+
+

अलमलमै क्रिकेट संघ

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ माघ १२ गते १९:४२

१२ माघ, काठमाडौं । नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि आलोचित बनेका नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले आफ्नो बचाउको प्रयास गरेका छन् । तर उनीहरुले न विगतका कामहरुको खुलेर जिम्मेवारी लिन सके, न त आगामी कदमबारे प्रष्ट बताउन नै ।

९–२७ पुसमा आयोजित नेपाल टी–२० लिगमा फिक्सिङ गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । क्यानले व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा भित्र्याएको सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अहुवालिया र र सीईओ अभिषेक सक्लानीसहित १० जनाविरुद्ध मुद्दा चलाउने तयारी छ ।

राष्ट्रिय खेलकदु परिषद् (राखेप)को छानबिन समितिले पनि खेलकुद विकास ऐन अनुसार सम्झौता नभएको भन्दै क्यानमाथि निलम्बनसम्मको कारबाही गर्न सुझाएको छ ।

त्यसको भोलिपल्ट अध्यक्ष चतुरबहादुर चन्द र सचिव प्रशान्तविक्रम मल्लले कोषाध्यक्ष रोशनबहादुर सिंह, क्रिकेटर म्यानेजर विनोद दास र महाप्रबन्धक वृतान्त खनाललाई राखेर पत्रकार सम्मेलन गरेका थिए । क्रिकेट संघका अध्यक्ष चन्दले नेपाल टी–२० लिग आयोजनासम्बन्धमा आफूहरुबाट त्रुटि भएको पटकपटक बताए ।

तर आफूहरुको नियत गलत नभएको दाबी गरे । ‘सेभेन थ्रीलाई हामीले व्यापारिक र रणनीतिक साझेदार बनाउनुअघि कम्पनीको विगतबारे धेरै खोजी गरेका हौं । कुनै पनि खराव इतिहास नभएको पाएपछि सम्झौता गरेका हौं,’ क्रिकेट संघका अध्यक्ष चन्दले पत्रकार सम्मेलनमा भने, ‘मान्छेहरुको भित्री नियतलाई हामीले बुझ्न सकेनौं । तर हाम्रो नियतमा कुनै खराबी थिएन ।’

नेपाल टी–२० लिगमा व्यापारिक र रणनीतिक साझेदारका रुपमा आवद्ध भएको सेभेन थ्री स्पोर्टसलाई क्यानले व्यावहारिक रुपमा भने प्रतियोगिता सञ्चालनकै जिम्मेवारी थियो ।

सम्झौताबारे सुरुदेखि नै प्रश्नहरु उठेका थिए । तर क्रिकेट संघले कहिले सम्झौता रद्ध गर्ने त कहिले संशोधन गर्ने भन्दै चौथोपल्ट मिति सारेर पुस ९ गतेदेखि प्रतियोगिता सुरु गरायो । त्रिविमा नेपाल टी–२० लिग चलिरहँदा मुख्य साझेदार कम्पनीका मालिक जतिन अहुवालिया र सीईओ अभिषेक सक्लानी १८ पुसमा क्यानलाई जानकारी नदिई भारत फर्किए ।

‘प्रतियोगिताका दौरान धेरै विवादहरु आए । हाम्रो साझेदार कम्पनी सम्पर्कबिहीन हुनु र स्पट फिक्सिङको चर्चाले धेरै विवाद भयो’ अध्यक्ष चन्दले भने, ‘हामीलाई क्रिकेट जसरी पनि सञ्चालन गर्नु थियो । १३ देशका खेलाडी आइसकेका थिए । प्रतियोगिता बीचैमा रोक्दा हाम्रो प्रतिष्ठामा विश्वव्यापी असर पर्ने थियो ।’ प्रतियोगिता गर्दा पनि प्रतिष्ठा जोगियो त भन्ने प्रश्नमा उनले कुनै जवाफ दिन चाहेनन् । कमजोरी भयो भनिरहे ।

चतुरबहादुर चन्द ।

स्पट फिक्सिङको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेभेन थ्री स्पोर्टसका जतिनलाई समेत अभियुक्त बनाउन तयारी गरेको छ । उनकै योजनामा स्पट फिक्सिङ भएको प्रहरीको दाबी छ । राखेपको छानबिन समितिले पनि सम्झौता रद्द गर्न सुझाव दिएको छ ।

तर क्यान नेतृत्वले सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता गर्ने भन्ने प्रष्ट देखिएन । अध्यक्ष चन्दले सम्झौता प्रतियोगिताको दौरन रद्ध भइसकेको संकेत गरे । तर, सचिव मल्लले आफूहरु सेभेन थ्रीका मालिकसँग सम्पर्कमै रहेको बताएका छन् ।

प्रतियोगिताको फ्रेन्चाइज टिमको पारदर्शीता, खेलाडीको पारिश्रमिक र क्यानले पाउनुपर्ने लाइसेन्स बापतको रकम पाउने सुनिश्चित नभएपछि नेपाल टी–२० लिग सुरु हुनु १ दिनअघि थप सम्झौता गरेको अध्यक्ष चन्दले खुलासा गरे । ‘क्यानले पाउनुपर्ने रकम तथा पुरस्कार रकम विदा कटाएर १० दिनभित्र खातामा जम्मा हुनुपर्ने अन्यथा सम्झौता रद्ध हुने प्रावधानसहित हस्ताक्षर गरेका छौं,’ पत्रकार सम्मेलनमा चन्दले भनेका छन् ।

क्यानले ८ वर्षमा ३३ करोड रुपैयाँ पाउने गरी गत वर्ष फागुनमा सेभेन थ्रीसँग संशोधित सम्झौता गरेको थियो । त्यसअनुसार पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ प्रतियोगिता सुरु हुनुअघि नै पाउनुपर्ने थियो । प्रतियोगिता सकिँदासम्म सेभेन थ्रीले तीनपल्ट गरेर २ करोड २० लाख रुपैयाँमात्र पठाएको छ । पुरस्कार बापतको १ करोड २५ लाख रुपैयाँ पनि कहिले पाउने हो टुंगो छैन । सेभेन थ्रीले नै अपारदर्शी रुपमा ल्याएका चार वटा फ्रेन्चाइज टिमले अहिलेसम्म खेलाडीको वक्यौता पारिश्रमिक भुक्तानी गरेका छैनन् ।

‘६ मध्येपाँच टिमका खेलाडीले लगभग पारिश्रमिक पाएका छन् । एउटा टिमका खेलाडीले पनि ६० प्रतिशत हाराहारीमा पाइसकेका छन्,’ सचिव प्रशान्त मल्लले पत्रकार सम्मेलनमा भने, ‘मैले पुरस्कार रकम भुक्तानीका लागि सेभेन थ्रीलाई इमेल पठाएको छु । आएन भने कानूनी प्रक्रियामा जानुपर्छ ।’

व्यापारिक तथा रणनीतिक साझेदार कम्पनी नै फिक्सिङमा मुछिएपछि क्रिकेट संघको नेतृत्वमाथि प्रश्न उठेको छ । कार्य सम्पादन समितिको पनि उनलाई पूर्ण साथ छैन । कतिपयले नेतृत्वले राजीनामा दिनुपर्ने आवाज समेत उठाएका छन् ।

तर अध्यक्ष चन्दले भने राजीनामाको सोच नबनाएको प्रष्ट पारे । ‘हामीबाट अञ्जानमा केहि त्रुटि भएका छन् । पहिलोपल्ट परेकाले सबै प्रक्रियाबारे जानकार थिएनौं, तर कमजोरी सुधार्न यहाँहरुको सहयोगको अपेक्षा गरेको छु,’ उनले भने ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?