+
+

खुट्टा चल्दैन, पेट त भोकाउँछ नि मेयरसा’ब !

यो शहर धनीमानिको मात्रै हो ?

अमृत चिमरिया अमृत चिमरिया
२०७९ माघ १८ गते २१:४२

१८ माघ, काठमाडौं । पुरानो बसपार्कमा बनिरहेको अग्लो भवनको अगाडि धुलाम्य भुईं र टायर खिइसकेको पुरानो ह्विलचेयर डिल्ली कार्कीको जीवन गुजार्ने माध्यम हो । यहाँ बसेर मास्क र पानी नबेचे उनको घरमा भात पाक्दैन ।

तीनै कार्कीलाई मंगलबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्विल चियरसहित नियन्त्रणमा लिएर ट्रकमा राखेको तस्वीर बुधबारको गोरखापत्रमा छापिएको छ । उनले गरेको ‘अपराध’ थियो, सडक छेउमा बसेर गरेको मास्क बिक्री ।

पत्रिकामा छापिएको आफ्नो तस्वीर देखेर कार्की भक्कानिए । ‘यो शहर धनीमानीको मात्रै हो र हजुर ?,’ आँशु खसाल्दै उनले अनलाइनखबरसँग सोधे, ‘यो देश हाम्रो चाहिँ हैन र !’

कार्कीको घर दोलखाको शैलुङ हो । उनको कम्मरभन्दा मुनिको भाग चल्दैन । उनको खुट्टा पो चल्दैन, पेट त भोकाउँछ । त्यसैले कतै काम पाउने सम्भावना  नभएकाले उनले सहरको एउटा कुनामा झोलामा सामान ल्याएर बेच्ने निधो गरेका हुन् । त्यसकै भरमा जीवन धानिरहेका कार्कीको गुजारामाथि पछिल्ला दिनमा काठमाडौं महानगरको नगर प्रहरीको आँखा लागेको छ ।

पटक(पटक नगर प्रहरीले लखेट्दै दुःख दिइरहेको थियो, मंगलबार दिउँसो त ‘हिँड्नुस्, महानगरमा  भेट्न बोलाएको छ’ भन्दै ट्रकमा राखेर उनलाई टेकु पु¥याइयो । तर, कसैलाई भेटाएनन् । त्यतै बसिरहन र कतै नजान उर्दी दिए ।

‘महानगरले समातेको सामान राख्ने ठाउँमा लगेर राखे, लिएर जानेबेला जुन ठाउँबाट लगेको त्यहीँ ठाउँमा ल्याइदिन्छौं भनेका थिए,’ उनी भन्छन्,‘ तर, ५ बजेपछि तिम्रो मान्छे बोलाऊ, अनि जाऊ भने ।’

कार्कीले दिउँसो गाडीमा आफूलाई हाल्नुअघि गरेको वाचा सम्झाए, तर नगर प्रहरीले उल्टै हप्कायो, तिमीहरुलाई त्यहीँ लगिदिने नियम कहाँ छ ?’ साँझ परिसकेकाले रुनभुल्लमा परेका कार्कीले भाञ्जालाई बोलाएर घर पुगे ।

महानगरपालिकाले भने कार्कीलाई उद्धार गरेको दावी गरेको छ । ‘नगर प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको हो, पक्राउ भनेर हल्ला भएको जस्तो केही होइन,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन् ।

तर, ठूलो पारिवारिक दायित्व रहेका कार्की किन र कसरी आश्रम जान्छन् ? महानगर यसबारे मौन छ ।

पटक-पटक भइरहेको दुव्र्यवहारका कारण कार्कीलाई यो शहरमा बस्न रहर त छैन । तर, परिस्थितिको परिबन्धमा छन् । उनी ५ वर्ष अघिसम्म दोलखाको शैलुङमा एउटा भैंसी, दुईवटा बाख्रा पालेर थोरै बारीमा अन्न लगाएर जीविकोपार्जन गर्थे ।

५१ वर्षका उनी ४ वर्षअघि घाँस काट्ने बेला रुखबाट खसे । त्यो दुर्घटनाले उनको कम्मरभन्दा तलतिरको भाग नचल्ने भइदियो । उनले २ वर्षसम्म त काठमाडौंका अस्पतालमा उपचारका लागि ठूलो रकम खर्च गरे । ‘उपचारमा सबै सम्पत्ति सकियो, २८ लाख रुपैयाँ त खर्च नै भयो’, उनी भन्छन्, ‘अस्पतालबाट निस्किंदा मसँग एउटा ह्विलचेयर मात्रै थियो ।’

गाउँ फर्किंदा बाँच्ने बाटो पनि नहुने भएपछि उनले शहरको विकल्प भेटेनन् । काठमाडौं आएदेखि पुरानो बसपार्कमा ह्विल चियरमै बसेर मास्क र पानी बेचिरहेका छन् । सडकमा हिँड्नेले खोज्ने भएकाले केही आय बढ्छ कि भनेर उनले चुरोट पनि बेच्छन् ।

कार्कीकी कान्छी छोरी महाबौद्धको एक पसलमा काम गर्छिन् । ‘छोरीको कमाइ महिनाको ८ हजार हुन्छ । उनको पैसाले कोठाभाडा पुग्छ’, उनी भन्छन्, ‘महिनामा औषधि उपचारमा २०(२२ हजारको औषधी उपचार लाग्छ ।’

कार्कीकी श्रीमती केही अघिसम्म थर्मसमा राखेर घुम्दै चिया बेच्थिन् । तर, महानगरले त्यो पनि नदिएपछि उनी हात बाँधेर बस्न बाध्य छिन् ।

‘रोगी मान्छेले गरिखाने दुई वटा थर्मस नगर प्रहरीले खोसिदियो,’ भक्कानिंदै उनी भन्छन्, ‘अब केही बाँकी छैन, औषधी मात्रै हैन, दाल चामल किन्न पनि खर्च नहुने भयो ।’

नगरपालिकाले उनलाई पटक-पटक त्यहाँ बसेर सामान नबेच्न भनिसकेको छ । तर, अब कहाँ जाने त ? उनीसँग यसको जवाफ छैन ।

‘कि यस्तो ठाउँमा बस्नुस्, यसरी गरेर खानुस् भन्नुपर्यो,’ उनी भन्छन्,‘मैले नगरपालिकाको सरहरुलाई मेरो बाध्यता धेरै चोटी सुनाएँ, तर कसैले बुझेनन् ।’

आफूलाई पनि फुटपाथमा बस्ने रहर नभएको भन्दै उनले एकपटक आफ्नो ठाउँमा बसेर सोच्न मेयर बालेन्द्र साहलाई आग्रह गरे । ‘अहिले गाउँमा नै फर्क भन्दै आउँछन्, गाउँमा त केही बाँकी छैन’, उनी भन्छन्,‘अब कहाँ जानु, कसरी बाँच्नु ?’

अपराधीजस्तो व्यवहार भयो

अशक्त अपाङ्ग भएपनि सडक किनारमा बसेर आफ्नो गर्जो टार्नेहरु अहिले कोही पनि महानगरले दिएको पीडाबाट मुक्त छैनन् । रत्नपार्कमै ह्विलचेयरमा बसेर व्यापार गर्दै आएका सिन्धुपाल्चोक घर भएका रेशम बुढाथोकीले त महानगरको टोकसोपछि यो काम नै छाडिसके । अब के गर्ने भन्नेमा उनी अलमलमा छन् । अब महानगरमा आफूहरुजस्तो मान्छेले काम गरेर खान नै नसक्ने अवस्था आएको उनको गुनासो छ ।

१८ वर्ष अगाडि गाडी दुर्घटनामा परेका बुढाथोकीलाई पक्षघात भएको छ । महानगरले सडकमा बस्नेहरुलाई ज्यादती गरेको भन्दै बुढाथोकी मेयर बालेनसँग आक्रोशित छन् ।

‘ह्विल चेयरमै बसेर जीवन धान्न परेको छ, अब अरु गर्न सक्ने कुरा पनि केही छैन, गह्रुङगो काम गर्न जान सकिंदैन’, भावुक हुँदै उनी भन्छन्, ‘लुट्न जान सकिंदैन, गरेर खान नदिने भए मारिदिए भो नि त !’

मुटु रोगको समस्या बोकेर बाँचेका उनी अस्पताल नजिक असनमा कोठा लिएर बसेको बताउँछन् ।

‘नगर प्रहरी आए भने अरु त भाग्लान्, तर यो ह्विलचेयर लिएर कहाँ  भाग्नु ?,’ उनी भन्छन्,‘ त्यही भएर मैले त काम नै नगर्ने निधो गरिसकेँ, तर केही काम नगरी कसरी बाँच्नु !’

काप्चामा बसेर खाने पेट पाल्ने मेलो जुटाउँदा महानगरले अपराधी जस्तो व्यवहार गरेको भन्दै बुढाथोकीले प्रश्न गरे, ‘हात पनि छैन, खुट्टा पनि छैन तर पेट त छ नि !’

‘यस्तो विधि अत्याचार त कहिल्यै भएको थिएन,’ उनी बिन्ती गर्दै भन्छन्,‘ हामीलाई गरिखाने ठाउँ दिनुपर्यो, होइन भने विष दिए पनि हुन्छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?