+
+

लुम्बिनीमा पर्यटक हुर्र आउँछन्, उही  दिन फर्किन्छन्

पर्यटकको बसाइँ लम्ब्याउने वातावरण बनाउन व्यवसायीको माग

टोपराज शर्मा टोपराज शर्मा
२०७९ माघ १८ गते १६:२०

१८ माघ, बुटवल । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल हो । संसारभरका बुद्धमार्गी र शान्तिप्रेमीहरुको पवित्र गन्तव्य लुम्बिनीमा पर्यटक आगमनको संख्या उल्लेख्य भएपनि बसाइँ छोटो हुँदा लाभ लिन नसकिएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

कोरोना महामारीका कारण दुई वर्ष सुनसानजस्तै बनेको बुद्धजन्मस्थल लुम्बिनीमा सन् २०२२ मा ९ लाख आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । जसमा ६ लाख ४९ हजार ७८ जना नेपाली, २ लाख ३० हजार ८ सय ६३ भारतीय छन् । राहदानी बाहक तेस्रो मुलुकका पर्यटक २३ हजार ९ सय ४२ जना आएका छन् । यो संख्या २०१९ यताको सबैभन्दा धेरै हो ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०२२ मा ६ लाख ४६ हजार ७८ जना आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । कोषका अनुसार सन् २०२१ मा ४ लाख ६३ हजार ९६३ जना लुम्बिनी आएका थिए । त्यसअघि सन् २०२० मा २ लाख १० हजारले मात्र लुम्बिनी घुमेको तथ्यांक छ । दुई वर्षदेखि पर्यटक बढ्दै गएका छन् ।

तर, यसरी आएका अधिकांश पर्यटकहरू नेपाली हुने र उनीहरु एक रात पनि नबसी उही दिनमै फर्किने गरेका कारण व्यवसायमा सुधार हुन नसकेको पर्यटन व्यवसायीको गुनासो छ ।

लुम्बिनीलाई लक्षित गरी यहाँ साना, मझौला र ठूला गरी करिब तीन सय होटेल सञ्चालनमा छन् । पर्यटकहरु एक दिन पनि लुम्बिनीमा नबसी फर्किंदा व्यवसायमा कुनै सुधार नहुने उनीहरुको भनाइ छ । मान्छेको हुल हेर्ने काम मात्रै भएको भन्दै उनीहरुले लुम्बिनी घुम्न आएका पर्यटकको बसाइँ लम्बाउने योजना र वातावरण बनाउन सरकार र लुम्बिनी क्षेत्र विकास कोषलाई आग्रह गरेका छन् । ‘लाखौंको संख्यामा आउने पर्यटकहरु हुर्र आउँछन्, मायादेवी मन्दिरमा फोटो खिच्छन् र फर्किहाल्छन्,’ लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘यसरी पर्यटकको हुल हेर्ने र संख्या गनेर बस्ने मात्रै भयौं, व्यवसायमा खासै सुधार हुन सकेन ।’ तेस्रो मुलुकका पर्यटकसँग खर्च गर्ने क्षमता हुने भएकाले उनीहरुलाई कम्तीमा एक रात मात्रै बास बसाल्ने वातावरण बनाउन सके लाभ हुने उनको भनाइ छ ।

भारतीय पर्यटकको हकमा भारतीय ट्राभल एजेन्सी र टुर गाइडका कारण उनीहरु लुम्बिनी घुमेर केही घण्टामै पुनः भारत फर्किने वा बास बस्न चितवन वा पोखरा पुग्ने गर्दा यहाँका व्यवसायले राहत महसुस गर्न नसकेको ज्ञवालीले बताए । ‘भारतीय ट्राभल एजेन्सी र टुर गाइडको भर पर्दा यहाँ भारतीय पर्यटक बस्ने वातावरण नबनेको हो,’ ज्ञवालीले भने, ‘त्यसैले बेलहिया आइसकेपछि नेपाली टुर गाइडमार्फत भ्रमण नगराउँदासम्म लुम्बिनीमा पर्यटक अडाउन सकिन्न ।’

लुम्बिनीमा मायादेवी मन्दिर बाहेक दर्जनौं घुम्ने ठाउँहरु रहेको तर भारतीय टुर गाइडले अरु ठाउँबारे जानकारी नगराई फर्काउने परिपाटी तोड्न सके मात्रै पर्यटकको बसाइँ लम्ब्याउन सकिने ज्ञवालीले सुझाए ।

‘बुद्ध सर्किटको टुर प्याकेज बनाउन सक्नुपर्छ’

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्य लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, रामग्राम र देवदहलाई जोडेर वृहत आध्यात्मिक केन्द्र र शान्ति शहरको रुपमा विकास गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिने बताउँछन् । त्यसो हुन सके व्यवसायीले पनि लाभ लिन सक्ने उनी बताउँछन् । ‘आन्तरिक र वाह्य दुवै पर्यटकलाई लुम्बिनी आउँदा धेरै दिन भुलाउन छुट्टै आध्यात्मिक वातावरण र पूर्वाधार चाहिन्छ’ उनले भने, ‘लुम्बिनीसँगै अरु ठाउँलाई जोडेर बुद्ध सर्किटको टुर प्याकेज बनाउन सक्नुपर्छ ।’

उनले बौद्धमार्गी भएका विश्वका ३० भन्दा बढी देशहरुमध्ये सम्भव भएका देशहरुमा गौतमबुद्ध विमानस्थलबाट सिधा उडान गरेर धेरै पैसा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक तान्न सरकारी पहल हुनुपर्ने सुझाए ।

नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले लुम्बिनी विकास कोषको चौघेरा भन्दा बाहिरको सिंगो लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीको पर्यटन विकासमा अपनत्व लिनुपर्नेमा त्यसो हुन नसकेको औंल्याइन् ।

मायादेवी मन्दिर र लुम्बिनी विकास कोष भन्दा बाहिरको भूगोल र समुदायलाई नजोडी लुम्बिनी आउने पर्यटकको बसाइँ नलम्बिने पन्तको भनाइ छ । ‘लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी वरपरका प्राचीन थारु र मुस्लिम र यादव गाउँहरु र सारस चरा बस्ने ठाउँ अवलोकन गराउने, स्थानीय रैथाने खाना, खाजा, कला संस्कृति, परम्परा पस्किने काम गर्न अझै सकेका छैनौं,’ उनले भनिन्, ‘अन्यत्र भन्दा फरक लुम्बिनीको पहिचान र चिनारी दिन सक्यौं भने मात्रै पर्यटक रमाउँछन् र खर्च गर्छन् ।’

उनले भारतका बोधगया, सारनाथ, बनारस, लखनऊ, दिल्ली, कुसीनगरलगायतका क्षेत्रमा लुम्बिनीको अझ बढी मार्केटिङ गर्न सके त्यहाँ आउने विदेशी पर्यटकहरूको केही अंश भए पनि लुम्बिनी ल्याउन सकिने बताइन् ।

रुपन्देही–५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले कम्तीमा एक–दुई दिन बस्ने गुणस्तरीय पर्यटक लुम्बिनी भ्रमणमा आए मात्र पर्यटनबाट लाभ लिन सकिने बताउँछन् । लुम्बिनीमा पूजा, सूत्रपाठ तथा ध्यानमा बस्ने भिक्षु भिक्षुणीलाई विशेष ध्यान दिएर उनीहरूको चहलपहल नियमित बढाउन लुम्बिनीलाई आध्यात्मिक शहरको रुपमा विकास गर्नुपर्ने सांसद घिमिरेले औंल्याए ।

‘लुम्बिनी वरपरका १३ वटा गाउँको भिलेज टुर, कपिलवस्तुको तिलौराकोट, कुदान, देवदह र रामग्रामको बुद्ध सर्किट यात्रा र मायादेवीलाई प्रसव पीडा शुरू भएदेखि सिद्धार्थ जन्मेर कपिलवस्तु फर्किंदासम्मको झलक ‘विराह नृत्य’ देखाउन सकियो भने पर्यटकलाई भुलाउन सकिन्छ,’ सांसद घिमिरेले भने, ‘पर्यटकको बसाइँ लम्ब्याउन तीनै तहका सरकारबीच सहकार्यको खाँचो छ ।’

पर्यटन व्यवसायी लिलामणि शर्मा सरकारी निकाय र स्वयं पर्यटन व्यवसायीले लुम्बिनीको महत्वलाई गहिरोसँग अझै बुझन् नसकेको औंल्याउँछन् । ‘लुम्बिनी एक÷दुई दिन घुमेर पुग्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले लुम्बिनी घुम्न र बुझ्न कम्तीमा एक हप्ता लाग्छ,’ शर्मा भन्छन्, ‘लुम्बिनी विश्वकै यति महत्वपूर्ण, पवित्र र अलौकिक स्थल हो यसको भ्रमण गर्न जोसुकैका लागि पनि कम्तीमा एकहप्ता चाहिन्छ ।’

चिनियाँ पर्यटकको सम्भावना

नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटा चिनियाँ बौद्धमार्गीलाई लुम्बिनीमा आकर्षित गर्न सकिने प्रचुर सम्भावना भएपनि सरकार र पर्यटन व्यवसायी यसमा चुकेको औंल्याउँछन् ।

‘चीनमा ५५ करोड भन्दा धेरै जनसंख्या बौद्धमार्गी छन्, उनीहरुमाझ बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार र मार्केटिङ भएकै छैन,’ सापकोटाले भने, ‘५५ करोडमध्ये वर्षमा २ प्रतिशतलाई मात्रै लुम्बिनी ल्याउन सकेपनि त्यसले लुम्बिनीको पर्यटनमा कायापलट गर्नसक्छ, तर उनीहरुलाई आकर्षित गर्न यहाँ चिनियाँमैत्री होटेल, रेष्टुरेन्ट र अन्य पूर्वाधार छैनन् ।’

चिनियाँहरु आउँदा एकै समूहमा सयौंको संख्यामा आउने र भ्रमण गर्न रुचाउने भएकाले उनीहरुलाई राख्न सक्ने क्षमताका ठूला होटेल नै नभएको सापकोटाले बताए । चिनियाँ भाषा जानेका टुर गाइड उत्पादनमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

काम भइरहेको छ, रिजल्ट आउन समय लाग्छ : राई

लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले लुम्बिनी भ्रमणमा आउने अधिकांश आन्तरिक पर्यटकको बसाइँ एक दिनको पनि नभएको बताए । तर विदेशी पर्यटकको बसाइँ अवधि विगत भन्दा बढ्दै गएर औसतमा १.८८ दिन पुगेको बताउँछन् । ‘लुम्बिनी भ्रमणमा आउने मध्ये झण्डै ८० प्रतिशत आन्तरिक पर्यटक हुन्छन्, उनीहरु अधिकांश एक रात पनि नबसी फर्किन्छन्,’ उनले भने, ‘तर विदेशी पर्यटकको हकमा औसतमा झण्डै दुई दिन बस्ने गरेको सर्वेक्षणले देखाएको छ ।’

ग्रेटर लुम्बिनी सर्किटको टुर प्याकेजसहित पर्यटकको बसाइँ लम्ब्याउने योजनाहरु विकास कोषले तयार गरेको तर सरकार फेरबदलका कारण कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । ‘पर्यटन व्यवसायीका सुझावका आधारमा दिगो पर्यटन विकासका लागि कोषले काम गरिरहेको छ, रिजल्ट आउन केही समय लागेको मात्रै हो,’ राई भन्छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?