+
+

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने अटाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १६:५१

१३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर, बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।

लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो । त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन् ।

उनी थुनामुक्त भएपछि क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेका थिए । बिहीबार मात्र क्रिकेट संघका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकुवा गरेर खेलमा फर्काउने विषयमा परामर्श भइरहेको बताएका थिए । तर, शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन् ।

स्कटल्याण्ड र नामिबिया सहितको त्रिकोणात्मक सिरिजका लागि बोलाइएका क्रिकेटरमा मौसम ढकाल, अंकित सुवेदी र सूर्य तामाङ नयाँ अनुहार छन् ।

यस्तै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल र सन्दीप जोरा छन् ।

यसैगरी किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

मनोज प्रभाकरले डेब्यु गराएका हरिशंकर साह र राष्ट्रिय टिममा भित्र्याएका नन्दन यादव यो सूचीमा परेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?