+
+

जब एउटा ‘मिसिङ रिपोर्ट’ भारतका तान्त्रिकसँग जोडियो…

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते २१:५२
घटनाबारे जानकारी दिन मानवबेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन ।

२० माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, धादिङमा एक महिना अघि १६ वर्षकी किशोरी घरबाट गायब भएको भन्दै खोजतलासका लागि निवेदन पर्‍यो ।

बुबाआमाबीच राम्रो सम्बन्ध नभएपछि मामाघर बसेर पढ्दै आएकी उनी कोही साथीभाइ या आफन्त कहाँ गएको हुनसक्ने प्रारम्भिक आशंका थियो । त्यही अनुसार बुझ्दै जाँदा केही चिनजानका व्यक्तिहरुसँग उनले आफू काठमाडौंमा रहेको भन्दै भिडियो कल गर्ने गरेको खुल्यो ।

त्यो कुराकानीबारे थाहा पाएपछि चुपचाप बसेको धादिङ प्रहरीले फेरि उनी पूर्णरुपमा सम्पर्कविहीन भएको भन्दै सूचना आएपछि गम्भीर बन्यो । त्यसबेलासम्म उनको फोन लाग्न छाडिसकेको थियो भने सामाजिक सञ्जाल पनि सक्रिय देखिन छाडेकी थिइन् ।

‘उनी कोसँग काठमाडौं गएकी थिइन् भन्ने खोज्दै गर्दा धादिङकै एक जना महिलासम्म पुग्यौं’, जिल्ला प्रहरी कार्यालय, धादिङका एक अधिकृत भन्छन्, ‘उनले काठमाडौं छाडिदिएको बताएपछि त्यहाँबाट केही व्यक्तिहरूलाई पक्राउ गर्‍यौं ।’

काठमाडौंबाट सहित गरेर ६ जना पक्राउ परेपछि किशोरीलाई भारत लगिएको खुल्यो । त्यसपछि जिल्ला प्रहरी कार्यालय, धादिङले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोको सहयोग लियो ।

‘त्यसक्रममा १७ मंसिरमै उनलाई मामाघरबाट काठमाडौं ल्याएर राखिएको खुलेको छ’, ब्यूरोका निर्देशक जीवन श्रेष्ठ भन्छन्, ‘जिल्लामा आफन्तलाई पनि सम्पर्क गर्न नदिइ बन्धक बनाएर राखेको पाइएको छ ।’

सुरुमा आफन्तहरुसँग कुरा गर्न दिएपनि पछि पूर्णरुपमा बन्धक बनाएर राखेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यसपछि किशोरीलाई गाडीमा सुनौली नाका हुँदै २२ पुसमा भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा पुर्‍याएर बन्धक बनाएको देखिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) समेत रहेका श्रेष्ठ बताउँछन् ।

‘मापदण्ड नपुगेको’ भन्दै जोगिए तीन किशोरी

प्रहरीका अनुसार काठमाडौंमा रहेको गिरोहले धादिङका केही व्यक्तिसँग मिलेर किशोरीलाई भारत लैजाने गरेको देखिएको छ । भारतका विभिन्न तान्त्रिकहरुलाई खुशी बनाए मनग्यै कमाइ हुने भन्दै किशोरीहरुलाई फकाउने गरेको देखिएको एसएसपी श्रेष्ठ बताउँछन् ।

बालिकालाई उद्दार गरेपछि गरिएको सोधपुछका क्रममा उनलाई पूर्णिमाको दिन मुख्य तान्त्रिकसँग भेट गराउने भन्दै राखिएको खुलेको छ । दुई जना तान्त्रिकसँग भेटाएपछि तेस्रोसँग भेटाउने बेला प्रहरीले उद्दार गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

एसएसपी श्रेष्ठका अनुसार सामान्य परिवारमा हुर्किएकी किशोरीलाई आर्थिक प्रलोभन देखाएर त्यसरी भारतसम्म पुर्‍याइएको थियो । प्रारम्भिक अनुसन्धानमा उनलाई भारतमा बलि चढाउन लगिएको हुनसक्ने अनुमान गरिएको छ । विगतमा पनि बलि चढाउन भन्दै नेपाली किशोरीलाई भारत लगिएको उदाहरणहरु छन् ।

यो घटनामा पनि पीडितलाई भारत लैजानुअघि तीन जना किशोरीलाई मापदण्ड नपुगेको भन्दै फर्काइएको पाइएको छ ।

बालिकाको उचाइ ५ फिट ४ इञ्जभन्दा माथि हुनुपर्ने, शरीरमा कुनै प्रकारको दाग वा टाटु नभएको हुनुपर्ने, शरीरको कुनै अंगमा चोटपटक नभएको हुनुपर्नेए, रजश्वला नभएको हुनुपर्ने र ६० किलोभन्दा कम तौलको हुनुपर्ने जस्ता मापदण्ड राखेर यो गिरोहले किशोरी खोजी गरेकाले बलि चढाउन लान खोजिएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

तर, समयमै भारत पुगेको थाहा भएपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा किशोरीलाई उद्दार गरिएको एसएसपी श्रेष्ठ बताउँछन् । प्रकरणमा थप केही व्यक्ति पनि संलग्न हुनसक्ने बताउँदै प्रहरीले पक्राउ पर्नेहरुको विवरण खुलाएको छैन ।

समातिएकाहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ऐनविरुद्धको कसूर अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?