+
+

‘आत्महत्या गर्नेलाई हिरो बनाउनु अविवेकी कुरा हो’

हरेक स्वास्थ्यकर्मी मात्र नभई पत्रकार र अरू सबैले जीवनको अन्त्य समाधान होइन, समस्यालाई अरू अनेक तरिकाले हल गर्न सकिन्छ भनेर उत्प्रेरित गर्ने हो । सामाजिक सञ्जाललाई पनि त्यसरी नै उपयोग गर्ने हो । सुसाइट नोट र भिडियो भाइरल बनाउने बाटोमा लाग्दा हामी सबै अझ भयावह ठाउँमा मात्र पुग्छौं ।

डा. सगुनबल्लभ पन्त, मनोचिकित्सक, त्रिवि शिक्षण अस्पताल डा. सगुनबल्लभ पन्त, मनोचिकित्सक, त्रिवि शिक्षण अस्पताल
२०७९ माघ २३ गते २०:२५

१० माघमा बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि त्यस्तै प्रकृतिका दुष्प्रयास भइरहेका छन् । यो घटनाले हाम्रो समाज अप्ठ्यारो अवस्थामा पुगेको स्पष्ट आभास दिन्छ । देश आर्थिक मन्दीको अवस्थामा छ । यस्तो बेला आर्थिक अभावमा नपरेका व्यक्ति निकै कम हुन्छन् । हरेक समस्याको समाधान मृत्यु (आत्महत्या) नै हो भन्ने गलत प्रभाव सहजै बढ्न सक्छ ।

आत्मदाह जस्ता घटनामा कसैलाई देवत्वकरण गर्नु उपयुक्त हुँदैन । कुनै व्यक्तिले आत्महत्या गर्दा देशको खराब ‘सिष्टम’को कमजोरीको रूपमा ‘हाइलाइट’ गरिंदा जनमानसमा त्यस्तै प्रभाव पर्ने देखिन्छ ।

त्यसैले, पत्रकारले रिपोर्टिङ गर्दा आत्महत्याको घटनालाई सनसनीपूर्ण बनाउनुहुँदैन । सकेसम्म वस्तुनिष्ठ सूचना मात्र सम्प्रेषण गर्नुपर्छ, जसले गर्दा विविध कारणले कमजोर मनोभावनामा रहेका, आत्महत्याबारे सोचिरहेकालाई उत्साहित वा प्रोत्साहित नबनाओस् ।

प्रेमको घटनापछि समस्या समाधान नभए आत्मदाह गर्छु भन्ने जस्ता लबज सजिलै प्रयोग हुन थालेको छ, जुन जनमानसको लागि किमार्थ राम्रो होइन । आर्थिक–मानसिक दबावमा रहेकाहरूलाई सजिलै यस्तो लाग्न सक्छ ।

हाल सालैका घटनाहरूले आत्महत्यालाई आफ्नो जिन्दगी विभिन्न समस्याबाट मुक्त हुने, कतिपय अवस्थामा परिवारका लागि आर्थिक लाभ पनि हुने, देशभर चिनिने अवसरको रूपमा हेर्न–बुझ्न थालिएको अनुभव भएको छ । हाम्रो जस्तो देशमा हरेक तहमा विभिन्न किसिमका अभाव, समस्या छन् । मृत्यु नै समस्याको समाधान हो भने कर्जा लिएका, परीक्षामा असफल भएका सबैले आत्महत्या गर्नुपर्ने हो ?

आत्महत्या गरेका व्यक्तिले देशको स्वास्थ्य, शिक्षा, रोजगार क्षेत्र मात्र नभई समग्र सिष्टमको समस्या देखायो भनेर ‘हिरो’ बनाउने खालका समाचार दिनु अत्यन्त अविवेकी र दुःखद् कुरा हो । यस्ता कुरामा विशेषतः मिडिया अत्यन्त संवेदनशील हुन जरूरी छ ।

मानसिक स्वास्थ्य समस्याका बहुआयामिक पक्ष छन् । समस्यामा परेका, गरिबी भएको वा हिंसामा परेको सबैले आत्महत्या गर्छन् भन्ने हुँदैन, तर आत्महत्या गरेका मध्ये ९० प्रतिशतले मानसिक स्वास्थ्य समस्याको उपचार नहुँदा, नलिंदा आत्महत्या गरेको अध्ययनहरूले देखाएका छन् ।

कमजोर मानसिक स्वास्थ्य वा आर्थिक अभाव–समस्या भएका सबैले आत्महत्या गर्छन् भनेर परिभाषित गर्नु चाहिं गलत हो । यसलाई एकल होइन, बहुआयामिक दृष्टिले हेर्नुपर्छ । आत्महत्याका सामाजिक, वंशाणुगत र मनोवैज्ञानिक कारण पनि छन् ।

यीमध्ये एउटा कारणले मात्र आत्महत्या हुँदैन । जस्तो– सामाजिक कारणले आत्महत्या गर्ने जोखिम भएका कुनै व्यक्तिले समयमै साथीभाइ, आफन्त वा स्वास्थ्यकर्मीबाट काउन्सिलिङ पाएको अवस्थामा अप्रिय घटना हुँदैन ।

समस्यालाई सही तरिकाले पहिचान गर्न, बुझ्न वा पहिचान गराउन र बुझाउन सक्दा मर्नुभन्दा धेरै राम्रा विकल्प निस्कन सक्छ । कहिलेकाहीं आत्महत्याको जोखिममा भएका व्यक्ति आफैंले पनि परिवार, साथीभाइ, आफन्तबाट वा हेल्पलाइनमा फोन गरेर पनि समाधानको बाटो निकाल्न सक्छन् ।

संसारभर नै मानसिक स्वास्थ्य समस्या एउटा गतिमा बढेको छ । गत चार–पाँच दशकमा संसार दु्रत गतिमा परिवर्तित भएको छ । मानिसले थोरै समयमा धेरै उपलब्धि पनि हासिल गरे । यसरी सेवा–सुविधा बढ्दै जाँदा संसार आफैंमा एउटा सानो ठाउँ बन्न थालेको छ ।

सँगसँगै एक प्रकारको तनाव, मनोसामाजिक प्रभाव पनि मानिसको जिन्दगीमा आउन थाल्यो । जस्तो-एकातिर गरिबी, अशिक्षा बढ्दै गएको छ भने अर्कातिर धनी र गरिबबीचको खाडल पनि बढ्दो छ । नेपालमा पनि कुनै घरमा आर्थिक समृद्धि भित्रिएको छ भने अर्को घरमा गरिबी ।

हाम्रो देशमा भएको माओवादी युद्ध, बेला-बेलामा आइराख्ने प्राकृतिक विपत्ति, भूकम्प, कोरोना महामारी लगायतले आम मानिसलाई जीविकोपार्जन कठिन भएको छ । अर्कातिर विदेश गएर राम्रै कमाउनेहरूको घरमा बालबालिका अभिभावकविहीन बनेका छन् । वृद्धवृद्धा सहाराविहीन भएका छन् ।

दुई वर्ष अगाडि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ हजार व्यक्तिमा गरेको अध्ययनले नेपालमा हरेक १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या रहेको पाएको थियो । त्यसअनुसार, स्वास्थ्य केन्द्रमा आइपुग्ने प्रत्येक चौथो व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या छ ।

पहिला झाडा–वान्ता, टिबीलगायत सरुवा रोगबाट धेरै मृत्यु हुन्थ्यो । अहिले रक्तचाप, मधुमेह, दम, क्यान्सरलगायत नसर्ने रोग बढ्दै गएका छन् । मानसिक स्वास्थ्य समस्या सर्ने, नसर्ने सबै रोगसँगै आइपर्छ ।

अर्को कुरा, हामीकहाँ मानसिक समस्या बढ्दै गए पनि उपचार गर्ने सुविधा, जनशक्तिको कमी छ । तीन करोड नागरिकको लागि देशभर २५० मनोचिकित्सक छन् । यसरी हेर्दा, उपचारमा पहुँच नभएर पनि आत्महत्या बढेको देखिन्छ ।

मानसिक समस्या जुन रूपमा विकराल बन्दै गएको छ, त्यसअनुरुप जनचेतना बढेको छैन । मानसिक समस्या भएका व्यक्तिलाई दिमाग बिग्रिएको, सही–गलत छुट्याउन नसक्ने भनेर पुरानै तरिकाले हेपिन्छ । यो अवस्थामा बिरामीहरू समस्या लुकाउन विवश हुन्छन् ।

समस्या पर्‍यो भन्दैमा आगो लगाएर आफैंलाई सिध्याउने विधि कुनै पनि मानेमा सराहनीय हुन सक्तैन । यद्यपि, कुनै राजनीतिक ‘स्टेटमेन्ट’ दिन पनि आफैंलाई जलाउने विधि अपनाइने गरेको पाइन्छ । आत्महत्या गर्ने व्यक्तिले मृत्युको लागि सकेसम्म सजिलो तरिका खोज्छ । तर, जलेर बित्ने व्यक्तिले यति धेरै पीडा सहेको हुन्छ कि अरूले त्यसको कल्पना मात्र गर्न सकिएला ।

मानिसले आवेग र योजना बनाएरै पनि आत्महत्या गर्छ । दीर्घकालीन मानसिक रोगका समस्या भएका व्यक्ति वर्षौंदेखि निराशावादी अवस्थामा डिप्रेसनमा हुन्छन् । त्यस्ता व्यक्तिमा जाँगर, फूर्ति हुँदैन । त्यस्तो बेला सुसाइट नोट लेखेर, आफ्नो सम्पत्ति अरूको नाममा सारेर वा घरव्यवहार मिलाएर आत्महत्या गर्छन् । यसलाई योजनाबद्ध आत्महत्या भन्न सकियो ।

आवेगमा आत्महत्या गर्ने युवा हुन्छन् । यस्ता आत्महत्यामा लागूऔषध, मदिराजन्य पदार्थ उत्तेजकको रूपमा प्रयोग भएको पाइएको छ । तर, जोसुकैले आत्महत्या गर्दा केही समय कुनै न कुनै किसिमको मानसिक तनावमा गुज्रिएका हुन्छन् ।

दिमागमा मर्नुपर्ने र बाँच्नुपर्ने कारणहरूबारे द्वन्द्व चलेको हुन्छ । कुनै कारणले आत्महत्याको जोखिममा पुगेका व्यक्ति परिवार, साथीभाइ वा आफन्तको बेवास्ता वा उपचारमा जान प्रेरित नहुने वातावरणका कारण अप्रिय निर्णय गर्न पुग्छन् ।

आत्महत्या गर्ने व्यक्तिले केही न केही संकेत दिएका हुन्छन् । त्यस्ता व्यक्तिले पत्र लेख्ने, निराश कुरा गर्ने वा डोरी, विष किन्ने वा पेट्रोल, मट्टीतेलको जोहो गरेका हुन्छन् । नजिकका मान्छेले त्यस्ता व्यवहार ठम्याउन र विक्षिप्त मनस्थिति बुझ्न सक्दा उसको ज्यान सजिलै जोगिन सक्छ । नेपालमा आत्महत्या न्यूनीकरणका लागि तत्कालै राष्ट्रिय नीति बनाउन पनि एकदमै जरूरी देखिएको छ ।

प्रेम आचार्यको घटनामा सञ्चारकर्मीहरूले रिपोर्टिङ गर्दा पेशागत आचारसंहिताको ख्याल नगरेको देखियो । घटनालाई सनसनीपूर्ण बनाउन आत्मदाहको विधि खुलस्त पार्ने, आत्महत्या गरेका व्यक्तिलाई ‘हिरो’ रूपमा प्रस्तुत गर्ने, उनका परिवारबारे पनि लेखेको तर आत्महत्याको उपचार, काउन्सिलिङ वा टोल फ्रि नम्बर ११६६ बारे उल्लेख नगरेको देखियो ।

हरेक स्वास्थ्यकर्मी मात्र नभई पत्रकार र अरू सबैले जीवनको अन्त्य समाधान होइन, समस्यालाई अरू अनेक तरिकाले हल गर्न सकिन्छ भनेर उत्प्रेरित गर्ने हो । सामाजिक सञ्जाललाई पनि त्यसरी नै उपयोग गर्ने हो । सुसाइट नोट र भिडियो भाइरल बनाउने बाटोमा लाग्दा हामी सबै अझ भयावह ठाउँमा मात्र पुग्छौं ।

(डा. पन्तसँग अनलाइनखबरका पुष्पराज चौलागाईंले गरेको कुराकानी)

तस्वीर/भिडियो : शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?