
१७ माघ, पोखरा । नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति (बोर्ड) बैठक निर्धारित समयभन्दा ढिला गरी मंगलबार साँझदेखि पोखरामा सुरु भएको छ ।
दिउँसो १२ बजेदेखि सुरु हुने भनिएको बैठकको सुरुमै असन्तुष्ट ७ जना कार्यसमिति सदस्यले अध्यक्षसहित कार्यसम्पादन समितिका पाँच जनाको राजीनामा मागेपछि विषयवस्तुमा प्रवेश नगरी स्थगित भएको थियो ।
अध्यक्ष चतुरबहादुर चन्दलगायतका पदाधिकारीले सबै विषय बैठकमै छलफल गर्ने भन्दै सबै सदस्यहरुलाई सहभागी हुन आग्रह गर्दा औपचारिक बैठक सुरु हुन ढिला भएको हो ।
साँझसम्म पनि उनीहरु नगएपछि कार्यसमितिका १० जनाको उपस्थितिमा बैठक सुरु भएको छ ।
बैठकमा आमन्त्रित सदस्यका रुपमा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु र कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जय सिग्देल सहभागी छन् ।
नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यले राजीनामा माग गरेका थिए ।
क्यान बोर्ड बैठकमा १६ एजेण्डाहरुबारे छलफल हुँदैछ ।
नेपाल टी-२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सम्झौता रद्ध गर्दै पठाएको पत्रका बारेमा पनि बैठकमा छलफल हुँदै छ ।
विवादमा परेको नेपाल टी-२० लिगको सम्झौता खारेज गर्न क्यानमाथि दबाव परे पनि भारतीय कम्पनीले नै सम्झौता रद्ध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4