+
+

पैसा तिरेर छुट्न सक्छन् सांसद अरुण चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १७:३९

१९ माघ, काठमाडौं । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी बिहीबार पक्राउ परे ।

बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार मात्र अदालत लैजाने तयारी गरेको छ । ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सांसद चौधरीले ६ महिना कैद र ८ लाख ७५ हजार जरिवानाको एक तिहाइ जरिवाना तिर्नुपर्नेछ । तर कानुन अनुसार उनले जेल नबसी पनि सजाय भुक्तान गर्न सक्नेछन् ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जवीराज रेग्मीका अनुसार कसूर गरेको तरिका, आचरण लगायतका पक्ष विचार गरी अदालतले रकम लिएर पनि छाड्न सक्नेछ । यसरी छुट्दा उनले दिनको ३०० रुपैयाँका दरले रकम तिर्नुपर्छ ।

‘आगो लगाएको’ मुद्दा सांसद हुन अयोग्य हुने खालको कसुर नभएकाले चौधरीले रकम बुझाएर छुटेमा भोलिपल्टदेखि नै सांसदको रुपमा काम गर्न पाउँछन् ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।

जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो । फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए ।

वीरबहादुर चौधरीलाई कैलालीका जिल्ला न्यायाधीश डल्लुराम चौधरीलाई मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५  अनुसार रकम तिरेर छुट्न नपाउने भन्दै कैद भुक्तानीका लागि जेल नै पठाएका थिए । त्यसैले अरुणकुमारको हकमा के हुन्छ भन्ने एकीन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?