+
+
फ्राइडे रिलिज :

कमेडी फिल्म ‘ह्यारीकी प्यारी’ रिलिज, साउथको ‘माइकल’ बेलुकादेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १२:१४

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ देशव्यापी रिलिज भएको छ । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’लाई कपिल रिजालले निर्देशन गरेका हुन् । २ घण्टा १६ मिनेट लामो फिल्मलाई कमेडी, ड्रामा र रोमान्स जनरामा राखिएको छ ।

यो फिल्मले दुई अलग पृष्ठभूमि र भूगोलका प्रमुख पात्रहरु कसरी एकापसमा भेट्छन् र प्रेममा पर्छन् भन्ने उतारचढावको कथा भन्छ । दन्त चिकित्सक रहेका रिजालले यही फिल्मबाट निर्देशकीय डेब्यु गरेका छन् । लामो समयपछि भोला रिजालको फिल्म निर्माण कम्पनी बीआर प्रोडक्सन यो प्रोजेक्टमार्फत कमब्याक भएको छ । कमेडी र ग्रामीण कथावस्तु रुचाउने दर्शकलाई यो फिल्म मन पर्नसक्छ ।

शुक्रबार बेलुकादेखि दक्षिण भारतीय फिल्म ‘माइकल’ पनि प्रदर्शन हुँदैछ । दिउँसो सेन्सर गरेर फिल्मलाई बेलुका रिलिज तयारी गरिएको छ । रञ्जित जेयाकोडी निर्देशित यो फिल्म २ घण्टा ३५ मिनेट लामो छ । फिल्ममा विजय सेतुपाथी र सन्दीप किसानको प्रमुख अभिनय छ । आफ्नो क्षेत्रको ग्याङस्टर बनेर शासन गर्ने सपना देख्ने एक युवकको कथावस्तुमा फिल्म आधारित छ ।

गत सातासम्म नेपालमा शाहरुख खान स्टारर हिन्दी फिल्म पठानको दबदबा थियो । गत साता रिलिज भएको पठानको अकुपेन्सीमा गिरावट आए पनि शो संख्यामा उल्लेख्य कमी छैन । यदि नयाँ रिलिज फिल्मले पिकअप लिन सकेमा पठानको शो संख्यामा पनि कमी आउन सक्छ । नयाँ रिलिज भएको ह्यारीकी प्यारीको बिहानी अकुपेन्सी १० प्रतिशत हाराहारीमा छ ।

यसैबीच, सेन्सरकै दिनमा फिल्म रिलिज गर्ने योजनाप्रति चलचित्र जाँच समितिका एक सदस्य सन्तोषकुमार थापाले आपत्ति जनाएका छन् । फेसबुकमार्फत टिप्पणी गर्दै उनले चार दिनअघि सेन्सर सिफारिस लिनुपर्ने चलचित्र विकास बोर्डको नियमप्रति प्रश्न उठाएका छन् ।

सेन्सर बोर्डले कुन फिल्म सेन्सर गर्ने भनेर सदस्यहरुलाई जानकारी नदिएकोप्रति उनको आपत्ति छ । उनी प्रश्न गर्छन्, ‘२ बजे सेन्सर गरेर सोही दिन देखाउने हो भने यो सेन्सरवाला नाटक चाहिं किन गर्नुपर्‍यो ?’ सेन्सर बोर्डका कर्मचारी खेमराज जोशीका अनुसार दक्षिण भारतीय फिल्म माइकलको दिउँसो २ बजे सेन्सर गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?