 
																			२१ माघ, पोखरा । सशत्र संघर्षको तयारी हुँदादेखि नै माओवादीमा लागेका कृष्ण धिताल हाल गण्डकी प्रदेशको सभामुख छन् । गोरखाबाट प्रदेश सभा सदस्य निर्वाचित धितालले अनलाइनखबरसँगको कुराकानीमा सशस्त्र युद्धका दिन सम्झिए ।
युद्धमा धेरै जनाले ज्यान गुमाए, कतिको अंगभंग भयो, कतिपय अझै बेपत्ता छन् । सशस्त्र युद्धमा धितालले पनि छोरी गुमाए । राजनीतिक वैचारिक संगठन बनाउँदै, युद्ध कौशल सिकाउँदै माओवादी युद्धमा लागेका धितालले संघीय व्यवस्थालाई बलियो बनाउनेमा दृढता व्यक्त गरे ।
पञ्चायत समर्थकका कम्युनिस्ट छोरा
कृष्णका बुवा पञ्चायत समर्थक थिए भने साइँलो बुवा त प्रधानपञ्च नै भएका थिए । थिए । तर उनी भने कम्युनिस्ट बने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०३३ सालतिर गोरखा आरुघाटको भीमोदय माविमा पढाउँथे । धितालको गाउँ आरुघाट नजिकै पर्ने तान्द्राङ हो । प्रचण्ड आरुघाट आउजाउ गर्दा धितालको घरमा बास बस्थे । धिताल त्यतिबेला स्कुलमा पढ्दै थिए ।
धितालको परिवार र प्रचण्डको चिनजान त्यो बेलै थियो । ‘म उहाँबाट विद्यार्थी जीवनदेखि नै प्रभावित थिएँ । त्यसैले जनयुद्ध अगाडिदेखि नै म उहाँसँग जोडिएको थिएँ’, धितालले भने, ‘परिवारको बिँडो धान्नुपर्ने पञ्च परिवारको जेठो छोरो युद्ध भनेर हिँड्यो ।’
धिताल परिवारका ४ भाइ छोरामध्ये जेठा कृष्ण भेटरीनरी पढाइ सकेर सरकारी जागिर खान थालेका थिए । उनी २०४४/०४५ तिर कास्कीको माझठाना पशु स्वास्थ्य केन्द्रमा जागिरका लागि आइपुगेका थिए । माझठानाकै दलित गाउँका सुँगुरहरु धमाधम खोरेत रोगले बिरामी पर्न थाले ।
धितालभन्दा अघि उक्त पशु स्वास्थ्य केन्द्रका ‘बाहुन डाक्टर’ ले उपचार नगरीदिँदा धेरै सुँगुरहरु मरे । फेरि पनि ‘धिताल बाहुन’ नै गए पछि सुँगुर यसपटक पनि मर्ने भयो भनेर किसानहरु चिन्तित थिए ।
धिताल गाउँलेले सोचेको भन्दा भिन्न निस्किए । उनी सुँगुरको उपचारमा खटिए । एकातिर दलितहरु माथि छोइछिटो गर्ने सामान्ती समाज थियो भने अर्कोतिर बाहुनले साँगुर छुन हुँदैन भन्ने मान्यता पनि थियो ।
माओवादी सशत्र संघर्षमा गाउँ गाउँ पुग्दा थुप्रै पटक उनले पशुको उपचार गरेका छन् । ‘गाउँ गाउँ पुग्दा गाई, भैंसी, सुँगुर बिरामी परेका बेला म उपचार गर्थें । त्यसले मलाई गाउँलेसँग जोडिन सहयोग गर्थ्यो’, सभामुख धितालले सम्झिए, ‘माओवादीले उपचार गरेपछि गाईभैंसी पनि निको हुन्छ भन्ने गाउँमा हल्ला पनि फैलिन्थ्यो ।’
२०४८ सालतिर कर्मचारी आन्दोलन चर्कियो । त्यतिबेला उनी कर्मचारी संगठन चितवनको सचिव थिए । आन्दोलनमा लागेका कारण उनी निलम्बनमा परे । त्यसपछि उनी सरकारी सेवामा फर्किएनन्, बरु बिद्रोहको बाटो रोजे ।
निलम्बनमा पर्नुअघि नै धितालले पार्टी सदस्य भने भइसकेका थिए । जनयुद्धमा जाने कि नजाने भनेर पार्टीभित्र पनि बहस थियो । पार्टीभित्र दुई धार बन्यो । जनयुद्ध सम्भव छैन भन्ने एउटा धार थियो, त्यसमा निर्मल लामा, नारायणकाजी श्रेष्ठहरु थिए । प्रचण्ड, किरण, बाबुराम लगायतको अर्को धार थियो, युद्धमा जाने । धितालले प्रचण्ड र बाबुरामको लाइन रोजे ।
नारायणकाजी श्रेष्ठहरु शान्ति प्रक्रियापछि फेरि माओवादीमै मिसिए । जनयुद्धअघि फरक बाटोमा हिँडेका नारायणकाजीको गोरखामा प्रिय पात्र अहिले धिताल नै छन् ।
‘प्रहरीलाई सिमेन्ट छ्यापेर भाग्यौं’
भारतमा पनि कम्युनिस्टले युद्ध गर्ने कि नगर्ने भनेर पार्टी विभाजन नै भएको थियो । भारतीय कम्युनिस्ट नेता चारु मजुमदार युद्धकै पक्षमा थिए र उनी पक्राउ परेर जेलमै मारिएका थिए । उनकै पदचाप पछ्याउँदै खुलेको पार्टी थियो, पिपुल्स वार ।
त्यही पार्टीसँग माओवादीको सहकार्य थियो, जसले विभिन्न ठाउँमा सैन्य कला पढाउँथ्यो । त्यही क्रममा उनी ६ महिना युद्ध कला सिकेर नेपाल आएका थिए । भारतमै सिकेको युद्ध कलाले नेपालमा थुप्रै पटक प्रहरी र सेनाको पञ्जाबाट फुत्किएको धिताल स्मरण गर्छन् ।
युद्धकै कुनै दिन धितालसहितका माओवादी कार्यकर्ता रातभर हिँडेर लखतरान भएर बिहानपख गोरखाको च्यांङ्ली पुगेका थिए । भर्खर सुतेका मात्र थिए, प्रहरी घर घेरा हाल्न आइहाल्यो ।
धिताल निदाएका थिएनन्, साथमा हतियार थिएन । पार्टीको राजनीतिक वैचारिक तथा सैन्य कलासमेत सिकाउने कृष्ण धितालले दिमागमा झ्याप्प पेरु क्रान्तिका ‘नायक’ गोञ्जालोलाई सम्झे । गोञ्जालोले एउटा अन्तर्वार्तामा भनेको धितालले पढेका थिए, ‘युद्धमा शक्तिशाली हतियार नै चाहिन्छ भन्ने होइन, जे पनि हतियार बन्न सक्छ ।’
भर्खरै बन्दै गरेको घर थियो र घरमा सिमेन्टका बोरा खात लगाएर राखिएको थियो । दाह्री काट्ने ब्लेड धितालकै खल्तीमा थियो । उनले त्यही ब्लेडले सिमेन्टका बोरा काटे । साथीहरुलाई पनि उठाए । झ्यापझुप प्रहरीको अनुहारतिर सबैले भरर सिमेन्ट र बोरा फाले । ‘बमको धुलो वा बारुद हो कि भनेर प्रहरी आत्तियो, सिमेन्टको धुलो भनेर प्रहरीले पहिचान गर्न सकेन र भाग्यो’, धितालले भने, ‘त्यही बेला छक्याउँदै जंगलभित्र छिरिहालियो ।’
उनले २०५६ मा जेठ १२ गते गोरखाको वारपाक सुलीकोट गाउँपालिकाको उल्टे गाउँको एउटा घटना पनि सम्झिए । गोरखा बजारबाट पत्रिका ल्याउने साथी आइपुगेपछि त्यो गाउँबाट निस्किने तयारी थियो उनको । एउटा घरमा बसेर खाना खाइरहेका थिए । प्रहरी आइहाल्यो । धिताल त्यसै घरको सदस्य झैं हाफपेन्ट र गन्जी लगाएर बसिरहेका थिए । प्रहरीले माओवादी कार्यकर्ता भनेर पहिचान गर्न सकेन ।
अब मरिने भइयो भनेर उनको मनमा ढ्यांग्रो बज्यो । उनी हात धुन बाहिर निस्किए । मकै गोड्दा उखेलेका मकैको विरुवा घाँसका लागि पिँढीमा मुठा पारेर राखिएको थियो । त्यही घाँसको मुठो काँधमा हालेर भैंसी गोठतिर झरे ।
घाँस भैंसीलाई दिए, गोबर फाल्न लागेजस्तो गर्दै उनी तल्लो गह्रामा झरे । उनी प्रहरीबाट छेकिए । ३/४ कान्ला चिप्लिएझैं गरी विस्तारै झरे र टाप कसेर पारी पुगे । ‘पारीपट्टी जंगलमा पुगेर पुलिस गन्न थालेको ६१ जना रहेछन्,’ धितालले भने, ‘गाउँका मान्छे चित खाएछन्, कहाँ गयो, पुलिसले लग्यो कि भनेर लख काटेछन् ।’
बेलुका ५ बजे उनी त्यही गाउँ पुगेपछि गाउँले खुसी भए, बेलुका धेरै मान्छे पनि उनलाई भेट्न पुगेछन् । ‘तीमध्ये एक जना पूर्वप्रहरी पनि थिए । पछि उनी मेरै प्रशिक्षक पनि भए,’ उनले सुनाए, ‘यसरी बालबाल प्रहरीको पञ्जाबाट बचेर पो यहाँसम्म आइयो ।’
संविधानसभा सदस्य हुँदै प्रदेशको सभामुख
२०७० को दोस्रो संविधान सभामा धिताल समानुपातिक पद्धतिबाट चुनिएका थिए । २०७४ सालमा भने उनले टिकट पाएनन्, पार्टीकै काममा लागे । सभामुख हुनुअघिसम्म उनी माओवादी केन्द्रको जिल्ला इन्चार्ज भूमिकामा थिए ।
२०७४ सालमा जिल्लाका ११ स्थानीय तहमध्ये २ वटामात्र जितेको माओवादीले यसपटक ९ वटाको नेतृत्व जित्यो भने कांग्रेसले दुईवटा मात्र । माओवादीको पक्षमा माहोल फर्काएको जस इन्चार्जको हैसियतमा धितालले पनि पाए ।
त्यसैले गत ४ मंसिरमा भएको निर्वाचनमा उनी गोरखा १ (१) बाट टिकट पाए र जिते पनि । गण्डकी प्रदेशसभा सदस्य भएपछि संसदीय दलको नेता हुँदै मन्त्री हुने उनको चाहना थियो । तर, २०७४ मा पनि प्रदेशसभा जितेका तनहुँका हरिबहादुर चुमान दलको नेता हुँदै भौतिक पूर्वाधार मन्त्री बने भने धिताल सभामुख बने ।
‘म मन्त्री हुन्छु र भौतिक पूर्वाधार नै रोज्छु भनेको थिएँ । तर, पार्टीले चुमानजीलाई अघि सार्यो,’ धिताल भन्छन्, ‘तर, सभामुख सम्मानित पद हो । मन्त्री हुँदा एउटामात्र भइन्थ्यो । अहिले सबैलाई भन्न पाइन्छ ।’
‘संघीयताप्रति आशा जगाउँछु’
अहिले प्रदेशको औचित्यमाथि प्रश्न उठिरहेको छ । काम गर्न नसकेको, खर्चिलो भएकोजस्ता कुरा उठाएर संघीयतामाथि प्रहार भइरहेको छ । गत बुधबार प्रतिनिधिसभा बैठकमा संघीयता र गणतन्त्रमाथि नै सांसदहरुबीच सवालजवाफ भयो ।
सभामुख धिताललाई लागिरहेको छ, यो कार्यकालमा पनि आशा र विश्वास जगाउन सकिएन भने व्यवस्था नै थप बदनाम हुन्छ । ‘राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बेला छ । म पनि कानुन संख्यामा होइन, गुणस्तरीय बनाउन लागि पर्ने छु’ उनी भन्छन् । प्रदेशसभामा आफूले तटस्थ भूमिका निर्वाह गर्ने र प्रदेश सभालाई सिर्जनशीलन बनाउन लागिपर्ने उनको प्रतिवद्धता छ ।
संघीय व्यवस्था र समावेशीतालाई जनतासम्म पु¥याउन र बुझाउन दलले अलि बढी मिहिनेत गर्नुपर्ने बेला आएको धिताल बताउँछन् । ‘सबैले अपनत्व महसुस गरुन् भनेर समावेशीता ल्याइएको छ । यसमै पनि प्रहार भइरहेको छ । जो सत्ताबाट वञ्चित छ, राज्यको नीति निर्माणमा जसको सहभागिता हुँदैन उनीहरुलाई पनि कसैले ल्याइदिनुपर्छ भनेर समावेशीता लागु गरिएको हो’ उनले भने ।
आफू सभामुख भइसकेपछि प्रदेश सभाका लागि प्राप्त जग्गाको कम्पाण्डिङ सुरु भएको र आफ्नो कार्यकालमा सभाहल बनाउन प्रयास गर्ने धितालले बताए ।
संघीय व्यवस्था कमजोर भयो भने देश नै कमजोर हुने सभामुख धितालको बुझाइ छ । भन्छन्, ‘६१ वर्षको भएँ । धेरै राजनीति गरौंला भन्ने छैन । कम्तीमा हजारौं बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सके हुन्थ्यो ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4