+
+

जब छोराले सुनाए दिवंगत बाबुका कविताहरु

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ १२ गते २०:००

१२ माघ, पोखरा ।

नरोए वनको न्याउली, वन डढ्यो, रोएर काँ जाउली ?
उराठलाग्दो चैतको मैना, झन लामो खडेरी … ।’

यो गीति कवितांश हो, पोखरा मियापाटनका लोककवि अलिमियाको । ०६३ मा निधन भएका अलिमियाले नेपाली साहित्य क्षेत्रमा थुप्रै आफ्ना अमर सिर्जना छाडेर गएका छन् ।

तिनै लोककवि स्व. अलिमियाको माथि उल्लेखित कविता बिहीबार पोखरामा उनकै छोरा हनिफ मियाले वाचन गरे । आफ्नो बाबुले लेखेका ३ वटा गीति कविता उनले लयात्मक वाचनमै सुनाए ।

दिवंगत साहित्यकार बुवाको गीति कविता सुनाउँदै गर्दा उनी नोस्टाल्जिक बने । पुराना दिन सम्झिँदै मियाले उन्ताका दिनमा केही विदेशी र राजा महेन्द्रका अगाडि बुवाले कविता वाचन गरेको प्रसंग उप्काए ।

दिवंगत दर्जनबढी साहित्यकारको स्मृतिमा उनीहरुको कविता वाचन गरेर सम्झिने मौका जुराइदिएको थियो, पोखरेली युवा सांस्कृतिक परिवारले । परिवारले आयोजना गरेको ‘सामूहिक साहित्यिक जयन्ती’ कार्यक्रममा विभिन्न १७ जना दिवंगत कविका कविता वाचन गरिएको थियो ।

कार्यक्रममा हनिफले मात्रै बुवाका कविता वाचन गरेनन् । दिवंगत साहित्यकार तेजनाथ घिमिरेका कविता पनि उनकै छोरा प्रकाश घिमिरेले वाचन गरेर सम्झिए । कविवरका रुपमा परिचित घिमिरेको असार ३२ गते निधन भएको थियो ।

दिवंगत कवि घिमिरेका ‘मृत्युलाई चुनौती, आधारभूत आवश्यकता र कान्तिपुरी’ गरी ३ वटा कविता उनकै छोरा नेपाली सिने एवं रंगमञ्चका लोकप्रिय कलाकारसमेत रहेका प्रकाश घिमिरेले वाचन गरेका थिए ।

कार्यक्रम आयोजक ‘पोखरेली युवा सांस्कृतिक परिवार’ पोखराकै जेठो साहित्यिक संस्थामा मानिन्छ, जुन ०३४ सालमा स्थापना भएर आजपर्यन्त क्रियाशील छ । संस्था जन्मिएकै वर्ष स्वर्गीय घिमिरेले रचना गरेको कविता छोरा घिमिरेले वाचन गरेका थिए । ‘यस्तो दिन पनि आउने रहेछ । बुवाको कविता आफ्नै स्वरमा वाचन गर्ने दुचेष्टा गरें,’ कविता वाचनपछि उनले भने ।

कार्यक्रममा भूपि शेरचनको ‘मैनबत्तीको शिखा’ नामक कविता कवि लक्ष्मण थापाले वाचन गरेर शेरचनलाई सम्झिए । वानिरा गिरीको कविता ‘म एउटा च्यातिएको पोस्टर’ कवि प्रकाश आचार्यले वाचन गरेका थिए ।

३ पटकसम्म मदन पुरस्कार पाएका शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको ‘खोला’ कविता मोति भुजेलले वाचन गरे । कवि कृष्ण जोशीको कविता ‘आँसु रुझेर कविताहरु’ कवि शरण आँसुले वाचन गरेका थिए ।

जनकविकेशरी उपमा पाएका साहित्यकार धर्मराज थापाको ‘नेपालीले माया मार्‍यो बरिलै’ गीति कविता कवि शिव संकल्पले सुनाए । कवि वाशु शशीको ‘बाटो टुंगिन्छ पाइलैपिच्छे’ कविता कवि कौशलचन्द्र जोशीले सुनाए ।

स्व. शशीको स्मृतिमा शशीकै लोकप्रिय कविता वाचन गर्दै कवि कौशलले भने,

‘जब मलाई यो बताइयो कि हिँड्नाले मात्रै पुगिँदैन,
तब मैले पुग्नुलाई छाडिदिएँ ।
र, हिँड्नुलाई वरण गरे
त्यस दिनदेखि मेरा यात्रा र जीवन एउटै बने
मलाई थकाई लाग्न छाड्यो
मैले हतारिन छाडें ।’

शशीको कविता पछि कृष्णसेन इच्छुकको कविता वाचन भयो । उनको चर्चित ‘जेल’ शीर्षकको कविता कवि अर्जुन अधिकारीले सुनाएका थिए । ०७८ कात्तिकमा निधन भएका साहित्यकार विजय वजिमयको ‘हातहरु जो क्षणक्षण भौतारिरहेछन्’ शीर्षकको कविता रंगकर्मी एमडी काफ्लेले वाचन गरे ।

साहित्यकार मोहन कोइरालाको ‘उज्यालो र अँध्यारो’ कविता लेखक हसिना बस्नेतले वाचन गरिन् । कवि बालकृष्ण समको कविता शिव संकल्पले वाचन गरे । साहित्यकार सरस्वती प्रतीक्षाले कवि पारिजातको ‘लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र’ कविता वाचन गर्दै कुन स्वतन्त्र चराले उड्न पायो र ? भन्दै प्रश्न गरिन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको कालीगण्डकी कविता चैतन्य अधिकारीले वाचन गरे । हरिभक्त कटुवालको चर्चित कविता ‘यो जिन्दगी खै के जिन्दगी’ कवि रमेश श्रेष्ठले वाचन गरे । उनले कटुवाललाई सम्झिँदै कविताबाटै भने,

‘बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ
खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ
आँखा चिम्लन पनि जगजगी
आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी !’

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले पोखरामा ३५ सालदेखि निरन्तर दिवंगत साहित्यकारहरुको स्मृतिमा नियमित कार्यक्रम गर्न सुरु गरेको सम्झिए । उनले यस्ता कार्यक्रमले पुराना साहित्यकार र नयाँ पुस्ताबीचको पुलको काम गर्ने बताए ।

‘३५ सालमा पहिलो पटक हामीले यो कार्यक्रम गर्दा ठेलामा विभिन्न कवि, साहित्यकारहरुको फोटो राखेर सहर परिक्रमा गरेर विन्ध्यवासिनीमा कोण सभा गरेका थियौं । मान्छेहरुको सहभागिता पनि उल्लेख्य थियो,’ सरुभक्तले सम्झिए, ‘त्यो सुरुआत नै यो संस्थाको ऐतिहासिका कार्यक्रम थियो ।’

सरुभक्तले त्यतिबेला गरेको सामूहिक साहित्यिक कार्यक्रमले देशव्यापी नै चर्चा पाएको स्मरण गरे । ‘पछि मै त्यहीबेला गोरखापत्रमा यही कार्यक्रमबारे लामो लेख पनि लेखेको थिएँ, अहिले पनि सम्झना आउँछ,’ केही दुखेसो पोखे, ‘पछिपछि कार्यक्रममा गिरावट आयो र हराउँदै गयो । अहिले फेरि गर्नुभएछ खुसी लाग्यो ।’ कार्यक्रममा सरुभक्तले नेपालका पहिलो मुक्तककार भीमदर्शन रोकाको कविता वाचन गरेका थिए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?