+
+

‘शाही शैली’मा आज जैसलमेरमा हुँदैछ कियारा र सिद्धार्थको विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते ११:५३

काठमाडौं । भारतीय कलाकारहरु अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आज (मंगलबार) विवाह बन्धनमा बाँधिंदैछन् । ‘शाही शैलीको विवाह’का लागि जैसलमेरको सूर्यगढमा विशेष मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको छ ।

मण्डपलाई परिक्रमा गर्नुअघि बिहान ११ देखि दिउँसो १ बजेसम्म हल्दी लगाइनेछ । दुलहा र दुलही दुवैलाई उनीहरूका साथी र परिवारका महिला सदस्यले हल्दी (बेसार) लगाउनेछन् । त्यसपछि होटलको आँगनमा बरमाला हुनेछ । विवाहको लागि विशेष चरणको तयारी गरिएको छ ।

मंगलबार बिहानैदेखि होटलबाहिर र भित्र वैवाहिक गतिविधि भइरहेको छ । सुरक्षा कडा तुल्याइएको छ । होटलका कर्मचारी, गार्ड र चालकलाई पनि राम्रोसँग चेकजाँच गरेर मात्रै प्रवेश दिइएको छ । मुख्य गेटदेखि स्वागत कक्षसम्म तीनवटा चेकिङ पोइन्ट बनाइएको छ ।

कियारा–सिद्धार्थले होटलको ‘बवाडी’ भनिने कुवामा फेरो लिनेछन् । बावडी विशेष परिक्रमाका लागि मात्र बनाइएको हो । केन्द्रमा मण्डप र चारैतिर पाहुना बस्ने व्यवस्था छ । यसलाई सुन्दर ढंगले फूलहरूले सजाइएको छ । आइतबारदेखि नै विवाहमा पाहुनाको आगमन सुरु भएको थियो । आज पनि मुम्बईबाट धेरै पाहुना त्यहाँ पुग्दैछन् । यसमा कियाराकी साथी ईशा अम्बानी पनि सामेल छिन् । उनी पनि आफ्नो निजी चार्टर विमानबाट आइतबार राति जैसलमेर पुगेकी थिइन् । होटलको स्वागत पार्टीमा सहभागी भई उनी राति अबेर मुम्बई फर्किएकी थिइन् ।

विवाहका लागि उनी पुनः आज जैसलमेर फर्कने तयारीमा छिन् । यसबाहेक अभिनेत्री सोनाक्षी सिन्हा, फिल्म निर्माता आरती शेट्टी, फिल्म निर्माता पूजा शेट्टी, बलिउड अभिनेता शाहरुखकी साथी काजल आनन्द, अभिनेता करण बोहरा, रिया बोहरा, फिल्म निर्माता अमृतपाल सिंह बिन्द्रा, फिल्म निर्देशक तथा लेखक सकुन बत्रा, अभिनेत्री गौरी बब्बर, अभिनेता करण वोहरालगायत सहभागी थिए । विवाहमा क्लब महिन्द्राका रोहित वक्षी, रामिन्द्रा वेदी, किम्पी वेदी र गणेश वेदी पनि पुग्नेछन् ।

विवाहको खबर आएसँगै फ्यानले सामाजिक सञ्जालमा दुवैको नाममा पोस्ट सेयर गर्न थालेका थिए । सबै जना दुलहा र दुलहीलाई हेर्न चाहन्छन् । कियारा–सिडको लेहेंगा र शेरवानीलाई लिएर पनि उत्साह छ । दुवैको विवाहको पोशाक मनिष मल्होत्राले डिजाइन गरेका हुन् ।

बलिउडकी चर्चित मेकअप आर्टिस्ट स्वर्णलेखा गुप्ताले कियारालाई दुलहीको रुपमा तयार गर्ने भएकी छिन् । शनिबार साँझ नै मुम्बईबाट उनको सम्पूर्ण टोली जैसलमेर पुगेको छ । दुलहीलाई मेकअप र गहनाको साथ सुन्दर लुक दिइनेछ । अमित ठाकुरले हेयर स्टाइल हेर्नेछन् । कियाराकी आमा र उनको परिवारका महिला सदस्यलाई मेकअप गर्न विभिन्न मेकअप आर्टिस्टको टोली खटिएको छ ।

सिद्धार्थ मल्होत्रा गैरफिल्मी पारिवारिक पृष्ठभूमिबाट आएका हुन् । उनका बुबा सुनिल मल्होत्रा नेवी अफिसर थिए । आमा रीमा मल्होत्रा गृहिणी हुन् । दाइ हर्षद बैंकमा काम गर्छन् । सिद्धार्थको परिवारमा भाउजू पूर्णिमा मल्होत्रा र एक भतिजा पनि छन् । सिद्धार्थ शनिबार दिल्लीबाट परिवारसहित आएका थिए । जैसलमेर एयरपोर्टबाट निस्कँदा हर्षद टाढाबाट सिद्धार्थजस्तै देखिन्थे । दुवै दाजुभाइको उचाइ उस्तै छ ।

कियारा महाराष्ट्रकी हुन् । उनका बुबा जगदीप आडवाणी व्यवसायी र आमा शिक्षिका हुन् । कान्छो भाइ मिसाल हुन् । विमानस्थलमा उनका बुवा ‘अल द बेस्ट’ भन्दै होटलतर्फ प्रस्थान गरेका थिए । कियाराले २०१४ मा बलिउडमा काम गर्न थालेकी थिइन् । ‘फुग्ली’ उनको पहिलो फिल्म हो । सन् २०१६ मा ‘एमएस धोनी ः द अनटोल्ड स्टोरी’ मा धोनीकी पत्नी साक्षीको भूमिका निभाएकी थिइन् । २०१९ मा शाहिद कपुरसँगको फिल्म ‘कबीर सिंह’लाई धेरै मन पराइएको थियो । शेरशाह, भूलभुलैया–२, गुड न्युज र जुगजुग जियो कियाराका केही हिट फिल्म हुन् ।

कियारा–सिद्धार्थले कहिल्यै पनि फ्यानसामु आफ्नो प्रेम व्यक्त गरेका छैनन् । दुवै पक्षबाट विवाहको घोषणा पनि गरिएको थिएन । शेरशाहको सुटिङबाट फुलेको प्रेमलाई दुवैले लुकाउँदै आएका छन् । तर सन् २०२० मा नयाँ वर्ष मनाउन अफ्रिका गएपछि उनीहरुको सम्बन्धको चर्चा चल्न थाल्यो । यसपछि २०२१ मा कियाराले सिद्धार्थका आमाबुवालाई आफ्नो घरमा डिनरको लागि बोलाइन् । त्यसपछि दुवैका आमाबुवाले भेट गरे ।

करण जोहरसहितका पाहुनाहरु जैसलमेर पुगे

जैसलमेरको सूर्यगढ प्यालेसमा हुने समारोहमा सहभागी हुन बलिउडका ठूला सेलिब्रेटी जैसलमेर पुगेका छन् । शाहिद–मीरा, करण जोहर, मनिष मल्होत्रा, जुही चावला, उनका पति जय मेहता, मुकेश अम्बानीका छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानी, उनका पति आनन्द पिरामल विवाह स्थल पुगिसकेका छन् ।

अहिले कियारा–सिद्धार्थले आफ्नो विवाहको पहिलो निमन्त्रणा शाहरुख खानलाई दिएको खबर आएको छ । ट्रेड एनालिस्ट तथा फिल्म समीक्षक विश्वजीत पाटिलले ट्वीटरमा यो जानकारी दिएका हुन् । यद्यपि यो खबरको पुष्टि भने भइसकेको छैन तर यदि त्यसो हो भने यसमा अचम्म मान्नुपर्ने कुरै छैन, किनकि सिद्धार्थले शाहरुखलाई सधैं आफ्नो गुरु मान्ने गरेका छन् । शाहरुखकी श्रीमती गौरी पनि सिद्धार्थसँग निकट छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?