अन्ततः सामाजिक समरसत्ताको स्थापना हो ।

मधेश आन्दोलनको श्रीगणेश गर्ने रामजनम तिवारी र रघुनाथ ठाकुर थिए । रघुनाथ ठाकुरले आफ्ना रचनामार्फत मधेश आन्दोलनलाई विचार र सिद्धान्त प्रदान गरे । ‘परतन्त्र मधेश और उसकी संस्कृति’ पुस्तकमा उनले मधेश आन्दोलनको औचित्य र सिद्धान्तको व्याख्या गरेका छन् ।

२०२७ सालमा उनको रहस्यमय ढंगबाट निधन भयो । कालक्रममा मधेश विचारधारालाई विकसित र विस्तारित गर्ने काम गजेन्द्रनारायण सिंहले गरे । कांग्रेस त्यागेको वि.सं. २०३४ देखि मृत्यु (२०५८ माघ १०) अघिसम्म अर्थात् मधेश आन्दोलनको झण्डै अढाइ दशकको महत्वपूर्ण हिस्सा गजेन्द्रनारायण सिंहको नाममा रहेको छ । वि.सं. २०६३ को मधेश विद्रोहको आधार खासमा गजेन्द्र कालमा नै बन्यो ।

वि.सं. २०६३ को मधेश विद्रोहबाट मुलुक संघीयतातर्फ मोडियो । मुलुकलाई संघीयतासम्म पुर्‍याउनमा धेरैले होस्टेमा हैंसे गरे तर संघीय आन्दोलनलाई मूल बाटोमा ल्याउने र अनेक रोकछेकसँग जुध्दै निरन्तर धक्का लगाउँदै गतिशील बनाउने काम गजेन्द्रनारायण सिंहले गरे । नेपालको राजनीतिक इतिहासमा गजेन्द्रनारायण सिंह यस कारणले अमिट रहने छन् । गजेन्द्र पुण्यतिथिको सन्दर्भमा उनको स्मरण स्वाभाविक हुन आउँछ ।

गजेन्द्रनारायण सिंहलाई प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, मधेश आन्दोलनका प्रणेता, मधेशका मसिहा आदि अनेक उपनाम दिइन्छ । समकालीनले उनलाई बोलाउँदा ‘गजेन्द्रबाबु’ भन्दथे ।

कुनै समय थियो, जब राज्यले उनलाई राष्ट्रघात लगायत अभियोगमा पटक–पटक झ्यालखानामा जाक्ने काम गर्‍यो । तर एक यस्तो समय आयो, जब राज्यले आफ्नो अभिभारा समेत गजेन्द्रबाबुको हातमा सुम्प्यो र कुनै बेला यस्तो पनि आयो, राज्यले उनलाई राजकीय सम्मानका साथ अनन्त यात्रामा विदाइ गर्दै हुलाक टिकट समेत प्रकाशन गर्‍यो ।

विचारधारा, निष्ठा, समर्पण, संघर्ष, आन्दोलन, त्याग, तपस्या र दूरदृष्टिको आधारमा गजेन्द्रबाबु आफ्नो कालखण्डका शीर्ष व्यक्तित्व थिए । सच्चा लोकतन्त्र, समानता र समतामूलक राष्ट्र निर्माणका लागि आज उनकै दृष्टिपथमा यो देश अघि बढेको छ ।

गजेन्द्रबाबुको दृष्टिको धरातल मधेशबाट सुरु भयो र उनको दृष्टि समस्त नेपाली र देशको हरेक कुनामा थियो, जहाँ अधिकारको उपभोगबाट जनता वञ्चित छन् वा उसको अधिकारको हनन भएको छ । गजेन्द्रबाबुले निर्माण गरेको पथका पथिकहरूले उनको नीति, त्याग र संघर्षको चरित्रलाई अंगीकार गर्नुपर्दछ, अन्यथा मधेश र देशलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्न न त आफैं पनि पुग्न सकिन्छ ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?