+
+

फेसबुकका पूर्व कर्मचारीको खुलासा, फेसबुकले यसरी गुपचुप सिध्याउँछ फोनको ब्याट्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १६:४६
फेसबुकका पूर्वकर्मचारी जर्ज हेवार्ड ।

के तपाईंको फोनको ब्याट्री तीव्र गतिमा सकिने गरेको छ ? तपाईंले आफ्नो फोनमा फेसबुक लगायतका कतिवटा एपहरु इन्स्टल गर्नुभएको छ ? उसो त कतिपय एपले फोनको ब्याट्री खपत उच्च गर्दछन् र ब्याट्री लाइफ घटाउने गर्दछन् । तर कतिपय एपले भने उनीहरुकै फाइदाका लागि प्रयोगकर्ताको ब्याट्री सिध्याइरहेका हुन्छन् । फेसबुकका बारेमा पनि यस्तै समाचार बाहिरिएको छ ।

विश्वका करीब ३ अर्ब मानिस फेसबुक प्रयोग गर्दछन् । फेसबुक चलाउँदा चलाउँदा फोनको ब्याट्री रित्तिएको समेत कतिलाई पत्तो हुदैन । तर फेसबुक चलाइरहेको बेलामा मात्र होइन फेसबुकले अघिपछि समेत गुपचुप रुपमा फोनको ब्याट्री प्रयोग गरेर सिध्याइदिने गरेको खुलासा भएको छ । प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्रीलाई फेसबुकले आफ्नो फाइदाका लागि उपयोग गर्ने गर्दछ । फेसबुककै एक पूर्व कर्मचारीले यसको खुलासा गरेका हुन् ।

कम्पनीका ती पूर्व कर्मचारीका अनुसार फेसबुकले जानीजानी प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्री रित्याइदिने गरेको छ । नेगेटिभ टेस्टिङ भनिने प्रक्रियाका क्रममा फेसबुक एपले प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्रीको उर्जा खपत गर्दछ । उनले यही विषयमा फेसबुक विरुद्ध अमेरिकाको एक संघीय अदालतमा मुद्दा हालेका छन् ।

के हो नेगेटिभ टेस्टिङ ?

डेटा वैज्ञानिक समेत रहेका फेसबुकका पूर्व कर्मचारी जर्ज हेवार्डले यसको बारेमा जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकले Negative Testing गर्दछ, जसबाट कुनैपनि प्रयोगकर्ताको मोबाइल फोनको ब्याट्री तीव्र गतिमा रित्तिन्छ । यो प्रकारको परीक्षण उसले आफ्नो प्लाटफर्मका विभिन्न फिचरहरुको जाँचका लागि गरिरहेको हुन्छ ।

एप कति तीव्र रुपमा चलिरहेको छ तथा एपमा के के समस्या छन् भन्ने पत्ता लगाउन पनि यो परीक्षण गरिन्छ । तर फेसबुकले यो सबै गरिरहँदा प्रयोगकर्ताले भने त्यसको कुनै पत्तो पाउँदैनन् ।

जागिरबाट बर्खास्त

शोधकर्ताहरुले सोसल मिडिया कम्पनीको यस्तो गतिविधिलाई हानिकारक भनेका छन् । ३३ वर्षीय पूर्व कर्मचारी जर्ज हेवार्डका अनुसार उनले त्यस विषयमा फेसबुकका व्यवस्थापकसँग कुरा गरेका थिए । तर फेसबुक व्यवस्थापनले भने केही मानिसलाई नोक्सान पुग्दा धेरै मानिसहरुलाई लाभ पुगिरहेको जवाफ दिए । उनले फेसबुक विरुद्ध म्यानहटन संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।

फेसबुक मेसेन्जर एपमा काम गर्ने ती पूर्व कर्मचारीलाई फेसबुकले प्रयोगकर्ताहरुको एपमा नेगेटिभ टेस्टिङ गर्ने जिम्मा दिएको थियो, तर उनले अस्विकार गरे । त्यसपछि उनलाई गत नोभेम्बरमा फेसबुकले जागिरबाट बर्खास्त गरको थियो । उनी स्न् २०१९ देखि फेसबुक कम्पनीमा कार्यरत थिए ।

नेगेटिभ टेस्टिङ कति प्रयोगकर्तामाथि परेको छ भन्ने एकिन तथ्यांक नरहेको पनि उनले बताएका छन् । तर आन्तरिक तालीमका क्रममा फेसबुकले आफुलाई How to run thoughtful negative tests शीर्षकको तालीम सामाग्री उपलब्ध गराएको र त्यसबाटै धेरै प्रयोगकर्ताहरु नेगटिभ टेस्टिङको सिकार बनिरहेको उनको दाबी छ ।

आफूले त्यो भन्दा डरलाग्दो कागजात आफ्नो जीवनमा अरु कुनैपनि नदेखेको उनको भनाइ छ । तर फेसबुकको मातृ कम्पनी मेटाले भने यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?