+
+

गुलाबको कटिङ कसरी राख्ने ? कुन याममा फुलाउने ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ माघ २० गते १४:०७

काठमाडौं । हेर्दै मनमोहक गुलाबको फूल सौन्दर्य र सुगन्धको मिश्रण पनि हो । त्यसैले धेरैलाई गुलाबको फूल मन पर्छ । यो फूललाई घर र बगैंचामा सजाएर वातावरण नै मनमोहक बनाउन सकिन्छ ।

गुलाबको सौन्दर्यले मोहित त बनाउँछ नै मनमा सकारात्मक ऊर्जा पैदा गरिदिन्छ । गुलाबको फूल कसरी रोप्ने र कसरी हेरचाह गर्नेलगायत विषयमा कुमारी नर्सरीका सञ्चालक राकेश श्रेष्ठसँग गरिएको कुराकानी :

गुलाब कति प्रजातिको हुन्छ ? नेपालको रैथाने प्रजाति कुन कुन हो ?

गुलाबको फूल थुप्रै प्रजातिको हुन्छ । कुनै गमलामा रोप्न सकिने हुन्छ भने कुनै बगैंचामा । नेपालमा पाइने स्थानीय जातका गुलाब भने रोजा म्याक्रोफिला, रोजा सेरिसिया र रोजा ब्रुनानी आदि हुन् ।

कति रंगको हुन्छ गुलाब ?

गुलाबको फूल प्रायः सबै रंगमा पाइन्छ । तर बढी रुचाइएको रंगहरु रातो, गुलाबी, सेतो, सुन्तला र पहेंलो हुन्  ।

भ्यालेन्टाइनमा बढी बिक्री हुने रातो गुलाब कुन प्रजातिको हो ?

यो गुलाब ‘स्टिम’ प्रजातिको हो ।

यस्तो गुलाबलाई कसरी रोप्ने ?

गुलाबको बिरुवा (कटिङ) विदेशबाट ल्याउने गरिएको छ । यद्यपि यहाँ उपलब्ध कटिङबाट पनि बिरुवा फैलाउन सकिन्छ । यसको कटिङ रोप्न माघदेखि चैतसम्मको सिजन उपयुक्त हुन्छ । अहिले हाइटेक प्रविधिले गर्दा अरू सिजनमा पनि रोप्न सकिन्छ ।

कसरी कस्तो माटोमा राख्ने ?

गुलाबको फूल रोप्न प्राङ्गारिक पदार्थको मात्रा प्रशस्त भएको एवं पानी नजम्ने किसिमको माटो भएको हुनुपर्छ । बलौटे माटो यसका लागि उपयुक्त हुन्छ ।

कसरी सिंचाइ गर्ने ?

सिंचाइ गर्दा बिहान र साँझको समयमा उत्तम हुन्छ । यसको बिरुवालाई अन्य बिरुवाको तुलनामा अलि बढी पानीको आवश्यकता पर्छ । तर यसो भन्दैमा आवश्यकभन्दा बढी पानी पनि हाल्नुहुँदैन । अत्यधिक पानीले बिरुवाको जरा सडाउने वा फङ्गस लाग्न सक्छ ।

गोडमेल वा मलजल कसरी गर्ने ?

गुलाबको फूललाई हड्डीको धुलो मल उपयुक्त हुन्छ । हड्डीको धुलोमा न्युट्रेन, क्याल्सियम जस्ता तत्त्व हुने भएकाले गुलाबलाई फुल्न सहयोग गर्छ ।

गाईको गोबर गुलाबलाई उपयुक्त हुन्छ । पिना, कम्पोस्ट मल पनि हाल्न सकिन्छ ।  गुलाबलाई मल हाल्दा गमलामा होस् वा जमिनमा नै किन नहोस् माटोले छोपेर हाल्नु उपयुक्त हुन्छ ।

कस्तो हावापानीमा गुलाबी फूल सप्रिन्छ ?

गुलाबको फूल तातो हावापानीमै राम्रो फुल्ने गर्छ । करिब ३५ देखि ३८ डिग्री सेल्सियस तापक्रममा यो राम्रो फुल्न सक्छ । चिसो हावापानीमा भने यो राम्ररी फुल्न सक्दैन  ।

जाडो मौसममा गुलाबको बोट सुषुप्त अवस्थामा हुन्छन् । त्यसैले जाडो मौसममा छाँटकाँट गर्नु राम्रो हुन्छ । जाडो मौसममा गुलाबको छाँटकाँट तथा मलजल गर्दा गर्मी सुरु हुने बित्तिकै पात आएर फुल्न सुरु गर्छ ।

गुलाबमा लाग्ने रोग एवं कीराहरू के के हुन सक्छ ? कसरी उपचार गर्ने ?

गुलाबको बिरुवामा एफिड नामको कीरा लाग्न सक्छ । हरियो रंगको यो एफिडले बिरुवालाई नोक्सान पुर्‍याउन सक्छ । साथै रेड स्केल, रोजवेफर जस्ता कीरा पनि लाग्न सक्छ । लाइ कीरा पनि लाग्न सक्छ । यसबाट बच्नका लागि बिरुवामा कीटनाशक विषादीको प्रयोग गर्नुपर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?