
२३ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारमा सुधारको संकेत देखा परिसकेको बताएका छन् । बोर्डको कार्यसम्पादन, निष्कासन अनुमित प्रक्रिया र विद्यमान अवस्था सम्मबन्धी सोमबारको कार्यक्रममा बोल्दै उनले पूँजीबजारको इकाे सिस्टममा लगानीकर्ताको पक्षमा लड्नै पर्छ भनेर केही साहसिक काम गरेको बताए ।
कुनै पनि नीतिले दुवै पक्ष खुसी हुन नसक्ने भन्दै उनले बोर्डले ल्याएको नीतिले टीएमएस र ब्राेकर प्रणाली बलियो बनाएको दाबी गरे ।
७ वटा कम्पनीलाई एकै पटक भेञ्चर क्यापिटलको लाइसेन्स दिएको भन्दै उनले यसलाई सुशासनको नमुना भएको बताए । ‘एसएमई प्लेटफर्म नियमावली अन्तिम चरणमा छ । बोर्डबाट अनुमोदन गरेर अर्थमन्त्रीसमक्ष पठाएका छौं । मन्त्रिपरिषद्बाट स्वीकृत भएर आएपछि ६/८ सातामा एसएमई प्लेटफर्म आउँछ’ उनले भने ।
‘ब्राेकरकाे शाखा सञ्जाल विस्तार गर्न अब कुर्नु पर्दैन । त्यसका लागि काम भइरहेकाे छ,’ उनले भने, ‘प्रक्रिया पुरा गरेकाे १५ दिनमा अनुमति पाउँछ । त्यही अनुसार नीतिगत व्यवस्था हुन्छ ।’
नेपालकाे धिताेपत्र बजारकाे इतिहासमा पहिलाेपटक भित्रि काराेबारकाे अनुसन्धानका लागि तहकिकत अधिकारी ताेकेर अनुसन्धान सुरू भएकाे उनले बताए । पुराना दुईवटा केशमा तहकिकात अधिकृत नियुक्त गरिसकेको भन्दै उनले भने, ‘अनाधिकृत सेयर काराेबारमा कारवाही भएकाे छ। भित्रि काराेबारमा अनुसन्धान गर्न तहकिकात अधिकृत नियुक्त भएकाे छ ।’
धिताेपत्र बजारको पुनर्संरचना देखेर लगानीकर्ता खुसी भएको भन्दै उनले लगानीकर्ताको संरक्षणका लागि जुनसुकै साहसिक कदम लिने र त्यसका लागि बाेर्डले काम गर्ने बताए । आईपीओलाई डिजिटल बनाउनका लागि कार्यदल बनाएर काम गरिरहेको उनले बताए ।
प्रतिक्रिया 4