१४ माघ, काठमाडौं । दक्षिण अमेरिकी महादेशको फुटबलको प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ ।
उत्तर अमेरिकी राष्ट्र अमेरिकामा आयोजना हुने २०१४ को कोपा अमेरिकामा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछ । जसमा दक्षिण अमेरिकाका १० टिम हुनेछन् भने उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टिम हुनेछन् ।
२०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ कन्मेबोलले अमेरिकामा गर्ने निर्णय गरेको छ ।
कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको सय वर्ष पूरा भएको अवसरमा २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामा भएको थियो ।
पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो ।
२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोनकाकाफबीच विभिन्न सहमति समेत भएको छ ।
जस अनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पुर्याइनेछ । जसमा दक्षिण अमेरिकी १० टिम स्वत छानिनेछन् भने ६ टिम कोनकाकफबाट हुनेछ । टिमको टुङ्गो हुने २०२३-२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ ।
आयोजक भएपनि अमेरिका स्वत: छनोट हुने छैन ।
यस्तै दुई महादेशको फुटबल संघबीच भएको रणनीतिक साझेदारी अनुसार २०२४ को कोनकाकाफ महिला गोल्डकपमा कन्मेबोलबाट ४ आमन्त्रित टिम हुनेछ । यसमा कूल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै दुवै महादेशबाट २-२ टिम समावेश गरी २०२४ मा चार टिमको नयाँ क्लब प्रतियोगिता समेत गर्ने भएको छ ।
प्रतिक्रिया 4