+
+

चितवनमा थपियो नयाँ क्यान्सर अस्पताल

सुवास पण्डित सुवास पण्डित
२०७९ माघ १२ गते ९:३४

१२ माघ, चितवन । चितवनको भरतपुरमा निजी क्षेत्रबाट पनि नयाँ क्यान्सर अस्पताल तयार भएको छ । चितवन मेडिकल कलेजले भगनी संस्थाको रुपमा सीएमसी क्यान्सर इष्टिच्यूटका नाममा एक सय बेड क्षमताको क्यान्सर अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

चितवनमा पहिलेदेखि नै सरकारीस्तरमा देशकै ठूलो बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल सन्चालित छ ।

सीएमसीले आज श्रीपञ्चमीको दिनदेखि औपचारीक रुपमा आफ्नो सेवा सुरु गर्ने कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए । अस्पतालको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अहिले भैरहेको मेडिकल कलेजको पूर्वतर्फ झण्डै दुई अर्बको लगानीमा नयाँ क्यान्सर अस्पताल बनाइएको छ ।

पछिल्लो समयमा विभिन्न कारणबाट बढ्दै गएको क्यान्सर रोगको उपचारलाई सहज र सुलभ बनाउन अत्याधुनिक उपकरणसहित दक्ष विषेशज्ञहरुका सेवा प्रदान गर्ने उद्देश्य राखेर अस्पताल सञ्चालन गरिएको डा. न्यौपानेले बताए ।

अस्पतालमा क्यान्सर रेडियसन लगायतका सेवा सञ्चालनमा आइसकेका छन् । रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको परीक्षण, निदान र उपचार हुने गरी व्यवस्था मिलाइएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । क्यान्सर अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् ।

दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिसकिएको छ । सो मेसिनमा सिक्स डी काउच र हाइपर आर्क प्रविधि छ ।

अस्पतालले सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख र बागमती प्रदेश सरकारले उपलब्ध गराउने ५० हजार बराबरको उपचार सुविधा पनि उपलब्ध गराउने डा. लम्सालले बताए ।

चितवनमा देशका विभिन्न भागबाट क्यान्सरका बिरामीहरु उपचारका लागि आउने गरेको पाइन्छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गत वर्षको तथ्यांक हेर्दा देशका ७७ मध्ये ७० जिल्लाका बिरामीले सेवा लिएको पाइएको छ । गत वर्ष सो अस्पतालमा १ लाख ६४ हजार ५ सय ९५ जना बिरामी आएर सेवा लिएका थिए ।

अस्पतालको ओपीडीमा आएकामध्ये ६ हजार ६३ जना नयाँ क्यान्सरका बिरामी थपिएका छन् । क्यान्सरका बिरामीहरुको कतिपय परीक्षणहरु गर्न नमूनाहरु भारत पठाउनुपर्ने अवस्था रहेकोमा त्यसलाई रोक्नेका लागि चितवन मेडिकल कलेजमा नै ‘ए’ ग्रेडको ल्याब सञ्चालनमा आएको छ । चितवनबाट आएचसी (युमिनो हिस्टो केमेष्ट्री) परीक्षणका लागि नमूना भारत पठाउने गरिन्छ ।

नमूना परीक्षण गर्न भारत पठाउँदा समय र रकम धेरै खर्च हुने र रिपोर्ट ढिला आउँदा क्यान्सर फैलिन सक्ने अवस्थालाई रोक्न यसले सहयोग पुग्ने विश्वास लिएको अस्पतालका निर्देशक डा. लम्साल बताउँछन् । अब चाँडै नै पेट स्क्यान मेसिनसमेत ल्याउने तयारी गरिएको उनले जानकारी दिए । क्यान्सर इन्स्िटच्यूटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरुले उपचार गर्नेछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?