+
+

बचतकर्ताले घेरे देउराली सहकारीका अध्यक्षको घर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १३:१३

१८ माघ, काठमाडौं । बचतकर्ताहरुले ललितपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाका सञ्चालक रविन्द्र चौलागाईंको घर घेरेका छन् । पटक पटकको प्रतिवद्धता अनुसार बचत रकम फिर्ता नगरेको भन्दै उनीहरु चौलागाईंको घर घेर्न पुगेका हुन् । सञ्चालक चौलागाईंले बचतरकम फिर्ता गर्ने समय पटक पटक टारेपछि आफूहरु बाध्य भएर उनको घर घेर्न जानुपरेको सहकारीका बचतकर्ता आकाश रिमाल बताउँछन् ।

बचतकर्ता मात्रै नभई कर्मचारीले समेत तलब नपाएको भन्दै चौलागाईंको घर घेर्न पुगेका छन् । ‘पछिल्लो पटक पुस मसान्तभित्र रकम फिर्ता गर्ने प्रतिवद्धता चौलागाईंले गरेका थिए । त्यसपछि माघ पहिलो साता पुग्यो । तर, सहकारीका अध्यक्ष बचतकर्ताको सम्पर्कमा आएनन्,’ उनले भने, ‘उनको विश्वासपात्रले गरेको फोन उठ्छ । हामीसँग सम्पर्क नै नभएपछि सहकारीको कर्मचारीलाई दबाब दियौं । तलब नपाएको भन्दै उनीहरु पनि चौलागाईंको घर घेर्न आएका छन् ।’

सहकारीले गत कात्तिकमा नै साना बचतकर्तालाई क्रमिक रुपले निक्षेप फिर्ता गर्ने र ठूला बचतकर्तालाई नवलपरासीमा रहेको जग्गा नै पास गरिदिने बताएको थियो । २० कात्तिकमा सहकारीले एक विज्ञप्ति जारी गर्दै सहकारीका बचतकर्ता समितिका संयोजक केदारप्रसाद चौलागाईं र सोही समितिका सदस्य कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विर्ल्डस एण्ड कन्सल्ट्यान्सको नाममा नवलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको बताएको थियो ।

सहकारीले विज्ञप्तिमा सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समय भन्दा अगाडि रविन्द्र चौलागाईंले बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत संरक्षण बापत चेक समेत दिएको उल्लेख गरेको थियो ।

तर, १८ माघसम्म पनि सहकारीका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै सहकारीका अध्यक्ष चौलागाईंको घर घेर्न पुगेका हुन् ।

बचतकर्ता पीडित समूहका सदस्य नकुल आचार्य सहकारीले झुठो विज्ञप्ति जारी गरेको बताउँछन् । सहकारीले नवलपरासीको कावसोतीमा बाटो नभएको २८ कठ्ठा मात्रै जग्गा पास गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?