+
+

पहिलो महिलामन्त्री

रतन भण्डारी रतन भण्डारी
२०७९ माघ २१ गते १२:४१

वि.सं. २०१६ जेठ १३ (१९५९ मे २७) गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारमा उपमन्त्री भएपछि द्वारिकादेवी ठकुरानी विधिवत् रूपमा नेपालको पहिलो महिलामन्त्री बनेकी थिइन् ।

२०१६ जेठ १४ गते मन्त्रिपरिषद्को कार्य विभाजनपछि ठकुरानीले स्वास्थ्य र स्वायत्त शासन उपमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । २०१६ असार १६ गते ‘उपमन्त्री’ पदलाई ‘सहायकमन्त्री’ बनाइएको थियो । ठकुरानीले २०१७ पुस १ गतेसम्म सहायकमन्त्री भएर काम गरेकी थिइन् ।

त्यसो त २००७ सालको क्रान्तिताका २००७ माघ ३ गते पाल्पामा काशिनाथ गौतमको नेतृत्वमा ‘पाल्पा जनसरकार’ गठन भएको थियो (रिजाल, २०७१ः ३७–३९) । ‘पाल्पा जनसरकार’मा सुश्री तरुलता भट्टराई शिक्षामन्त्री बनेकी थिइन् (गौतम, २०६६ः १९२) ।

तथापि, तरुलता भट्टराई विद्रोही शक्तिद्वारा गठित ‘पाल्पा जनसरकार’की मन्त्री थिइन् । उनी नेपाल सरकारकी वैधानिक मन्त्री थिइनन् । नेपालकी पहिलो वैधानिक महिलामन्त्री भने द्वारिकादेवी ठकुरानी नै हुन् ।

त्यसैगरी एशिया तथा दक्षिण एशियामा मन्त्री हुने पहिलो महिला को हुन् भन्ने प्रश्न पनि चासोको विषय बन्ने गरेको छ । एशिया तथा दक्षिण एशियाबाट मन्त्री हुने पहिलो महिला द्वारिकादेवी ठकुरानी हुन् भन्ने आम बुझाइ छ । ‘द्वारिकादेवी ठकुरानी र शहीद मीनबहादुर चन्द स्मृति प्रतिष्ठान’द्वारा प्रकाशित पुस्तकमा नै द्वारिकादेवी ठकुरानीलाई ‘दक्षिण एशियाकै पहिलो महिलामन्त्री’ भनेर उल्लेख छ । नेपाली काङ्ग्रेसका नेता भक्तबहादुर बलायरले पनि द्वारिकादेवी ठकुरानीलाई ‘एशियाकी पहिलो महिलामन्त्री’ भनेका छन् ।

बलायरले लेखेका छन्, ‘डोटीबाट शिवराज पन्त खाद्य, कृषि तथा वनमन्त्री र द्वारिकादेवी ठकुरानी स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन उपमन्त्रीको जिम्मेवारी पाई ‘एशियाकै पहिलो महिलामन्त्री’ हुने सौभाग्य प्राप्त भयो (बलायर, २०७२ः ११८) ।’

धनगढीबाट प्रकाशित युगपुकार द्वैमासिकले पनि द्वारिकादेवी ठकुरानीलाई ‘एशियामै मन्त्री हुने प्रथम महिला’ भनेर लेखेको छ । प्रा.डा. जयराज पन्तले पनि द्वारिकादेवी ठकुरानीलाई ‘दक्षिण एशियामै प्रथम महिलामन्त्री बनी नेपाली नारीको इतिहासमा आफ्नो नाम स्वर्णाक्षरले लेखाउन सक्षम’ भनेर लेखेका छन् (भण्डारी, २०६४ः ४०९) ।

लेखक सुरतबहादुर शाहले पनि द्वारिकादेवी ठकुरानीलाई एशियाको पहिलो महिलामन्त्री मानेका छन् । शाहले लेखेका छन्, ‘द्वारिकादेवी ठकुरानीले वि.सं. २०१६ आषाढ ४ गते बीपी कोइरालाको मन्त्रिपरिषद्मा एशियाकै प्रथम महिलाको रूपमा स्वास्थ्य सहायकमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो’ (शाह, २०७८: ६६–६७) ।

विजेता चौधरीले पनि द्वारिकादेवी ठकुरानीलाई एशियाकै प्रथम महिला भनेकी छन् । चौधरीले लेखेकी छन्, ‘अझ एशियाकै प्रथम महिलामन्त्री द्वारिकादेवी भएको कुराप्रति नेपालले गौरवबोध गरेको छैन नै, प्रजातान्त्रिक लडाइँकी योद्धालाई स्वयम् उनकै पार्टी नेपाली काङ्ग्रेसले समेत सधैं बेवास्ता गरेको छ ।’

भाषा शर्माले पनि द्वारिकादेवीलाई दक्षिण एशियाकै पहिलो महिलामन्त्री भनेकी छन् । शर्माले लेखेकी छन्, ‘नेपालकी मन्त्री नियुक्त पहिलो महिला द्वारिकादेवी ठकुरानी प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारमा २०१५ ृ२०१६े सालमा स्वास्थ्य र स्थानीय सहायकमन्त्री नियुक्त भएकी थिइन् । यो नेपालको मन्त्रिपरिषद्को इतिहासमा पहिलो महिला उपस्थिति त छँदै थियो नै, दक्षिण एशियामै मन्त्री हुने पहिलो महिलाको इतिहास बनेको थियो ।’

द्वारिकादेवी ठकुरानी ‘एशिया तथा दक्षिण एशियामा मन्त्री हुने पहिलो महिला हुन् भन्ने उल्लिखित भ्रमपूर्ण भनाइ केही प्रतिनिधि उदाहरण मात्रै हुन् । तर, एशिया र दक्षिण एशियाबाट मन्त्री हुने पहिलो महिला द्वारिकादेवी ठकुरानी नभई भारतकी ‘राजकुमारी बीबीजी अमृतकौर’ हुन् । अमृतकौर १९४७ अगष्ट १६ मा गठित प्रधानमन्त्री जवाहरलाल नेहरू नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेकी थिइन् ।

भारतमा प्रान्तीय सरकारमा मन्त्री हुने पहिलो महिला भने विजयालक्ष्मी पण्डित (स्वरूपकुमारी नेहरू) थिइन् । सन् १९३७ मा प्रान्तीय विधानसभामा चुनाव जितेपछि पण्डित यूनाइटेड प्रोभिन्स (हाल उत्तरप्रदेश) की स्थानीय स्वायत्त सरकार तथा जनस्वास्थ्यमन्त्री बनेकी थिइन् ।

एशियामा मन्त्री हुने दोस्री महिलामा उत्तर कोरियाकी ‘हो जोङ सुक’ र दक्षिण–कोरियाकी ‘यिम योङ शी’ हुन् । सुक सन् १९४८ मा उत्तर–कोरियाकी संस्कृतिमन्त्री बनेकी थिइन् भने शी पनि सन् १९४८ मा नै दक्षिण–कोरियाकी वाणिज्य तथा उद्योगमन्त्री बनेकी थिइन् । त्यसै गरी ‘शी लियाङ’ सन् १९४९ मा चीनकी न्यायमन्त्री बनेकी थिइन् । बर्मामा मन्त्री हुने पहिलो महिला ‘खिन की’ हुन् । की सन् १९५३ देखि १९६० सम्म बर्माकी सामाजिक कल्याणमन्त्री थिइन् । त्यसै गरी ‘विमला विजेवर्दने’ सन् १९५६ मै श्रीलङ्काकी स्वास्थ्यमन्त्री बनेकी थिइन् ।

नेपालमा द्वारिकादेवी ठकुरानी १९५९ मे २७ (२०१६ जेठ १३) का दिन उपमन्त्री बनेकी हुन् । जापानमा मन्त्री हुने पहिलो महिला मासा नाकायामा हुन् । नाकायामा १९६० जुलाई १९ का दिन जापानको स्वास्थ्य तथा कल्याणमन्त्री बनेकी थिइन् ।

उल्लिखित तथ्यहरूका आधारमा द्वारिकादेवी ठकुरानी एशियामा मन्त्री हुने पहिलो नभइ सातौं महिला हुन् भने दक्षिण एशियामा मन्त्री हुने तेस्री महिला हुन् । अनौठो संयोग, दक्षिण एशियाबाट मन्त्री हुने भारतकी राजकुमारी बीबीजी अमृतकौर, श्रीलङ्काकी विमला विजेवर्दने र नेपालकी द्वारिकादेवी ठकुरानी सबै स्वास्थ्य (सहायक) मन्त्री थिए ।

प्रधानमन्त्री बीपी कोइरालाको सरकारमा भाइ शिवराज पन्त मन्त्री तथा दिदी द्वारिकादेवी सहायकमन्त्री बनेकी थिइन् । नेपालको राजनीतिक इतिहासमा एउटै बुबाका सन्तान निर्वाचित सांसद र सँगै मन्त्री बनेको यो पहिलो घटना थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?